s

विदेशमा रहेका सय नेपाली फर्काउन रवि लामिछानेले खुलाए रोजगारीको विज्ञापन

रास्वपा अध्यक्ष तथा चितवन २ का सांसद रवि लामिछानेले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा वैदेशिक रोजगारीमा रहेका सय नेपालीलाई स्वदेशमै रोजगारीसहित एकैपटक ११ काम सुरु भएको घोषणा गरेका छन् । जसमा ब्लु बस सेवा, मोबाइल क्लिनिक, सार्वजनिक सुनुवाइ, नमुना विद्यालय, स्वस्थ चितवन, आवासीय नमुना स्कुल, हेल्लो रवि, र्‍यापिड एक्सन टिम, वृक्षरोपण र चितवन क्लब निर्माण रहेका छन् ।

प्रतिनिधिसभा उपनिर्वाचनका क्रममा गरेको प्रतिबद्धताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका सय नेपालीलाई नेपालमै रोजगारी दिन विज्ञापन आह्वान गरेका छन् । लामिछानेले चितवन– २ मा उपनिर्वाचन जितेको सय दिन पुगेको अवसरमा विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै सयजनालाई नेपालका विभिन्न क्षेत्रमा रोजगारीको विज्ञापन गरेका हुन् ।

उपनिर्वाचनमा चुनावी प्रचारका क्रममा लामिछानेले आफू निर्वाचित भएको सय दिनमा कम्तीमा सय नेपालीलाई रोजगारी दिएर नेपाल फर्काउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार बुधबार सय दिन पुगेको अवसरमा उनले विभिन्न रोजगारदाता कम्पनीसँगको सहकार्यमा ६ शीर्षकमा विज्ञापन आह्वान गरेका हुन् । जसअन्तर्गत मार्केटिङ एन्ड कम्युनिकेसन, टेक्निकल, फाइनान्स एन्ड अकाउन्टिङ, फुड एन्ड बेभरेज र म्यानेजमेन्ट एन्ड एडमिनिस्ट्रेसन रहेका छन् । मार्केटिङ एन्ड कम्युनिकेसनअन्तर्गत पदमा ४३ जना मागिएको छ भने टेक्निकल समूहमा ३५, फाइनान्स एन्ड एकाउन्टिङमा सात, फुड एन्ड बेभरेजमा २७, म्यानेजमेन्ट एन्ड एड्मिनिस्ट्रेसनमा ३६ र हेल्थ केयर समूहमा १८ जनालाई रोजगारी दिइने भन्दै विज्ञापन सार्वजनिक गरिएको छ ।

‘यी विज्ञापनहरू विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन्, छापिँदै छन्,’ लामिछानेले मंगलबार राति फेसबुकमा लेखेका थिए, ‘सामाजिक सञ्जालमै लेखेका छन्, ‘चुनावमा आफूले बोलेअनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि सयभन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि विनाढेउवा के । अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनेछौँ । मैले उपनिर्वाचनमा विजय हासिल गरेको भोलि सय दिन पूरा हुँदै छ । बोलेका थुप्रै काम (स्टन्ट)बारे भोलि दिनभरि विभिन्न कार्यक्रममार्फत जानकारी दिँदै छु । भोलि दिनभर मलाई फेसबुकमा फलो गरिदिनुहोला ।’

विज्ञापन गरिएका पदहरूमा न्यूनतम १५ हजारदेखि डेढ लाखसम्मको तलब तोकिएको छ । एउटा विज्ञापन एजेन्सीका लागि एकजना मिडिया रणनीतिकार माग गरिएको छ, जसको सुविधा एक लाख तलब र थप बोनस भनिएको छ । एक हस्पिटालिटीको जनरल म्यानेजर मागिएको छ, जसको तलब डेढ लाख तोकिएको छ । केही पदहरूमा भने तलब एकदमै न्यून देखिन्छ, जसले विदेशमा राम्रो तलब पाइरहेकाहरूलाई आकर्षित नगर्न सक्छ । विदेशमा कार्यरत नर्सलाई फर्काउन आह्वान गरिएको विज्ञापनमा तलब न्यूनतम १८ हजार तोकिएको छ । २० हजार तलबमा १० जना नर्सिङ कर्मचारी मागिएको छ । एक–एकजना ओटी र ओपिडी नर्स पनि २० हजार तलबमै माग गरिएको छ । इलेक्ट्रिसियन र जुनियर वेटरको तलब पनि २० हजार नै तोकिएको छ । बार टेन्डर, सहायक कुक र जुनियर वेटरको तलब २५ हजार मात्रै छ । यति तलबमा विदेशमा कार्यरत मजदुर कसरी नेपाल फर्किएलान् भनेर लामिछानेको विज्ञापनमाथि प्रश्न उठेको छ ।

लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलसँग कम पारिश्रमिकलाई लिएर उठेको प्रश्नबारे जिज्ञासा राख्दा प्राविधिक त्रुटि भएको हुन सक्ने, तर क्षमताअनुसार पारिश्रमिक दिइने बताए । ‘कहिलेकाहीँ प्राविधिक त्रुटि पनि भएको हुन सक्छ,’ उनले भने, ‘कतिपय देशमा नर्सले चार–पाँच लाख पनि कमाइरहेका हुन्छन् । त्यो हेरेर त नेपालमा सम्भावना छैन । यहाँ त साना स्वास्थ्य संस्थाले १२–१५ हजारमा नर्सहरू राखिरहेका हुन्छन् । यद्यपि, विज्ञापन बनाउने क्रममा तलबका हकमा केही त्रुटि भएको हुन सक्छ । यहाँको मागअनुसार जति पाउनुपर्ने हो, त्यहीअनुसार पारिश्रमिक दिइन्छ । क्षमताअनुसार पारिश्रमिक दिइन्छ नै ।’

विज्ञापनमा विदेशबाट फर्किन चाहनेलाई शतप्रतिशत फ्री टिकटको व्यवस्था गरिएको छ । चुनावी प्रचारका क्रममा माधव नेपालले गरेको भाषणबाट चर्चामा आएको ‘विनाढेउवा के’ शब्दलाई पनि विज्ञापनमा राखिएको छ । चुनावी प्रचारका क्रममा नेपालले रौतहट पुगेर ‘विनाढेउवा के टिकट मिल्ते हैं, विनाढेउवाके भिसा मिल्ते हैं’ भन्दै भाषण गरेको अडियो सार्वजनिक भएको थियो ।

लामिछानेले भने आफू विदेशबाट फर्किएको व्यक्ति भएकाले बिदेसिएका नेपालीको देश फर्कन चाहने व्यग्रता बुझेर यो अवसर सिर्जना गरेको बताएका छन् । ‘आफू विदेशबाट स्वदेश फर्केको मान्छे हुनाले मैले सुरुवात कहीँ न कहीँबाट गर्नुपर्छ भनेर आफ्नो क्षेत्रका लागि सामाजिक सञ्जालमार्फत सिइओको आवेदन माग गरेको थिएँ,’ लामिछानेले फेसबुकमै भिडियोमार्फत भनेका छन्, ‘देशमै बसेर केही सीप आर्जन गरेर आफ्नो देशमै केही गर्न चाहन्छु भनेर आउनेहरूमध्ये करिब चार सय आवेदन प्राप्त भएको थियो । त्यसमध्ये अन्तर्वार्ता गरेर हामीले एकजनालाई छान्यौँ । विदेशमा बसेका नेपाली आफ्नो देश फर्कन कति व्यग्र हुन्छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । मनको अन्तरकुनामा गडेको यही खिल उप्काउन मैले केही प्रयास थालेको छु । विदेशमा रहेका नेपालीलाई स्वदेशमै अवसर खोज्ने प्रेरणा मिलोस् भनेर एक सयजनाका लागि रोजगारीको अवसर खोजेर निवेदन आह्वान गरिएको हो ।’

Published on: 3 August 2023 | Naya Patrika

Link

Back to list

;