s

विदेशमा मृत्यु भएकाको शव सिधै घरमा

रुद्र खड्का

कोरोना महामारीले हिँड्डुलमा समस्या भएपछि विदेशमा मृत्यु भएकाको शव सिधै घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ। विगतमा वैदेशिक रोजगारीको क्रममा निधन भएकाको शव लिन आफन्तहरू त्रिभुवन विमानस्थलसम्म पुग्ने गर्थे। वैदेशिक रोजगार बोर्डका निर्देशक दीनबन्धु सुवेदीले निषेधाज्ञाको बेला सर्वसाधारणलाई आवतजावतमा समस्या भए पनि वैदेशिक रोजगारीको क्रममा रहेकाहरूको निधन हुने क्रम नरोकिएकाले शव सिधैं घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको बताए। 

‘विगतमा पनि वैदेशिक रोजगारीको क्रममा निधन भएकाको शव बोर्डले नै व्यवस्थापन गथ्र्यो,’ उनले भने, ‘तर अहिले मृतकका आफन्त काठमाडौं नआए पनि घरसम्म पुर्‍याउने व्यवस्था मिलाएका हौं।’ शव बुझ्न काठमाडौंमा आउनु नपर्दा पीडित परिवारलाई सहयोग पुग्ने उनको भनाइ छ। पहिलो लहरको कोरोना महामारी फैलँदा वैदेशिक रोजगारीको क्रममा निधन भएकाको शव ल्याउन नसकेपछि बोर्डले गन्तव्य मुलुकमै दाह संस्कार गर्ने अनुमति दिने परिवारलाई आर्थिक सहायताबाहेक ५० हजार रूपैयाँ अतिरिक्त दिने निर्णय गरेको थियो।

जुन निर्णयलाई लिएर व्यापक विरोध भएपछि बोर्डले अहिले विदेशै सद्गत गर्नुको साटो घरसम्म पुर्‍याइदिने निर्णय गरेको हो। यद्यपि बिहीबार मध्यरातिदेखि सरकारले भारतका केहीबाहेक अन्य सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेका कारण पुनः विदेशमा मृत्यु भएकाको शव घरसम्म ल्याउन समस्या हुन्छ कि भन्ने आशंका गरिएको छ। तर बोर्डका अधिकारीहरूले सम्भव भएसम्म वैदेशिक रोजगारीको क्रममा निधन भएकाको शव चाँडोभन्दा चाँडो परिवारको जिम्मा लगाउने बताएका छन्। 

रोजगारीको क्रममा मृत्यु भएकामध्ये अन्य मुलुकको तुलनामा साउदी अरेबियामा शव प्राप्त गर्न ढिलो हुने गरेको छ। कतिपय रोजगारदाताले शव पठाउन आलटालसमेत गर्ने गरेका अधिकारीहरू बताउँछन्। अहिलेसम्मको विवरण अनुसार रोजगारीको क्रममा सबभन्दा बढी नेपाली मलेसियामा मृत्यु हुने गरेका छन्। ‘श्रम स्वीकृति लिने र मृत्यु पनि धेरै मलेसियामा नै हुने गरेको छ,’ बोर्डका कर्मचारीले भने, ‘वैदेशिक रोजगारीको क्रममा निधन भएका संख्या हेर्दा सुरक्षाका थुपै्र काम गर्न आवश्यक देखिन्छ।’ बोर्डले सुरक्षित वैदेशिक रोजगारी तथा मृत्यु र अंगभंग हुनेलाई सहायता प्रदान गर्न विदेश जानुअघि हरेकसँग एक हजार पाँच सय र दुई हजार पाँच सय रूपैयाँ (श्रम स्वीकृतिको अवधिको आधारमा) संकलन गर्ने गर्छ, जुन शुल्क बढेर यतिखेर करिब साढे पाँच अर्ब रूपैयाँ पुगेको छ। सोही रकमबाटै बोर्डले विदेशमा निधन भएका व्यक्तिका परिवारलाई सात लाख रूपैयाँ र घाइते वा बिरामीको उपचार गर्न सात लाख रूपैयाँसम्म आर्थिक सहायता प्रदान गर्छ। 

तर पीडितहरू बोर्डले अझै पनि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन खासै पहल गर्न नसकेको गुनासो गर्ने गर्छन्। गन्तव्य मुलुकमा कार्यस्थल र बासस्थान तथा सडक दुर्घटनामा परी ठूलो संख्याका युवायुवतीले ज्यान गुमाउने गर्छन्। वैदेशिक रोजगारीमा जानुअघि स्वास्थ्य परीक्षण गरेका कैंयनको विदेश गएको केही महिनामै हर्टअट्याक जस्ता समस्याबाट निधन हुने गरेको छ। कैयौंले बस्ने कोठाको एसी चलाउन नजानेरै ज्यान गुमाउने गरेका छन्। चिकित्सकहरू विदेश जानेलाई सुरक्षासम्बन्धी सामान्य जानकारी दिने हो भने पनि सुरक्षित राख्न सकिने बताउँछन्। वैदेशिक रोजमारीमा जानेमध्ये अधिकांशको उमेर १८ देखि ३९ वर्ष हुने भएकाले उनीहरूको मृत्यु सहजै हुन नसक्ने चिकित्सकहरूको भनाइ छ। तर विगत लामो समयदेखि कैंयन युवायुवतीको सामान्य कारणले नै मृत्यु भएका घटना सार्वजनिक हुँदै आएका छन्। 

बोर्डका अनुसार चालु आर्थिक वर्षको साउनयता रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेका ६ सय ३० को निधन भएको छ। कोरोना महामारीपछि वैदेशिक रोजगारीमा जानेको सँगै फर्कनेको संख्या पनि कम छ। रोजगारदाता मुलुकले मागपत्र नपाउँदा वैदेशिक रोजगारीमा जानेको संख्या कमी आएको हो भने फर्कनलाई सुरुमा हवाई उडानको समस्या भएको थियो भने पछिल्लो समयमा रोजगारदाताले विदा दिन कडाइ गर्दै आएका छन्। 

मलेसियामा कार्यरत स्याङ्जाका उमेश गिरीका अनुसार भीडभाड कम गर्न रोजगारदाताले नयाँ कामदार बोलाउन थालेका छैनन्। ‘नयाँ कामदार नबोलाएपछि धेरैले पुरानैबाट काम चलाउन खोजिरहेका छन्,’ उनले भने। महामारीका कारण कतिपयको रोजगारी कटौती भए पनि उनीहरूसमेत बाध्यतामै बस्नु परेको उनको भनाइ छ। पहिलो चरणको महामारीयता करिब साढे चार लाख विदेशबाट फर्किएका छन् भने एक लाखजति वैदेशिक रोजगारीमा गएका छन्। मंसिरयता वैदेशिक रोजगारीमा जानेको संख्या पुनः बढ्न थालेको थियो। तर बिहीबार मध्यरातिदेखि पुनः अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएपछि विदेश जाने र फर्कनेलाई समस्या भएको छ।

Published on: 10 May 2021 | Nagarik

Link

Back to list

;