s

विदेशमा मृत्यु भएकाको बिमा रकम ठगीका गिरोह बोर्डकै कर्मचारी

काठमाडौँ — वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाको बिमा रकम ठगीका गिरोह वैदेशिक रोजगार बोर्डकै कर्मचारी भएको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले वैदेशिक रोजगारको शिलशिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बिमा रकम मिलाइदिने भन्दै ठगी गर्ने गिरोहका थप दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा (कम्प्युटर अपरेटर) अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घरभई काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने ३६ वर्षीय पशुपति अधिकारी र सूर्यज्योति जीवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँका ३० वर्षीय उमेश बुढाथोकी छन् ।

कार्यालयबाट खटिएका प्रहरी टोलीले अधिकारीलाई शुक्रबार काठमाडौं–११ बाट र बुढाथोकीलाई शनिबार भक्तपुर नगरपालिका–१० कमलविनायकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको जनाएको छ ।

प्रहरीले वैदेशिक रोजगारको शिलशिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बिमा रकम मिलाइदिने भन्दै ठगी गर्ने गिरोहका काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१२ का ४१ वर्षीय रामबहादुर तामाङ सहित ६ जनालाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो ।

उनीहरुले वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका, बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमा बापत पाउने कम मृतकका आफन्तहरुलाई दिलाई दिन्छु भनी ठगी गरेको पाइएको छ ।

बिमावापत पीडित परिवारले १३ लाख रुपैयाँ पाउनुपर्नेमा, गिरोहले ५ लाख रुपैयाँ मात्रै दिलाएर आफूहरुले ७ लाख रुपैयाँ लिएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘जब विदेशमा मृत्यु भएकाको शव विमानस्थलमा भित्रिन्छ, त्यसपछि गिरोहका व्यक्तिहरु परिवारसँग नजिक हुने गर्छन्, परिवारसँग नजिक भई उनीहरुले बिमा रकम दिलाइदिने बताउँछन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी डा. मनोज कुमार केसीले भने, ‘पीडितको घरमै पनि पुगेर बिमाको सम्पूर्ण डकुमेन्ट मिलाइदिने र बिमा रकम आइसकेपछि ठगी गरेको पाइन्छ ।’

बिमाको केही रकम मात्र आफन्तलाई दिई बाँकि रकम लिई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा कार्यालयले विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए । प्रहरीले विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका कागजातहरु सहित ७४ थान डकुमेन्ट बरामद गरेको एसएसपी केजीले बताए ।

Published on: 10 April 2023 | Kantipur

Link

Back to list

;