s

विदेशमा मृत्यु भएकाको शव ल्याउनै समस्या

तुलसी सुवेदी

काठमाडौं : वैदेशिक रोजगारीमा निधन भएका शव ल्याउन समस्या भएको छ। कोरोना भाइरस (कोभिड १९) का कारण अधिकांश देश लकडाउन (बन्दाबन्दी) भएका कारण शव ल्याउन समस्या भएको हो। 

वैदेशिक रोजगार बोर्डका अनुसार साउदी अरवबाट शव ल्याउन समस्या भएको छ। बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार चार्टर्ड उडानका कारण साउदीबाट शव ल्याउन समस्या परेको हो। ‘व्यवसायिक उडान सुरु हुनासाथ सबै शव ल्याइसक्छौ’ उनले भने। कोभिडका कारण अन्तर्राष्ट्रिय उडान सुरु नभएका कारण अन्य देशको तुलनामा साउदीबाट शव झिकाउन समस्या भएको हो।

सरकारले गत जेठ ३२ गतेदेखि चार्टर्ड उडानमार्फत वैदेशिक रोजगारीमा अलपत्र परेका कामदारलाई स्वदेश फकाईरहेको छ। बोर्डको अध्ययन अनुसार चार लाख कामदार कोभिडका कारण फर्कन सक्ने बताइएको थियो। त्यसमध्ये ३८ हजार कामदार स्वदेश फर्किसकेका छन्।

सरकारले उक्त चार्टर्ड उडानमा शव पनि ल्याइरहेको छ। तर समयमै शव ल्याउन सरकारलाई सकस परिरहेको छ। लकडाउनका अवधिमा निधन भएका चार सय ९७ जनाको शवमध्ये अझै ७६ शव ल्याउन सकिएको छैन। साउदीमा मात्रै ५६ वटा शव छन्। बोर्डका अनुसार संयुक्त अरब इमिरेट्स(यूएई) बाट ५, कुवेत र दक्षिण कोरियाबाट २÷२, कतार र बहराइनबाट १÷१ शव ल्याउन बाँकी छ।

चैैत्र यता वैदेशिक रोजगारीमा ४ सय ९४ जनाको ज्यान गएको छ। त्यसमध्ये दुई सय ४६ वटा शव नेपाल ल्याई परिवारलाई बुझाएको छ। एक सय ७२ शव परिवारको सहमतिमा गन्तव्यस्थलमै अन्तेष्टि गरिएको छ।

बोर्डका अनुसार चैत्र यता मलेसियामा ९२, साउदी अरबमा एक सय ७३, कतारमा ७७, यूएईमा ८३, कुवेतमा १५, बहराइनमा ११, ओमान २, दक्षिण कोरिया ८ र अन्य देशमा २३ जनाको निधन भएको छ। १५ जना महिलाको निधन भएको छ भने चार सय ७९ जना पुरुषको निधन भएको हो।

बोर्डले आर्थिक वर्ष २०७६/७७ मा ६ सय ६५ मृतकका परिवारलाई आर्थिक सहायता वितरण गरेको छ। मृतकका परिवारलाई ४१ करोड १४ लाख ४९ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। गत आर्थिक वर्षमा निधन भएका चार सय ९४ जनाका परिवार भने यस आर्थिक वर्षमा आर्थिक सहायता पाउने छन्।

बोर्डले अंगभंग तथा बिरामी भएका दुई सय ४४ जनालाई ६ करोड ४४ लाख ४५ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। बोर्डल वैदेशिक रोजगार छात्रवृति, शव झिकाउन, औषधि उपचार, अभिमुखीकरण लगायत मृतकका परिवार र अंगभंग भएकालाई गरी गत आर्थिक वर्षमा ५२ करोड २३ लाख ३३ हजार दुई ९६ रुपैयाँ खर्च गरेको जनाएको छ।

Published on: 7 August 2020 | Annapurna Post

Link

Back to list

;