s

विदेशमा रहेका २८ हजार नाै सय नेपालीलाई कोरोना संक्रमण, मृत्यु हुनेको संख्या एक सय ४३ पुग्यो

विदेशमा रहेका २८ हजार नाै सय नेपालीलाई कोरोना संक्रमण, मृत्यु हुनेको संख्या एक सय ४३ पुग्यो

विदेशमा रहेका झन्डै २९ हजार नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणले शनिबार साँझसम्म १४ देशमा रहेका एक सय ४३ नेपालीको ज्यान गएको छ । विदेशमा यो साता मात्रै  थप १३ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, ओमानलगायतका देशमा रहेका नेपालीहरूको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्यून हुँदै गइरहेको छ ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार नाै सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ हजार दुई सय २६ जना गैरआवासीय नेपाली कोरोनामुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१८ हजार दुई सय ९३ जनाको उद्धार

यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरूको उद्धारको कामलाई तीव्रता दिइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार दुई सय ९३ जनाको उद्धार गरिएको छ ।

अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरू नेपाल फर्किएका छन् ।

एक सय १५ शव नेपाल ल्याइयो

यसैबीच विदेशमा निधन भएका नेपालीको तीन सय ५२ शवमध्ये  एक सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी एक सय पाँच शव व्यवस्थापनको काम बाँकी रहेको छ । ती शवमध्ये एक सय ३२ जना नेपालीको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको  एनआरएनएले जनाएको छ ।

Published on: 5 July 2020 | Nayapatrika

Link

Back to list

;