s

विदेशमा सेना

जे पाण्डे

'आइपुग्यो नेपाल डाँडा' भन्दै लेफ्टिनेन्ट जर्नेल धनीदास कार्की राष्ट्रसंघीय मिसन युनुस्कोको गाडीबाट ओर्ले । कङ्गोको नर्थकिवु राज्यको बुटेम्बोबाट बेनीतिर आउँदै गर्दा बीचमा पर्ने नेपाल डाँडाले उनी मात्र हैन लेफ्टिनेन्ट कर्नेल ललितबहादुर  रावलको मन पनि तान्यो । नेपाली सेनाको टोली लिएर हिँडेका ती गाडीहरू लस्करै सडकछेउमा रोकिए । सबैभन्दा अगाडि लागे जर्नेल धनीदास । निकै अग्लो तर फराकिलो र हल्का भिरालो दुबेचौर । आफ्नै भूमिमा पुगेझैं सबैजना उन्मुक्त हुँदै कोही ठूला ठूला ढुङ्गामाथि उभिएर भन्दै थिए, 'साँच्चिकै नेपालजस्तो रहेछ यो ठाउँ ।' कङ्गोमा शान्ति र विकासका लागि जाने नेपाली सेनाले त्यो स्थानको नामकरण 'नेपाल डाँडा' राखेका रहेछन् । बिस्तारै स्थानीयहरूले पनि नेपाल डाँडाकै नामले चिन्न थालेका छन् ।

बुटेम्बोबाट नेपाल डाँडा हुँदै नेपालकै अर्को बजारको नामसँग मिल्ने बेनीतिर बढ्दै थियौं । बेनी बजारको चिम्पान्जी चोकबाट गाडी नेपालको अर्को प्रख्यात र अग्लो स्थान नगरकोट डाँडातिर मोडिए । फनफनी उकालो बाटो हुँदै नगरकोट पुगेर तल नियाल्दा पूरै बेनी बजार छर्लङ्ग देखियो । चिसो मौसम भए पनि भूमध्यरेखा नजिकको बजार भएकाले बालदले ढाकिएको थिएन । मौसम पनि प्रायः एकनासे हुने उक्त बजारमा पुस, माघ महिनामा पनि न त जाडो न गर्मी थियो । 

'बेनी त्यसमाथि नगरकोट' साथमा गएका रोसन पुरी भन्दै थिए, 'यी सबै ठाउँका नाम सुन्दा त मलाई अपि|mका होइन नेपाल भ्रमण गरेजस्तो लाग्यो ।' नगरकोटबाट बेनीस्थित नेपाली सेनाको भैरवी दल गणमा नेपाल र राष्ट्रसंघका झन्डा फरफराउँदै गरेको देखिन्थ्यो  ।  

नर्थकिवुको बेनीमा राष्ट्रिय झन्डा तल बसेको नेपाली सेना २ सय २० किलोमिटर पूर्व पश्चिम र १ सय ३० किलोमिटर उत्तर दक्षिण क्षेत्रमा विकास र शान्ति अभियानमा खटिँदै आएको छ । उक्त क्षेत्रमा करिब ७ सयको संख्यामा युगान्डा र रुवान्डाले संरक्षण दिएका हतियारधारी समूह छन् । हत्या र अराजकता मच्चाउनुबाहेक ती समूहरूको कुनै राजनीतिक उद्देश्य भने छैन । 

बेनीबाट ५४ किलोमिटर उत्तर सेन्जुरी पहाडको फेदीस्थित इरिङगेटीमा नेपालको अर्को क्याम्प छ । त्यो स्थानदेखि २० किलोमिटर नजिकैसम्म युगान्डा र रुवान्डका सरकारी सेना हतियार लिएर घुसपैठ गर्छन् । पहाडी क्षेत्रमा ती दुई देशविरुद्धका सशस्त्र समूहको गतिविधि भएकाले झडपको सम्भावना निकै छ । 

कंगो बेल्जियमको नियन्त्रणमा हुँदा सन् १९६० को दशकमा बनाएको मुतुवाङ्गास्थित एउटा विशाल सैनिक भवनमा त्यहाँको सरकारी सेना एफएआरडीसी बस्थ्यो । तर सन् २०१० जुन २८ मा एडीएफले आक्रमण गर्दा कम्तीमा ९ जना सुरक्षा गार्डहरू मारिएका थिए । त्यसपछि सरकारी सेनाले छाडेको उक्त भवनमा अहिले नेपाली सेना बस्दै आएको छ । विद्रोही समूहहरूले उक्त क्षेत्र नियन्त्रण गर्न गरेको हमलापछि पुगेको नेपाली सेनाले कंगोको राष्ट्रियता संरक्षणसमेत गरिदिएको छ ।  

कंगोको अर्को राज्य बुनियामा सन् २००३ देखि नेपाली सेनाको इन्जिनियरिङ कम्पनी बसेको छ । अहिलेसम्म नेपाली सेनाको १७ औं टोली फेरबदल भइसकेको छ । फताकीदेखि जिनासम्म ५२ किलोमिटर क्षेत्रमा नेपाल र नेपाली नचिन्नेहरू कमै भेटिन्छन् । मेजर पवन खड्का कारण उल्लेख गर्दै  थिए, 'द्वन्द्वले विकास अवरुद्ध भएको उक्त क्षेत्रको सडक नेपाली सेनाले बनाउँदा स्थानीयहरूले खुसी हुँदै सहयोगको हात बढाउन आए ।'

७१ ल्ााख जनसंख्या रहेको बुनियामा ज्यान जोखिममा हालेरै भए पनि कंगोलीहरूका लागि अहिलेसम्म नेपाली सेनाले १ हजार ७ सय किलोमिटर सडक निर्माण गरेको छ । विकास अवरुद्ध पार्दै आएका विभिन्न सशस्त्र हतियारधारी समूहहरूले त्यहाँ १ लाख मानिसको ज्यान लिइसकेका छन् । स्वाहिली, लिंगाला र प|mेन्च बोल्ने कंगोलीहरू बिस्तारै नेपाली भाषा सिक्दै छन् । उनीहरूको स्वरमा नेपाली गीत सुन्न सकिन्छ अहिले ।  

हरेक दिन बेनी बजारस्थित नेपाली सेनाको गणमा आइरहने एकजना कंगोली युवा मुइन्डो चुङ आफ्नो घरसमेत नेपालको बाह्रबिसे भएको दाबी गर्छन् । 'छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, जहाँ गए पनि छाडेन कहिल्यै मायाको धुइरोले' मुइन्डो आफ्नै शैलीमा नेपाली गीत सुनाउँदै नेपाल र्फकन थालेको टोलीलाई बिदाइ गर्दै थिए । उनले नेपाली सेनाको टोली फेरिनासाथ आफ्नो नाम परिवर्तन गर्दै आएका छन् । नेपाल आउने भिसा पाए उनी आफ्नो मुलुकसमेत छाड्न तयार छन् । नेपाली भाषामै उनी भन्छन्, 'नेपालीले धरै सहयोग गरेकाले उतै जाऊँजस्तो लाग्छ ।' तर ती युवा कंगोमा नेपाली सैनिक किन आएका हुन्, त्यसबारे भने अनभिज्ञ छन् ।  

Published on: 9 February 2013 | Kantipur

 

Back to list

;