s

विदेशमा कामदार स्वदेशमा व्यवसायी

वसन्त पराजुली 

भरतपुर, माघ २५ गते । तीन वर्षसम्म वैदेशिक रोजगारीमा रहँदा बुद्धिबहादुर गुरुङले खासै आम्दानी गर्न सक्नुभएन । विदेशमा कमाएको पैसाले विदेश जाँदा लिएको ऋण तिर्नु त कता हो कता घर खर्च पनि नपुग्ने भएपछि वैदेशिक रोजगारी छाडेर नेपाल फर्कनुभयो ।

तीन वर्षको कतार बसाइबाट फर्केर २०७१ सालबाट उहाँले सुरु गरेको बाख्रापालन अहिले पश्चिम चितवनकै लागि नमुना बाख्रा फार्म बनेको छ । भरतपुर महानगरपालिका–१८ निवासी गुरुङको व्यावसायिक सफलता उदाहरणीय बन्दै गएको छ ।

“सुरुमा १० वटाबाट बाख्रा पाल्न सुरु गरेको हुँ । अहिले ५० वटाभन्दा बढी भइसकेका छन् । सयवटा पु¥याउने मेरो लक्ष्य हो,” उहाँले भन्नुभयो, “कतारमा हँुदा कमाउन नसकेको पैसा मैले नेपालमै बसेर कमाउन सकेको छु । पैसा कमाउन घरपरिवार सबै छाडेर विदेश नै जानुपर्छ भन्ने मलाई अहिले लाग्दैन । ”

बुद्धिको खोरमा अहिले बोयर जातका बाख्रा छन् । उहाँ अहिले माउ र ब्याडे बोका तयार गरेर किसानलाई बिक्री गर्नुहुन्छ । तिनको बिक्रीबाट अहिले वार्षिक छ÷सात लाख रुपियाँ सहजै आम्दानी भइरहेको उहाँको भनाइ छ ।

“बाख्रा हाम्रा बाउबाजेदेखि पाल्दै आएको जनावर हो । त्यति हो, यसलाई अलिकति व्यावसायिकता दिएको मात्रै हो,” उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिका–२० का हिमलाल महतो पनि झन्डै दुई लाख रुपियाँ खर्च गरेर इराक जानुभयो तर इराकमा २०६६ सालपछिका साढे तीन वर्ष व्यर्थ भएको उहाँको अनुभव छ । इराकमा बस्दाका दिन सम्झेर अहिले पछुतो गर्दै उहाँ भन्नुहुन्छ, “गर्नेलाई नेपालकै माटोमा सुन फल्छ । ”

महतोले नेपाल फर्किएपछि तीन बिघा जमिनमा तरकारी खेती गर्नुभएको छ । एक बिघा उहाँको आफ्नै हो भने थप दुई बिघा क्षेत्रफल भाडामा लिनुभएको हो । सिजनअनुसारका आलु, बोडी, घिरौँला, चिचिन्डा, करेला, काँक्रोलगायतका तरकारी उत्पादन गर्नुहुने महतो आफूले वार्षिक सात÷आठ लाख रुपियाँ आम्दानी गरिरहेको बताउनुहुन्छ । अहिले कमाएको पैसा विदेश बस्दाभन्दा धेरै भएको उहाँको भनाइ छ ।

“हामी विदेश विदेश भन्छौँ, विदेशमा पनि बोटमा पैसा टिप्न पाइने कहाँ हो र ? विदेशमा गर्ने परिश्रम र विदेश जाँदा लाग्ने खर्च यही गर्ने हो भने विदेशमा कमाउनेभन्दा यतै धेरै कमाउन सकिन्छ,” उहाँको भनाइ छ, “कम से कम परिवारसँग बसेर छोराछोरीसँग खेलेर रमाइलो पाराले दिन कटाउन पाइयो भने भैगो नि किन चाहियो धेरै पैसा । ”

उहाँ थप्नुहुन्छ, “भारतीय बेरोजगार नेपालमा कवाडीका समान बेचेर लाखौँ कमाइ रहेका छन् । हामी भने ठूलो भाग खोज्न विदेश जान्छौँ । यो हाम्रो कमजोरी हो, हाम्रो गल्ती यहीँ छ । ”

काम गर्न नलजाउने हो भने नेपालमै सानो सानो काममा राम्रो आम्दानी भएको उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, “अहिले चोकमा चनाचटपट बेच्नेले पनि दिनमा दुई÷चार हजार कमाउँछ । जुत्ता सिलाउनेले पनि पैसा कमाउँछ । त्यति हो काम गर्न लजाउन र डराउनु हुँदैन । ”

भरतपुर–१८ का भरतमणि अधिकारी पनि चार वर्ष मलेसिया र १४ वर्ष अरबको होटलमा वेटरको काम गर्नुभयो । अहिले उहाँ नेपाल फर्केर आफँै होटल सञ्चालन गर्दै हुनुहुन्छ । सानो व्यवसायबाट सुरु गर्नुभएका उहाँको अहिले २० लाख लगानी थपेर ल्यालिना रेस्टुरेन्टको विस्तार गर्दै हुनुहुन्छ ।

“विदेश बसेर भविष्य बन्दैन । तागत हुँदा हाइहाई हो पछि बूढेसकालमा बाइबाई हुन्छ । त्यसैले आफ्नै देशमा केही गरौँ भन्ने योजनाले नेपाल फर्किएर होटल सञ्चालन गर्न थालेँ,” उहाँले भन्नुभयो ।

विदेश बस्दा आफूलाई मासिक ५० हजार कमाउन हम्मेहम्मे भएको तर अहिले सानो होटलबाटै एकदेखि डेढ लाख रुपियाँसम्म कमाइ गरिरहेको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “जन्मथलोको परिवेशमा रमाउँदै वैदेशिक रोजगारीको १८ वर्षे अनुभव सम्हाल्दै अहिले यहाँ व्यवसाय गर्दै गरेको छु । ”

पैसा कमाउन विदेश नै हानिनुपर्छ भन्नेका लागि बुद्धिबहादुर, हिमलाल र भरतमणि नेपालमै सफल कृषि उद्यमी बन्न सकिने उदाहरण दिँदै हुनुहुन्छ । उहाँहरूजस्तै वैदेशिक रोजगारीबाट फर्केर यता आत्मनिर्भर व्यवसाय गर्ने युवाको सङ्ख्या बढ्दो छ ।

तर त्यस्तो सङ्ख्या यति नै छ भन्ने यकिन तथ्याङ्क भने कतै भेटिँदैन । भरतपुर महानगरमा रहेको एक तथ्याङ्कअनुसार गत वैशाखयता विभिन्न देशमा काम गर्न गएका २१२ जना युवा स्वदेश फर्किएका छन् ।

यसरी स्वदेश फर्किएकामध्ये कतिले आफ्नै स्वरोजगारी अपनाएका छन् भने कति घरगृहस्थीमा लागेका छन् । केही चाहिँ बुद्धि र हिमलाल जसरी नै विभिन्न पेसा–व्यवसायमा लागेका छन् । महानगरका अधिकृत तुलसी श्रेष्ठ विदेशमा बसेर सीप सिकेर फर्केका कतिपयले आफूले जानेकै पेसा अपनाइरहेको बताउनुहुन्छ ।

“विदेश जानेले पनि उतै सिकेर आएको सीप पनि यता कार्यान्वयन गरेको पनि पाइयो,” उहाँले भन्नुभयो ।

Published on: 7 February 2021 | Gorkhapatra

Link

Back to list

;