s

विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको छः सुरक्षामन्त्री कुँवर

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको बताएका छन्।

आईतवार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत श्रमिकहरुसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारका लागि सरकार लागिपरिरहेको बताएका हुन। उनले समस्यामा परेका श्रमिकहरुको अवस्थाको सम्बन्धमा नेपालका राजदुतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदुतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए।

उनले आवश्यकता अनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने बताए। मन्त्री कुँवरले विदेशिएका श्रमिकहरुबाट नै देश चलिरहेको भन्दै श्रमिकहरु हेपिएको, चेपिएको विषयलाई गम्भिर ढंगले कुरा उठाउनुपर्ने बताए। उनले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने स्पष्ट पारे।

उनले भने ‘केही ठाउँहरुमा त मान्छेहरुलाई ताला लगाएर राखेको देखिन्छ। दिनभरी काम गरायो, अनि आएर ताला लगाइदियो। भोटेताल्चा लगाइदिएको छ। साङ्ला, सिक्रि लगाइदिएको छ। यो अवस्थामा हामीले एकदिन अब त्यहाँको हाम्रो श्रम, सहचारी, त्यहाँका काउन्सिलरहरु र त्यहाँका राजदुतहरुसँग पनि हामी यो विषयमा छलफल गर्छौं। हाम्रा मजदुरहरुले जहाँ दुःख पाएका छन्, उहाँहरु जानुभएको छ कि छैन ? उहाँहरुलाई जान अनुमति दिइएको छ कि छैन ? यदी जान अनुमति दिएको छैन भने त्यहाँको सरकारलाई पनि सचेत, सजग गराउनु पर्‍यो। राजदुतलाई बोलाएर पनि कुरा गर्नुपर्‍यो।'

'हाम्रो श्रम बजार यति सस्तो भयो कि जहाँ जसले जे गरेपनि हुनेभयो। यो ढंगले हामी चुप लागेर बस्नु हुँदैन। हामीले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ। हामी श्रम बेचिरहेका छौँ। यो श्रमबाट देश चलिरहेको छ। यो श्रमले सबै खाइरहेका छौँ। तर यी श्रमिकहरु जुन हेपिएका छन्, चेपिएका छन्, यो विषयमा गम्भिर ढंगले कुरा उठाउनुपर्छ। हामीले सरकारसँग उठाउने हो कि, त्यहाँको राजदुतलाई बोलाएर उठाउने हो कि, पहिला त हामी आफ्नै च्यानलमा कुरा उठाउँ न। हाम्रो राजदुतहरुले त्यो विषयलाई हेर्नु भएको छ कि छैन ? त्यो विषयको सुनुवाई गर्नुभएको छ कि छैन ? हाम्रो श्रम सहचारीहरु छन्। काउन्सिलरहरु छन्। उहाँहरुले त्यो विषयलाई सुनुवाई गर्नुभएको छ कि छैन ? पहिले आफैँतिर जाऔँ । हामीबाट सबै कुराहरु भएको छ खाली हामीले त्यति गर्दागर्दै पनि त्यहाँका सरकारले, त्यहाँका कम्पनीहरुले यदी सुनेको छैन भने त सरकार टु सरकार पनि हामीले छलफल चलाउनुपर्ने हुन्छ। यी गम्भिर विषयलाई त्यत्तिकै टुलुटुलु हेरेर बस्नु हुँदैन भन्ने मान्यता छ।’

मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री कुँवरले विदेशी कम्पनीहरुले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकार सँग कुरा गर्ने बताए। उनले गल्ती काम गरेका मेनपावरहरुलाई कारबाही गरिने पनि बताए।

Published on: 12 September 2022 | Nagarik

Link

Back to list

;