s

विदेशमा रोजगारी पनि दिन्छन् नेपाली

रुद्र खड्का

विदेश पस्ने व्यक्तिप्रतिको आमधारणा हो– रोजगारीको खोजी । स्वदेशमा अवसर पाइएन भन्दै अहिलेसम्म जति युवायुवती विदेश पसे, तीमध्ये अधिकांशको प्राथमिकता रोजगारी नै पर्ने गरेकाले आमबुझाइ त्यस्तै रहँदै आएको पाइन्छ ।
 
अब भने समय फेरिएको छ । पराइ भूमिमा आउने युवायुवतीको ध्यान केवल अर्काको कम्पनीमा काम गर्नु मात्र होइन भन्ने उनीहरूले पुष्टि गर्न थालेका छन् । आफ्नो थाँतथलो छाडेर विदेश पसेका युवायुवतीको उद्यमी बन्ने चाहनाले एकातिर उनीहरूलाई पुँजी संकलनमा त सहयोग पुर्याइरहेको छ नै अर्कोतिर त्यस्ता नवउद्यमीले रोजगारी पनि सिर्जना गरिरहेका छन् ।
 
विदेशमा उद्यमी बनेर पुँजी र रोजगारी विस्तार गरिरहेका युवामध्ये एक हुन्– ईश्वरप्रसाद उपाध्याय । सन् २०१० मा दुबई आएका उपाध्यायले जागिरको साटो व्यवसायलाई जोड दिँदा उनले आर्थिक रूपमा त सफलता प्राप्त गरिरहेका छन् नै । साथै उनले दुबई आसपास खोलेका तीन रेस्टुरेन्टमा ३४ नेपालीलाई रोजगारी दिन सफल भएका छन् ।
 
‘म विदेश आएपछि जागिरलाई प्राथमिकता दिएको भए व्यक्तिगत रूपमा मात्र सफल हुन्थे होला,’ उपाध्यायले भने, ‘जागिरको साटो व्यवसाय महŒवपूर्ण हो भन्ने सोचलाई कार्यान्वयन गर्दा यतिखेर ३४ युवायुवतीलाई रोजगारी दिएर उनीहरूको परिवारलाई समेत सहयोग गर्न पाएको छु ।’ दुबई आउनुअघि काठमाडौंमा ग्रोसरी पसल सञ्चालन गर्ने गरेका उपाध्यायले एकजना आफन्तबाट दुबईमा रहेको नेपालीको सगरमाथा रेस्टुुरेन्ट बिक्रीमा रहेको जानकारी पाएका थिए ।
 
‘दुबईमै बस्ने आफन्तले नेपालीको सगरमाथा रेस्टुरेन्ट बिक्रीमा रहेको जानकारी गराएपछि साढे दुई लाख डिराम लगानी गरेर व्यवसायमा लागेको हुँ,’ उनले भने, ‘इमान्दारी र मेहनतले नेपालीको मन जित्न सकेपछि यतिखेर तीन वटा रेस्टुरेन्ट सञ्चालन गर्न सफल भएको छु ।’ यहाँको कानुनले विदेशी नागरिकलाई व्यवसाय गर्न नदिने भएकाले उनले एक स्थानीयलाई ‘हस्ताक्षर पाटर्नर’ बनाएका छन् । एक सुको लगानी नगरेका स्थानीयले होटल सञ्चालनका लागि हस्ताक्षर गरिदिएबापत उपाध्यायले निश्चित रकम बुझाउने गर्छन् ।
 
‘लगानी नगरेका स्थानीयलाई निश्चित रकम दिँदासमेत व्यवसायमा घाटा छैन,’ उनले अनुभव सुनाए, ‘नेपालमा जस्तो चुल्ठे, मुन्द्रेदेखि राजनीतिक दलका कार्यकर्तालाई चन्दा दिनु पर्ने बाध्यता छैन । सुरक्षा र कानुनको राम्रो व्यवस्था भएकाले व्यवसाय गर्न कुनै गाह्रो छैन ।’नेपालमा जुनसुकै व्यवसायमा राम्रो गर्ने हो भने तमाम झन्झट बेहोर्ने गरेका तमाम उदाहरण कायम रहेका बेला दुबईमा भने कुनै समस्या नभएको उनको भनाइ छ । ‘यहाँ व्यक्तिले होइन सिस्टमले काम गर्छ,’ उनले भने, ‘इमान्दार र मेहनत गर्नेलाई कुनै समस्या छैन । जालझेल, फट्याँइ गर्नेले चाहिँ कहिलै प्रगति गर्न सक्दैनन् ।’
 
रेस्टुरेन्ट व्यवसायबाट राम्रो आर्थिक लाभ लिइरहेकाले आफूसँग काम गर्नेलाई पनि राम्रो पारिश्रमिक दिइरहेको उनले बताए । ‘मेरा रेस्टुरेन्टमा मासिक ५५ हजार रुपैयाँ (बस्ने र खानेबाहेक) भन्दा कममा काम गर्ने कोही छैनन्,’ उनले भने, ‘मेरो चाहना मैले मात्र कमाउनु पर्छ भन्ने छैन । समाजका लागि पनि केही गर्नुपर्छ भन्ने ठान्छु ।’  रेस्टुरेन्ट व्यवसायमा राम्रो गर्दै गरेपछि दुबईमा बस्ने नेपालीले पनि भरोसा गर्न थालेको उनको भनाइ छ । ‘मैले जे जति कमाउँछु । आफैँ थुपारेको भए सायद धेरैलाई मतलब हुँदैन्थ्यो होला,’ उनले भने, ‘विदेशमा समस्यामा परेका नेपालीदेखि नेपालबाट विभिन्न कार्यक्रम लिएर आउने जतिलाई सक्दो सहयोग गरिरहेको छु ।’
 
उनका अनुसार नेपालबाट आउने अधिकांश राजनीतिक दलका नेतादेखि कलाकार र अन्य पेशाकर्मी एकपटक उनका रेस्टुरेन्टमा पुगेका हुन्छन् । ‘पुगेका जति प्रगति देखेर प्रशंसा गरेरै फर्कन्छन्,’ उनले भने । उपाध्यायले आफ्ना दुई छोरीलाई मासिक एक लाख ६९ हजार रुपैयाँ तिरेर दुबईको महँगो स्कुलमा पढाइरहेको बताए । विदेशमा आएर व्यवसायमा लाग्दा सोचेभन्दा राम्रो आर्थिक उन्नति गरेका उपाध्यायको आफ्नो जन्मस्थान धादिङ, मलेखुको परेवाटार आसपास होटल व्यवसाय सञ्चालन गर्ने धोको छ ।
 
‘मैले विदेशमा पाइरहेको वाहावाही गाउँ, ठाउँले पनि थाहा पाओस् भन्ने चाहना छ,’  उनले भने । दुबईमा गठन गरिएको बिजनेस काउन्सिलका कार्यकारी सदस्यसमेत रहेका उपाध्यायले विदेशको सीप र अनुभव स्वदेशमा प्रयोग गर्न गाउँ, ठाउँमै होटल, रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने सोच बनाएको बताए । ‘विदेशमा आर्थिक रूपमा राम्रो गरे पनि त्यो रकमबाट स्वदेशले पनि केही पाओस् भन्ने चाहना छ,’ उनले भने, ‘त्यसैले स्वदेशमा गर्ने कामको योजना बनाइरहेको छु ।’ उपाध्यायका अनुसार पछिल्लो समयमा दुबईमा केही नेपाली युवा व्यवसायप्रति आकर्षित भए पनि पर्याप्त भने छैन ।
 
दु्रत गतिमा आर्थिक र भौतिक प्रगति गरिरहेको दुबईमा नेपालीले धेरै राम्रो गर्ने सम्भावना हुँदाहुँदा जागिरे मानसिकताबाट माथि उठ्न नसकेको उनको बुझाइ छ । ‘पछिल्लो समयमा केही नेपाली व्यवसायमा लागेका छन्,’ उनले भने, ‘तर जति संख्यामा नेपाली छन् । त्यसको अनुपातमा व्यवसाय गर्नेको संख्या ज्यादै न्यून हो ।’ हाल संयुक्त अरब इमिरेट्स (युएई) मा वैधानिक रूपमा करिब दुई लाख २० हजार नेपाली बस्दै आए पनि व्यवसाय गर्नेको संख्या एक हजार भन्दा कम रहेको बताइन्छ । वैधानिकबाहेक युएईमा बस्ने नेपालीको संख्या चार लाख भन्दा बढी रहेको कतिपयको भनाइ छ ।
 
उपाध्यायले दुबईमा नेपालीको सगरमाथाबाहेक फूलवारी र नमस्ते रेस्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् । उनले सञ्चालन गरेका रेस्टुरेन्ट यतिखेर दुबईमा नेपालीका लागि सम्पर्क केन्द्रसमेत भएको यहाँ कार्यरत नेपाली बताउँछन् । ‘नेपालबाट केही सामान मगाउनु पर्यो भन्नेदेखि विदाको दिन साथीभाइसँग भेटघाट गर्ने थलो पनि नेपाली रेस्टुरेन्ट नै हुन्,’ भक्तपुरको कटुञ्जे घर भइ हाल दुबईमा रोजगारी गरिरहेकी कल्पना बस्नेत भन्छिन्, ‘नेपाली रेस्टुरेन्टबाट सामान्य नेपालीले पनि लाभ उठाएका छन् ।’ छोटो समयमा दुबईले उत्कृष्ट आर्थिक र भौतिक प्रगति गरेको देखेका उपाध्याय नेपालमा पनि आर्थिक समृद्धिलाई जोड दिने हो भने हरेक व्यक्तिको पैसा उद्यममूलक काममा प्रयोग हुनुपर्ने बताउँछन् ।
 
युएई आउन अब चारित्रिक प्रमाणपत्र
 
रोजगारीका लागि दुबईलगायत युएईको जुनसुकै इलाकामा आउन चारित्रिक प्रमाणपत्र अनिवार्य गरिएको छ । युएईस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार रोजगारीका लागि आउने सबैेले प्रहरीद्वारा प्रमाणित चालचलनको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।पाँच वर्षदेखि युएईमै बसेका नेपालीको हकमा भने स्थानीय प्रहरीले उक्त प्रमाणपत्र उपलब्ध गराउनुपर्ने छ । युएईको सुरक्षा व्यवस्था मजबुत बनाइराख्न उक्त प्रावधान सुरु गरिएको बताइएको  छ ।
 
Published on: 9 February 2018 | Nagarik

Back to list

;