s

विदेशमा रहेका नेपालीहरूको मतदाता नामावलीका लागि कार्यविधि मस्यौदा तयार

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ताका लागि कार्यविधि मस्यौदा तयार पारेको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा तयार भएको उल्लेख गरेका छन्।

मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था गरेको प्रवक्ता पौडेलले बताए।

दर्ता कर्मचारी तोक्‍नेबारे आयोगले परराष्ट्र मन्त्रालयलाई लेखेर पठाउने व्यवस्था गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

नाम दर्ता गराउन चाहनेले अनलाइन प्रणालीमार्फत् फारम भरी बायोमेट्रिक विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सकिनेछ। दर्ता भएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लाने व्यवस्था रहेको पनि प्रवक्ता पौडेलले बताए।

यसमाथि सुझाव संकलन गर्न आयोगको वेबसाइटमा राखिएको छ।

परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली संघ तथा अन्य सरोकारवालाहरूले कात्तिम मसान्तभित्र आयोगको इमेल ठेगाना [email protected] मा राय सुझाव उपलब्ध गराउन पनि आयोगले अनुरोध गरेको छ।

मस्यौदामा उल्लेख भएअनुसार विदेशमा रहेका नेपालीहरूले आयोग वा सम्बन्धित कूटनीतिक नियोगको वेबसाइटमा रहेको अनलाइन मतदाता नामावली फारम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकतामा उल्लेख ठेगानाभन्दा फरक ठेगानामा नाम दर्ता गराउन चाहेमा बसाइसराइ प्रमाणपत्र वा विवहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र उल्लेख गर्नुपर्ने हुन्छ।

सम्बन्धित देशको भिसा वा श्रम स्वीकृति र स्वघोषणा पत्र उल्लेख गर्नुपर्नेछ।

विवरण प्राप्त भएपछि प्रमुख नाम दर्ता अधिकारीले आवश्यक जाँचबुझ गरी विवरण मनासिव देखिए स्वीकृत गर्नुपर्ने र त्यसको जानकारी निवेदकलाई दिइने आयोगले जनाएको छ।

त्यसपछि जैविक विवरण भर्नाका लागि आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्नुपर्ने, तोकिएको मितिमा अनलाइनमा प्रविष्ट गरेका प्रमाण र सक्कल नेपाली राहदानी पनि साथमा लिएर जानुपर्ने मस्यौदामा उल्लेख गरिएको छ।

Published on: 13 October 2023 | Setopati

Link

Back to list

;