s

विदेशमा पढेका ८८% डाक्टर फेल

नेपालमा मेडिकल कलेज थोरै भएर होइन, प्रवेश परीक्षामा पछि पर्दा बिदेसिए धेरै विद्यार्थी
 
शैक्षिक स्तर कमजोर भए पनि छोराछोरीलाई डाक्टर नै बनाउने हठले अभिभावकको लगानी, विद्यार्थीको भविष्य र जनताको स्वास्थ्य धरापमा
 
नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ ।
 
एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । तर, विदेशमा कस्ता विद्यार्थी गएका छन् र कस्तो शिक्षा लिएर आएका छन् भन्ने प्रस्ट पार्न टेबलमा प्रस्तुत गरिएको उदाहरण नै काफी छ । गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए ।
 
त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८% र बिडिएसतर्फ ९०% डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन् । विदेशमा मेडिकल पढ्न जाने विद्यार्थी दुईथरी हुन्छन् । नेपाल सरकारको अथवा सम्बन्धित देशको छात्रवृत्ति पाएर पनि विद्यार्थी विदेश जान्छन् । तर, यसको संख्या सीमित छ । नेपालमै मेडिकल साइन्स पढ्न पनि प्रवेश परीक्षामा उत्कृष्ट नम्बर ल्याउनुपर्छ । योग्यताक्रममा पछि परेका तर अभिभावकले पैसा तिर्न सक्ने विद्यार्थीलाई विदेशको विकल्प खुलै रहन्छ । यसरी विदेश जाने  धेरैजसो विद्यार्थी तुलनात्मक रूपमा कमजोर मानिन्छन् ।
 
शैक्षिक स्तर कमजोर भए पनि डलरमा पैसा तिरेको कारणले चीन, बंगलादेश, पाकिस्तान र फिलिपिन्सजस्ता देशका विश्वविद्यालयमा भर्ना सजिलै पाइन्छ, तर हरेक विद्यार्थीलाई भर्ना दिने कलेजले गुणस्तरीय शिक्षा दिन सक्दैन । त्यसैले विश्वविद्यालयबाट एमबिबिएस पास गरेर आएका डाक्टर पनि लाइसेन्स लिने परीक्षामा असफल हुन्छन् ।
 
एकपटक असफल भए पनि मेडिकल काउन्सिलमा पटकपटक परीक्षा दिन पाइन्छ । कतिपय विद्यार्थीले ३६ पटकसम्म पनि परीक्षा दिएको उदाहरण छन् । जुनसुकै मूल्यमा पनि डाक्टर हुन्छु भनेर सपना देखेका विद्यार्थीको भविष्य त बन्न सक्छ, तर त्यस्ता मेडिकल जनशक्तिबाट आमजनताको स्वास्थ्यमा भने गम्भीर खेलबाड हुन्छ । तर, गुणस्तरीय चिकित्सा शिक्षाका लागि डा. गोविन्द केसीले निरन्तर आन्दोलन गरेपछि विदेश जाने विद्यार्थीको पनि परीक्षा लिन थालिएको छ ।
 
परीक्षामा पास भएका विद्यार्थीले मात्र मेडिकल काउन्सिलको सिफारिसमा शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट पाउँछन् । यसो गर्दा एमबिबिएस पढ्न विदेश जाने विद्यार्थीको संख्या आधाभन्दा पनि धेरै घटेको छ । अघिल्ला वर्षहरूमा करिब एक हजार विद्यार्थी मेडिकल पढ्न विदेश जाने गरेकोमा अहिले यो संख्या ४५० मा झरेको छ ।
 
३६ पटकसम्म फेल
 
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाका अनुसार कतिपय डाक्टरले लाइसेन्स लिन ३६ पटकसम्म परीक्षा दिएका छन् । काउन्सिलले वर्षमा तीनपटक परीक्षा लिन्छ, यसरी १२ वर्षसम्म निरन्तर परीक्षा दिँदा पनि असफल हुने डाक्टरहरूले विश्वविद्यालयको सर्टिफिकेट भने बोकेर हिँडेका छन् । उनले भने, ‘चिकित्सक लाइसेन्स परीक्षा पास गर्न नसक्ने त छँदै छन्, बल्लबल्ल पास गर्नेले पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्दैनन् ।’
 
एमबिबिएस अध्ययन सकेर डाक्टरको सर्टिफिकेट पाए पनि मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ परीक्षा पास नगर्दासम्म स्वास्थ्य उपचारमा संलग्न हुन पाइँदैन । कसैले बिरामी जाँचेमा गैरकानुनी ठहरिन्छ । यसरी, जबर्जस्ती विदेश जाँदा अभिभावकको लगानी, विद्यार्थीको समय मात्र होइन, जनताको स्वास्थ्य पनि धरापमा पर्ने गरेको छ ।
 
जुनसुकै मूल्यमा पनि डाक्टर बन्नुपर्ने किन ?
 
मानवशास्त्री सुरेश ढकालको विश्लेषण
 
नेपाली समाजमा डाक्टर र त्यसपछि इन्जिनियर बन्ने/बनाउने सोख र सपना हिजो मात्र होइन, आज पनि प्रबल छ । देशमा अरू विषयभन्दा धेरै पछि सुरु भएको हो डाक्टर, इन्जिनियरको पढाइ । पढाइमा अब्बल भएर विदेशमा छात्रवृत्ति पाएपछि बल्ल पढ्न पाइने थियो । पढेर आएपछि रोजगारीको ग्यारेन्टी, समाजमा इज्जत आदिले विगतमा डाक्टर/इन्जिनियर बन्ने सपना अस्वाभाविक थिएन ।
 
तर, अहिले डाक्टरीबाहेकका अरू पेसा पनि इज्जतिलो, मर्यादित भए पनि नेपालमा डाक्टर बन्ने/बनाउने मोह कायमै छ । हिजो पढाइमा अब्बल नभए सम्भव थिएन, आज पैसा भएपछि सम्भव देखिन थाल्यो । यसैले विकृत अभ्यास र डरलाग्दा आकडा देखिन थाल्यो, पढ्न गएकामध्ये अधिकांश फेल । तैपनि विगतमा झैँ इज्जत नभए पनि डाक्टरको इज्जत कायमै छ, पैसा कमाउन सकिने पेसा पनि बनेको छ । यसैले अझ केही दशक समाजमा डाक्टर बन्ने र बनाउने सपना देख्नेको संख्या घट्ने देखिँदैन ।
 
Published on: 16 July 2018 | Naya Patrika

Back to list

;