s

विदेशमा मृत्यु र अङ्गभङ्ग हुनेलाई आर्थिक सहायता स्थानीय तहबाटै

सीता शर्मा

सरकारले विदेशमा मृत्यु भएका परिवारका सदस्य र अङ्गभङ्ग भएर फर्किएका पीडितलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको छ । आर्थिक सहायताका लागि राजधानीस्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा आउनुपर्ने अहिलेको अवस्थालाई सहज बनाउन सरकारले स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको हो ।

बोर्डले स्थानीय तहको समन्वयमा आर्थिक सहायता निर्देशिका –२०७५ मस्यौदा तयार गरेर अन्तिम रूप दिएर स्वीकृति गर्न मन्त्रालयलमा पठाएको छ । उक्त निर्देशिका स्वीकृत भएर आएपछि स्थानीय तहबाट सहायताबापतको रकम दिन शुरु गरिने बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सहायता प्रदान गर्ने निर्देशिका मन्त्रालयले अन्तिम रूप दिएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी भएको बताउनुभयो । उहाँले आर्थिक सहायतालाई सहज बनाउन बोर्डले एकै पटक ७५३ स्थानीय तहबाट उपलब्ध गराउन नसके पनि चरणवद्ध रूपमा शुरु गर्ने तयारी भएको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक श्रेष्ठले आउँदो आर्थिक वर्षबाट निर्देशिकाअनुसार केही स्थानीय तहबाट आर्थिक सहायता रकम वितरण गरिने पनि जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशिका कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएकाको परिवारका सदस्य र अङ्गभङ्ग भएर फर्किएका व्यक्तिले आर्थिक सहायता लिन काठमाडौँसम्म धाउनुपर्ने छैन । श्रेष्ठले एक वर्षभित्र सबै स्थानीय तहबाट पीडित परिवार आर्थिक सहायता वितरण गरिसक्ने गरी तयारी गरेको बताउनुभयो ।

वैदेशिक रोजगार नियमावलीअनुसार रोजगारको करार अवधिभित्रमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डबाट सात लाख रूपियाँ आर्थिक सहायता पाउँछन् । त्यसको लागि मृत्यु भएको एक वर्षभित्र निवेदन दिएमा ज्यान गएका व्यक्तिका परिवारलाई बोर्डले एकै दिनमा चेक दिने व्यवस्था गरेको छ । अङ्गभङ्ग भएका व्यक्तिको हकमा पनि करार अवधिभित्रै अङ्गभङ्ग भएर फर्किएका व्यक्तिले अपाङ्गताको अवस्थाका आधारमा आर्थिक सहायता रकम प्राप्त गर्न सक्छन् । त्यसका लागि पीडित व्यक्ति वा परिवारले चिकित्सकले अङ्गभङ्ग भएको अवस्थाबारेमा प्रमाणित गरेको कागजका आधारमा बढीमा सात लाख रूपियाँ सहायता रकम प्राप्त गर्नसक्ने व्यवस्था छ ।

वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले आर्थिक सहायता पाउन विदेशको करार अवधि बाँकी नै रहेको प्रमाणित हुने कागजातको प्रतिलिपि, मृतकको राहदानीको प्रतिलिपि, विवाहित भए श्रीमान् श्रीमतीको नाता प्रमाणित हुने कागजात, अविवाहित भए अभिभावकसँग नाता खुल्ने कागजातसहित निवेदन दिनुपर्छ ।

Published on: 20 February 2019 । Gorkhapatra

Back to list

;