s

विदेशमा सित्तै खाँदैनन् नेपाली

छत्र कार्की 
 
गुल्मीका सञ्जु काउछा पाँच वर्षअघि हेल्सिन्की आएका हुन्। उनको उद्देश्य पढाइका साथै पैसा कमाउनु हो। हेल्सिन्की आएलगत्तै उनले पढाइ सुरु गरे। खर्च जोहो गर्न 'पार्टटाइम' कामलाई पनि निरन्तरता दिए। दुई वर्षअघि 'बिजेनस स्टडी'मा 'अन्डरग्राजुयट' पूरा गरेका उनी हेल्सिन्की सिटी सेन्टरको इलियोपिस्तोनकातुमा रहेको बेस क्याम्प नेपाली रेस्टुराँमा काम गर्छन्।
 
मास्टर्स पूरा गर्ने लक्ष्य लिएका उनी पढेको विषयअनुसार काम नपाए पनि सन्तुष्ट छन्। पढाइअनुसार काम पाइनँ भन्दै बेरोजगार बसेर सरकारी सुविधा लिन नहुने उनको सोच छ। उनलाई रेस्टुराँले मासिक १ हजार ७ सय युरो (करिब २ लाख रुपैयाँ) तलब दिन्छ। 'फिनल्यान्डको महँगीमा यो ठूलो रकम होइन, नेपाली मुद्रासँग तुलना गर्दाचाहिँ धेरै नै मान्नुपर्छ,' उनी भन्छन्, 'यहाँ आएर पढियो, अझै पढ्ने सोच छ। केही रकम जोगाएर घरतिर पनि पठाएको छु। यस मानेमा म खुसी छु।'
 
काउछाका अनुसार नेपालमा यो काम सानो, यो काम ठूलो भन्ने प्रवृत्ति रहे पनि यहाँ प्रत्येक कामलाई बराबर ठान्ने संस्कार छ। उनी भन्छन्, 'यहाँ बस्दै आएका हरेक नेपालीले कामलाई सम्मान गर्नुपर्छ भन्ने सिकेका छन्। यही कारण फिनिस सरकार तथा यहाँका नागरिकमा नेपालीप्रति सकारात्मक छाप परेको छ।' 
 
यहाँ बस्दै आएका नेपाली अनुसन्धाता, डाक्टर, इन्जिनियर, नर्सदेखि कुरियर डेलिभरी, वेटर, क्लिनरसम्मको काममा छन्। सुरुमा आउने नेपालीले क्लिनर, वेटर, पोस्टम्यान र डेलिभरी म्यानको काम गर्छन्। अनुसन्धाता, डाक्टर, नर्स, इन्जिनियरका रूपमा कार्यरत नेपाली जनशक्ति यहाँ न्युन छ। जुन क्षेत्रमा कार्यरत रहे पनि आफ्नो जिम्मेवारीलाई प्रतिबद्धतासाथ पूरा गरे प्रविधिको क्षेत्रमा अग्रणी वार्षिक रोजगारी वृद्धिदर ७ दशमलव ३ भएको यो देशमा काम पाउन गाह्रो छैन। 
 
सन् २०१२ मा फिनल्यान्डमा रोजगारी अवस्थाबारे गरिएको अनुसन्धानले सबै नेपाली आप्रवासी बेरोजगार नबसी कुनै न कुनै काममा संलग्न रहेको देखाएको छ। नेपालीको दाँजोमा केन्या, सोमालिया, इराक, म्यान्मार लगायत मुलुकबाट त्यहाँ पुगेका धेरै आप्रवासीले भने काम नगरेको सरकारी तथ्यांकमा उल्लेख छ। 'अन्य मुलुकका आप्रवासीमा काम नगरे पनि सोसल बेनिफिट पाइहालिन्छ, किन काम गर्नुपर्योब र भन्ने धारणा रहेको पाइन्छ,' गैरआवासीय नेपाली संघ, फिनल्यान्डका संस्थापक अध्यक्ष ज्योतिप्रकाश खरेल भन्छन्, 'यहाँका नेपालीमा पाएको काम नगरीकन सरकारी सुविधा लिनुहुन्न भन्ने सोच छ।' त्यही भएर आइटी, बिजनेस स्टडिज, सोसल साइन्स लगायत विषय पढेका नेपाली आफूले पढेको विषयसँग असम्बन्धित भए पनि विभिन्न काममा संलग्न रहेको पाइन्छ। काम नगरे पनि बेरोजगारले फिनिस सरकारको सामाजिक सुरक्षाअन्तर्गत भत्ता तथा सुविधा सजिलै पाउँछन्। अपार्टमेन्ट, शिक्षा, स्वास्थ्य र यातायातमा यस्ता बेरोजगारलाई सरकारले विशेष सुविधा दिँदै आएको छ। सन् २०१३ अप्रिलको सरकारी तथ्यांकअनुसार फिनल्यान्डमा विभिन्न मुलुकका गरी ३१ हजार २ सय ८० आप्रवासी छन्। 
 
अधिकांश नेपाली रोजगारीमा संलग्न रहेकाले सबैभन्दा यो समुदाय कम सरकारी सुविधा लिने आप्रवासीमा पर्छ। हेल्सिन्कीबाट प्रकाशित हेल्सिन्गिन सानोमत अन्तर्राष्ट्रिय संस्करणले सन् २०१२ अप्रिल १४ मा नेपाली आप्रवासीको रोजगारी दर अन्य मुलुकका आप्रवासी तथा फिनिस नागरिकको भन्दा पनि उच्च रहेको भन्दै खोजमूलक समाचार छापेको थियो। 'आफूले योग्यताअनुसार काम पाइनँ भनेर बस्नेभन्दा पनि पाएको काम गरिहाल्ने स्वभाव नेपालीको हुँदो रहेछ, यही कारण फिनिस नागरिककै तुलनामा पनि नेपालीले बेरोजगारीबापत सरकारी सुविधा अत्यन्त थोरै लिने गरेका छन्,' समाचारमा छ। गैरआवासीय नेपाली संघ, फिनल्यान्डका संस्थापक अध्यक्ष खरेलका अनुसार दत्तचित्त भएर काम गर्ने नेपालीको स्वभावले गर्दा फिनिस समुदायबीच राम्रो छवि छ। उनी भन्छन्, 'कतिपय मुलुकमा नेपाल अदक्ष तथा सस्तोमा कामदार पठाउने मुलुकका रुपमा चिनिएको छ। तर, यहाँ नेपालीको उपस्थिति सम्मानजनक छ। नेपाली भन्नेबित्तिकै फिनिस नागरिकले राम्रो दृष्टिले हेर्छन्।' यही छविका कारण नेपालीहरु यहाँ व्यवसायमा समेत स्थापित हुँदै आएको उनको भनाइ छ। 
 
बीस वर्षदेखि फिनल्यान्डमा रेस्टुराँ व्यवसाय गर्दै आएका गुल्मीका देवीदत्त शर्माका अनुसार हेल्सिन्कीमा मात्र नेपालीका ३० रेस्टुराँ छन्। एकाधबाहेक सबै रेस्टुराँ राम्ररी चलेका उनी बताउँछन्। 'नेपाली रेस्टुराँका मुख्य ग्राहक नै फिनिस हुन्। कहिलेकाहीँ फिनिस मन्त्रीलगायत उच्चअधिकारी पनि नेपाली खानाको स्वाद चाख्ने भन्दै आउँछन्,' उनी थप्छन्, 'फिनिसकहाँ पाहुना आए भने विशेष खाना खुवाउन भन्दै उनीहरूलाई नेपाली रेस्टुराँमा लिएर आउँछन्।' नेपाली रेस्टुराँले यहाँ नेपालीलाई नयाँ पहिचान दिएको उनको भनाइ छ। 
 
नेपालीको संख्या बढ्दै गएपछि हालै ताम्पेरे, तुर्कु, क्योपियो र कोत्कामा एकएक तथा हाइभिन्काओमा दुइटा गरी ६ वटा नेपाली रेस्टुराँ खुलेका छन्। शर्माका अनुसार यहाँका रेस्टुराँमध्ये ९० प्रतिशत गुल्मीका नेपालीले चलाएका छन् र रेस्टुराँका अधिकांश कामदार नेपाली छन्। त्यसो त पछिल्लो समयमा यहाँका नेपालीले ग्रोसरी, इलेक्ट्रिकल लगायत व्यवसायमा पनि हात हालेका छन्। 
 
गैरआवासीय नेपाली संघ, फिनल्यान्डका अध्यक्ष अरुण पोखरेलका अनुसार विभिन्न सहरमा रहेका २ हजारजति नेपालीमध्ये आधाभन्दा बढी विद्यार्थी छन्। कक्षा १२ सिध्याएर नेपालबाट आएका विद्यार्थी यहाँका पोलिटेक्निक स्कुलमा आइटी, इन्भायरोमेन्ट, बिजनेस लगायत विषय पढ्छन्। युनिभर्सिटी तहमा पढ्ने विद्यार्थीको संख्या अलि कम हुन्छ। युनिभर्सिटी अफ हेल्सिन्की, आल्टो युनिभर्सिटी, युनिभर्सिटी अफ ताम्पेरे लगायतमा मास्टर्स तहमा विद्यार्थी अध्ययनरत छन्। सन् २००२ देखि नेपाली विद्यार्थी उच्च शिक्षाका लागि फिनल्यान्ड आउन थालेका हुन्। 
 
न्युजविक म्यागेजिनले गरेको अनुसन्धान अनुसार फिनल्यान्ड विश्वमै सबैभन्दा गुणस्तरीय जीवनस्तर भएको मुलुक हो। सन् २०१२ को सर्वेक्षण अनुसार शान्त र समृद्ध यो मुलुकको प्रतिव्यक्ति आय ३६ हजार ५ सय अमेरिकी डलर छ। शतप्रतिशत साक्षरता रहेको यो देशमा गरिबीको रेखामुनि रहेका नागरिक संख्या शून्य छ। फिनल्यान्डको यही समृद्धिले नेपालको राजनीतिक अस्थिरताबाट निराश राम्रा जनशक्तिलाई लोभ्याइरहेको छ। हेल्सिन्की, तुर्कु, ताम्पेरे, कोत्का, क्योपियो लगायत स्थानमा नेपाली प्राज्ञिक व्यक्तिले राम्रो छवि बनाएका छन् । 
 
गैरआवासीय नेपाली संघ, फिनल्यान्डका अध्यक्ष पोखरेल भन्छन्, 'पिएचडी गरिसकेका १० जनाभन्दा बढी नेपालीले विभिन्न विषयमा अनुसन्धान अघि बढाइरहेका छन्। यहाँका विभिन्न युनिभर्सिटीबाट करिब १५ जनाले पिएचडीका लागि अनुसन्धान गरिरहेका छन्। अनुसन्धानरत विद्यार्थीमा अधिकांश इन्जिनियरिङका छन्।' फिनल्यान्ड आएर चार वर्षभन्दा बढी नियमित काम गर्दै आएका आप्रवासी नागरिकले यहीँको स्थायी आवास पाउँछन्। त्यसपछि उनीहरुले हरेक क्षेत्रमा फिनिस नागरिकसरह सुविधा पाउँछन्। पढाइ पूरा गरेपछि नेपाल फर्कनेभन्दा पनि अधिकांशले परिवारलाई यतै ल्याउने गरेका छन्। 'आवास, शिक्षा, स्वास्थ्य, यातायातमा यहाँको सरकारले अपनाएको नीति राम्रो छ,' पोखरेल भन्छन्, 'यही सामाजिक सुरक्षाका कारण नेपाली पढाइ सकेर पनि यतै बस्न चाहन्छन्।' 
 
दुःखका कथा पनि 
यहाँ आउने विद्यार्थीमध्ये 'प्लस टु' सिध्याएर उच्चशिक्षाका लागि आउनेको संख्या बढी छ। 'ब्याचलर' तहको पढाइलाई फिनल्यान्डमा पोलिटेक्निक स्कुल भनिन्छ, 'प्लस टु' सकेर आएका विद्यार्थी यहीँ भर्ना हुन्छन्। विश्वविद्यालय तहसम्मको पढाइ यहाँ निःशुल्क भए पनि खानबस्नका लागि विद्यार्थी आफैंले खर्च जुटाउनुपर्छ। संसारकै महँगो सहरमा पर्ने फिनल्यान्डमा खाना र आवास खर्च ज्यादै महँगो छ। सामान्य रूपमा बस्न पनि विद्यार्थीलाई मासिक १ हजार युरोभन्दा बढी लाग्छ। 
 
नेपालबाट यहाँ आउनेबित्तिकै काम पाइहाल्न पनि सजिलो छैन। सबैभन्दा ठूलो समस्या भाषाको हो। गैरआवासीय नेपाली संघ, फिनल्यान्डका सदस्य कुलमणि भण्डारी भन्छन्, 'यहाँ कुनै पनि ठाउँमा काम पाउन फिनिस भाषा जान्नु अनिवार्य हुन्छ। फिनिसपछिको कार्यालयमा प्रयोग हुने भाषा स्वीडिस र त्यसपछि मात्र अंग्रेजी हो। यहाँ अंग्रेजी जानेको भरमा मात्र काम पाउन गाह्रो छ।' भण्डारीका अनुसार पढ्नका लागि 'प्लस टु' सिध्याएर यहाँ पढ्न आउने नेपाली विद्यार्थीको केही वर्षसम्मको समय खानेबस्ने खर्च जुटाउने ध्याउन्नमै बित्छ र कामको प्रेसरले कतिपय विद्यार्थीले पढाइलाई निरन्तरता पनि दिन सक्दैनन्। उनी भन्छन्, 'एकातिर उनीहरूलाई पढाइको चिन्ता हुन्छ, अर्कोतिर यहाँको महँगी धान्ने खर्च नेपालबाट पठाउन सम्भव हुँदैन। त्यसैले खर्च जुटाउन जस्तो काम पाए पनि गनुपर्ने बाध्यता हुन्छ।' यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा विद्यार्थी बनेर फिनल्यान्ड पसेका अदक्ष नेपालीले रेस्टुराँ, पानीजहाज सफाइ गर्ने, पत्रपत्रिका तथा चिठीपत्र बाँड्ने लगायत काम गर्छन्।
 
फिनल्यान्डको मौसम बडो अनौठो छ। असार महिनाभरि तीन घन्टा मात्र अँध्यारो हुने यो देशमा मंसिर लागेपछि तीन घन्टामात्र उज्यालो हुन्छ। नोभेम्बरदेखि मार्चको अवधिमा माइनस २० देखि ३० सम्म पनि तापक्रम पुग्छ। भण्डारी भन्छन्, 'जाडो याममा सडक, घर तथा कार्यालयको छत पूरै हिउँले ढाकेको हुन्छ, त्यस्तो अवस्थामा हिउँ सोसेर बाटो बनाएर गाडी चलाइन्छ।' बाहिर सरसफाइ तथा सामान ढुवानीको काम गर्नेहरूका लागि त्यो समय बडो सकसपूर्ण हुने भण्डारीको भनाइ छ।
 
Published on: 9 July 2013 | Nagarik

Back to list

;