s

विदेशमा नेपालीको लगानी खुला गर्ने कानुन बन्दै

आशीष ज्ञवाली
 
काठमाडौं: नेपालीलाई विदेशमा लगानी गर्न सहज हुने गरी सरकारले कानुन ल्याउने तयारी गरेको छ। 
 
सरकारले विदेशी विनियम व्यवस्थापन गर्ने ऐन ल्याएर नेपालीलाई विदेशमा लगानी गर्न कानुनी बाटो खुला गर्ने तयारी गरेको हो। राष्ट्रबैंकले ऐनको मस्यौदा तयार गरेर अर्थमन्त्रालयमा पठाइसकेको छ । राष्ट्रबैंकले मस्यौदा अर्थमा पठाए पनि संसद्बाट पारित हुन समय लाग्नेछ।
 
अहिले कार्यान्वयनमा रहेको विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । २०२१ सालमा आएको ऐन अहिलेसम्म रहेको भन्दै विश्वव्यापीकरणको समयमा पुरानो ऐन खारेज गर्न व्यवसायीले माग गर्दै आएका छन्।
 
राष्ट्रबैंकका विदेशी विनिमय विभागका प्रमुख कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले नयाँ ऐन आएपछि विदेशमा प्रतिबन्ध लगाउने ऐन र विदेशी विनियम नियमित गर्ने ऐन २०१९ खारेज हुने बताए । ऐन आएपछि कति रकमसम्म विदेशमा लगानी गर्न खुला गर्ने त्यसमा निर्णय हुन्छ। 
 
विदेशी विनियम सञ्चितीलाई असर नगर्ने गरी लगानी गर्न खुला हुने ढुंगानाले बताए । राष्ट्रबैंकले पठाएको मस्यौदामा कति रकम खुला गर्ने भन्ने उल्लेख छैन । कानुनअनुसार विदेशमा लगानी गर्न खुला गरेपछि समय अनुसार विदेशमा लगानी गर्न दिने रकमको सीमा परिवर्तन हुन्छ। 
 
विदेशमा कुनै देशमा एक अमेरिकी डलरमा पनि कम्पनी खोल्न सकिने ठाउँ छन् । ऐन आएपछि मुख्यगरी विदेशी सञ्चितीलाई असर नगर्ने गरी राष्ट्रबैंक र सरकारले कति रकम खुला गर्ने नीति आउँछ।
 
कानुनले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाए पनि नेपालका अधिकांश व्यावसायिक घरानाको लगानी विदेशमा छ।
 
विदेशी विनियम व्यवस्थापन ऐन आएपछि विदेशमा कति रकम लगानी भएको छ त्यसको आधिकारिक जानकारी हुनेछ । यस आधारमा विदेशमा कमाएको पैसामा पनि कर कार्यालयलाई कर लगाउने बाटो खुला हुन्छ । ऐन बन्नभन्दा अगाडि विदेशमा लगानी गरेका लगानीकर्ताले पनि त्यसको जानकारी राष्ट्रबैंकमा गराउनुपर्ने हुन्छ।
 
कानुनले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाए पनि नेपालका अधिकांश व्यावसायिक घरानाको लगानी विदेशमा छ। फोब्र्सले नेपालका एकमात्र अर्बपति घोषणा गरेका चर्चित उद्यमी विनोद चौधरीले आफ्नो आत्मकथामा घुमाउरो तरिकाले विदेशमा लगानी गरेको स्वीकार गरेका छन्।
 
नेपाली व्यवसायीले मुख्यगरी भारत, सिंगापुर, हङकङ र दुबईमार्फत विदेशमा लगानी गरेका छन् । पछिल्लो समय तयारी पोसाक गलैंचा उद्योगमा समेत नेपाली व्यवसायीले भियतनाममा समेत लगानी गरेका छन्।
 
खासगरी व्यवसायीले हुन्डीको माध्यमबाट विदेशमा लगानी गर्नेछन्। कानुन अनुसार विदेशमा लगानी गर्न नपाउने भए पनि विदेशमा लगानी गरेकै आधारमा कसैलाई कारबाही नभएको हुँदा प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा छैन। 
 
कानुनले प्रतिबन्ध लगाएको हुँदा लगानीकर्ताले विदेशी विनियमको सुविधा राष्ट्रबैंकबाट नपाउने भएकोले यसको लागि हुन्डीको प्रयोग हुने गरेको छ । अघिल्लो वर्ष राष्ट्रबैंकले गरेको एउटा अनुसन्धानमा उखु मिलमा लिएको भारतमा लगानी भएको पाइएको थियो।
 
उद्योग मन्त्रालयले विदेशी लगानी नीति मार्फत नेपालीलाई विदेशमा १० लाख अमेरिकी डलर विदेशमा लगानी गर्न दिने मस्यौदामा सार्वजनिक गरेको थिए। सरकारले चोरबाटोबाट विदेशमा लगानी गर्ने बाटो खुला गरेको र प्रतिबन्ध लगाउने ऐन कार्यान्वयनमा रहेको नीतिभन्दा ऐनमाथि हुने भन्दै त्यसमा ठूलो आलोचना भएको थियो। 
 
सरकारले नीति ल्याउदा विदेशमा लगानी गर्न दिने प्रावधानलाई हटाएको थियो।नीतिमा सरकारले १० लाख अमेरिकी डलरसम्म खुला गर्ने उल्लेख गरेको हुँदा कानुन आएपछि सो रकमसम्म लगानी खुला गर्न सक्ने सम्भावना छ। 
 
विगतमा नेपालीलाई विदेशमा लगानी गर्न खुला गर्नुपर्ने पक्षमा निजी क्षेत्रका संगठनमा नेपाल उद्योग वाणिज्य महासंघमा विपक्ष तथा उद्योग परिसंघ पक्षमा हुने गरेका थिए । महासंघका अध्यक्ष पशुपति मुरारका भने विदेशमा नेपालीलाई लगानी खुला गर्नुपर्ने पक्षमा छन्। 
 
Published on: 24 March 2016 | Annapurna Post

Back to list

;