s

'विदेशमा जसरी पनि सफल हुनुपर्छ भन्ने बोझ नै डिप्रेसनको कारक'

पेरिस — बेलायतमा रहेका नेपालीका साथै युरोपमा रहेका आप्रवासी नेपालीहरूमा बढ्दै गएको मानसिक स्वास्थ्यबारे बेलायतको सरी काउन्टीस्थित एनएचएस फाउन्डेसन ट्रस्टमा सन् २०१८ देखि मनोचिकित्सकका रूपमा कार्यरत डा. विजय भण्डारीसँग कान्तिपुरका लागि ददि सापकोटाले गरेको संक्षिप्त कुराकानी :

किन आप्रवासी नेपालीमा डिप्रेसन धेरै देखिएको छ ?

हरेक वर्ष नेपाली विदेसिने क्रम बढेको छ । हरेक वर्ष कम्तीमा १० प्रतिशतले विदेसिने नेपालीको संख्या बढिरहेको छ । मानसिक स्वास्थ्यमा केन्द्रित हुँदा विदेसिनेको संख्या बढेकोले पनि बढेको देखियो । अर्को विश्वभर नै मानसिक स्वास्थ्यबारे चेतना बढेको छ । पहिले यो रोग बारे मिडियामा आउँथेन । व्यक्तिगत रूपमा पनि खुलेर भन्न हिच्किचाउँथे मानसिक स्वास्थ्य समस्याबारे । भए पनि बाहिर कसैले थाहा नपाओस् भनेर अलिकति गोप्य रूपमा उपचार गर्थे । लाज र डरको कारणले । बुझाइमा कमी थियो । त्यसमा सुधार हुँदै छ ।

नेपाली आप्रवासी समुदायमा डिप्रेसन बढ्नुको मुख्य कारणहरू के-के हुन्?

पहिलो त नेपालीहरू ठूलो सपना बोकेर विदेशिन्छौं । नेपालमा केही गर्न सकिनँ, आर्थिक उन्नति गरौं भनेर विदेसिन्छन् । अर्काको देश आफ्नो जस्तो हुन्न । विभिन्न हन्डर ठक्कर खाँदै, संघर्ष गरेर सेटल हुन समय लाग्छ । सुरुमा विदेश जाँदा महत्त्वाकांक्षी हुन्छन् । नयाँ ठाउँ, नयाँ परिवेश देख्छौं, आशा बढ्छ, नयाँ मान्छे भेटिन्छ, के-के न गर्छु भनेर उत्साहित हुन्छन् । रहँदा बस्दा आशा गरेअनुसारको सफलता सबैलाई मिल्दैन । मुड डाउन, बेक्कार आएछु कि जस्तो हुन्छ । ऊर्जा कम हुँदै जान्छ । त्यसलाई हनिमुन काल जस्तो भन्छु । सबै कुरा ठीक छ, नयाँ जिन्दगीको सुरुवात जस्तो लाग्छ । तर भने जस्तो सधैं हुन्न । त्यसले असर पर्छ ।

अर्को कुरा २०, २१ वर्षसम्म बाबुआमा, संस्कृति, दाजुभाइसँग जसरी बसेको हुन्छ त्यो सबै छोडेर जानु भनेको एउटा ठूलो बलिदान हो । त्यो बलिदानको बदलामा के पाएँ त भनेर सोच्दा त्यो अनुसार त पाउँदैनन् । त्यसले पनि निराशा बढाउँछ । आत्मग्लानी, गल्ती गरेजस्तो, पश्चाताप गराउँछ ।

नेपालमा बस्नेको पनि प्रगति नहुने त होइन, कतिले गरेका छन् । ओहो नेपालमा बसेको भए हुने रहेछ, उतै राम्रो हुने रहेछ, न आउनु आइसकियो अब छोडेर जान पनि मिल्दैन । समाजले के भन्ला भनेर दु:ख गरौं भनेर निरन्तरता दिने प्रवृत्ति छ । हिनताबोध हुने, आत्मसम्मानमा कमी आउने हुन्छ ।

अर्को सांस्कृतिक कुरा हो जस्तो लाग्छ । नेपालमा चाडपर्वले सहयोगी भूमिका खेलिरहेको हुन्छ । साथीभाइ, आफन्त भेटघाट हुने, दशैं, तिहार, ल ल्होसार, फागु, एकादशी, तिहार, तीज, जनैपूर्णिमा आदि साना साना पर्व पनि मजाले मनाउने गर्छौं । त्यो विदेशमा सम्भव छैन । यहाँ त नजिकको साथी पनि तीन चार हप्ता कुरेर, मिति तोकेर भेट्नुपर्ने हुन्छ । त्यसले गर्दा जिन्दगी एकदमै निरस हुन्छ ।

सुरुमा आउनेले सबै कुरा पैसाको हिसाबले हेर्नु पर्ने बाध्यता छ । एक दिन छुट्टी लिएँ भने यति घाटा लाग्छ भनेर सोच्नुपर्छ । दिनरात नभनी काम गर्नुपर्‍यो । सुन्दा सानो कुरा लाग्छ । तर आफूलाई बानी परेको, मिठो लागेको खाना खान पाइन्न । मन परेको मान्छेसँग भेट्न पाइन्न । पैसा वा समयको कमीले मन परेको ठाउँ जान पाइन्न । यस्ता सानासाना कुरा थुप्रिँदै गएर अन्तिममा तनाव बढ्ने रहेछ ।

धेरैजसोले त ऋण नै गरेर आएका हुन्छन् । घरजग्गा धितो राखेर, बेचेर पनि आएका हुनसक्छन् । त्यो अनुसारको आम्दानी नहुँदा गाह्रो हुन्छ । विदेशमा कागजमा पैसा त धेरै देखिन्छ तर कर, खर्च धेरै हुन्छ । पैसा बचाउन एकदमै गाह्रो हुन्छ । कमाउने एउटा ठाउँ हुन्छ खर्च गर्ने १० ठाउँ हुन्छ, त्यसले गर्दा बचाउन गाह्रो हुन्छ । त्यसैले आर्थिक रूपमा स्थिर हुन, सुरक्षित बन्न एकदमै समय लाग्छ ।

कतिपय आप्रवासी एकै घरमा गैरकानुनी रुपमा पनि बस्छन् । पैसा बचाउन तोकिएभन्दा बढी खाँदिएर बस्छन् । त्यसले पनि जिउने स्तर एकदमै घट्छ । गोपनीयता, स्वतन्त्रता हुन्न । यस्तै साना कुराले तनाव बढाउँछ, असन्तुष्टि बढेर जान्छ ।

हामी त अल्पसंख्यकमा पर्छौं, विदेशमा आउनेबित्तिकै त्यहाँको रैथाने समूह हुन्छ । एक त भाषा मिल्दैन, रङ, जिउडाल मिल्दैन । फरक जातिमा पर्छौं । भेदभाव लुकेको रूपमा हुने रहेछ । डिप्रेसन वंशाणुगत छ भने त्यो व्यक्ति बढी संवेदनशील हुन्छ । त्यसले गर्दा मानसिक स्वास्थ्यको समस्या धेरै देखिन थालेको हो अहिले ।

आफूलाई मानसिक समस्या छ भनेर कसरी थाहा पाउने ?

कुनै पनि रोगको उपचारभन्दा त्यसलाई रोकथाम र बढ्न नदिनु नै ठूलो कुरा हो । मानसिक रोगको लक्षण चिन्न नसक्नु नै एउटा ठूलो जोखिम हो । मान्छेलाई तनाव हुन्छ, को सित कहने ? मान्छे हुँदैन । लामो समयसम्म (दुई हप्ता भन्छौं) तनाव भइराख्यो, केहीमा पनि खुसी लागेन, बिहान उठ्नासाथ मन उदास भइराखेको छ, पहिले खुसी लाग्ने कुरामा पनि अहिले खुसी लाग्दैन, शरीरमा शक्ति नै हुन्न, केही गर्न पनि मन लाग्दैन र शरीर थाकेको जस्तो हुन्छ, कसैलाई निन्द्रै नलाग्ने त कसैलाइ धेरै नै निन्द्रा लागेर सुतिराख्न मात्रै मन लाग्ने हुन्छ । यी डिप्रेसनका प्रमुख लक्षण हुन् ।

एन्जाइटीमा भने मन आत्त्तिरहने, बाहिरका मानिससित बोल्न हिच्किचाहट हुने र एकदमै डर लाग्ने, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो भएर सास नै अड्किने हुन्छ नि । त्यो हुँदाहुँदै गम्भीर मानसिक समस्या परेपछि बिनाकारण डर लाग्ने, कसैले मलाई पिछा गरेको छ कि भन्ने लाग्ने । मेरो फोन रेकर्ड गरिरहेको छ कि ? जस्तो लाग्ने हुन्छ । यो समस्या धेरै जसो कागजपत्रविहीन भएर गैरकानुनी रूपमा बसिरहेकाहरूमा बढी हुने देखिएको छ ।

अरु मानिसले कसैलाई यस्तो समस्या भएको हुनसक्छ भनेर कसरी थाहा पाउने ?

कुनै पनि व्यक्तिको व्यवहारमा कसरी परिवर्तन आइरहेको छ भनेर याद गरियो भनेर सजिलो हुन्छ । दिनदिनै गरिरहेको काममा जान छाड्यो, स्कुल, कलेज जाने मान्छे त्यो छोड्यो । सामाजिक भेटघाटमा पनि पहिले आउने मान्छे आउन छोड्यो । नकारात्मक कुरा धेरै गर्न थाल्यो । उसको जीवनमा सकारात्मकता छैन, धेरै गुनासो (कम्प्लेन), विरोध गरेर बोल्ने, आफूलाई निकै तल राख्ने, धेरै नै नकारात्मक कुराहरू गर्न थाल्यो । सामान्यत: व्यवहार परिवर्तित भएर फरक व्यवहार देखाउन थाल्यो भने । बोलचाल नै बन्द गरी दिन पनि सक्ला । कसलाई विश्वास गर्छ, कसका कुरा सुन्छ र पत्याउँछ भन्ने महत्त्वपूर्ण हुन्छ । त्यस्ता मान्छेको मानसिक अवस्था एकदमै संवेदनशLल हुन्छ । त्यसैले धेरै नै होस् पुर्‍याएर सोध्ने, निकट भएर बुझ्ने गर्नुपर्छ ।

नेपालबाट जति बाहिर निस्किन्छन् तिनमा चेतनाको अभाव छ जस्तो लाग्दैन ?

पक्कै पनि डिप्रेसनलाई कसरी व्यवस्थापन गर्ने वा सुल्झाउने भन्ने चेतनाको अभाव त देखिन्छ नै । एउटा त मानसिक स्वास्थ्यको लक्ष्णहरू चिन्न नसक्नु नै समस्या भयो । त्यसले गर्दा उपचारका लागि सम्बन्धित ठाउँमा जान ढिला हुनसक्छ । कोही पनि विदेश आएपछि त्यहाँको पद्धति बुझ्न समय लाग्छ । काम कसरी गर्ने, कसरी पढ्ने, काममा के कसरी हेलमेल हुने, बोल्ने भनेर बुझ्न त समय लाग्छ नि । बिरामी भयो भने त डाक्टरकोमा जान सकिन्छ । तर तनाव भए पनि डाक्टरकोमा जान मिल्छ भनेर कतिलाई थाहा नहुनसक्छ । कतिले काम गरिराखेका हुन्छन् । मलाई तनाव, डिप्रेसन भयो भनेर डाक्टरले लेखिदियो भने मैले काम गर्न नपाउने पो हो कि भन्ने पनि सोच्छन् । मैले कैयौं दिन छुट्टी लिएर पो बस्नुपर्ने हो कि ? त्यसले गर्दा पैसा कमाउन सकिन्न । जे सोचाले आएका हुन्छन् त्यो काम गर्न सकिएन। त्यसले गर्दा पनि सम्बन्धित ठाउँमा जानका लागि अलिकति ढिला हुनसक्छ । त्यसो हुँदा समस्या झन बढ्ने नै भयो ।

कसरी बच्ने त ?

जुन-जुन देशमा नेपालीहरू हुनुहुन्छ । आफू बसेको देशमा के कस्तो स्वास्थ्य पद्धति, सेवा छ, मानसिक स्वास्थ्यका बारेमा भनेर बुझ्नुपर्छ । सुरुमै डाक्टरकहाँ जानुपर्छ भन्ने पनि छैन । कतिपय परामर्श नि:शुल्क पनि हुन्छ, यद्यपि कहिलेकाहीँ पालो कुर्नुपर्ने पनि हुन्छ । गम्भीर अवस्थाका लागि छिटोछरितो पनि हुन्छ । त्यो कुराको जानकारी राख्नुपर्छ ।

Published on: 12 October 2023 | Kantipur

Link

Back to list

;