s

विदेशमा बन्धक जीवन

खिलानाथ ढकाल

मनकुमारी ढुंगेल चार महिनादेखि श्रीमानको मुक्तिका लागि छट्पटाइरहेकी छन्। तीनवर्षे छोरी च्यापेर भौंतारिन्छिन्। आज आउँछन् कि भोलि भनेर बाटो हेर्छिन्। तर, श्रीमानको फर्कने ठेगान छैन।

कमाएर सुख दिन्छु भन्दै साउदी अरब पुगेका इन्द्रपुर-२ मोरङका होमनाथ ढुंगेल उतै बन्धक बसेको चार महिना पुग्यो। कारण थाहा छैन। काम गर्दा कुनै गल्ती गरेजस्तो लाग्दैन रे। तैपनि बिनाकारण विदेशको अकल्पनीय ठाउँमा एउटै कोठाभित्र कोचिएर बस्नुपर्दा त्रसित भएको उनले परिवारलाई फोनमा बताएका छन्।

ढुंगेलसँगै विराटनगरका अमदकुमार कार्की, झापा गौरादहका हेमराज कार्की र खोटाङ दिक्तेलका भीमराज कटवाल पनि अरबको देहात क्याम्पमा भोकभोकै दिनरात काटिरहेका छन्। खानेबस्ने सुविधासहित मासिक २० हजार रुपैयाँ पाउने सहमति गरेर दुई वर्षअघि साउदी अरब गएका यी नेपाली युवालाई त्यहाँको अल्वातल नामक क्लिनिङ कम्पनीले बन्धक राखेको हो। कम्पनीदेखि झन्डै ३ हजार किलोमिटर टाढाको एउटा क्याम्पमा बन्धक यी चार नेपाली युवा सकुशल नेपाल फर्किन चाहन्छन्। तर, उद्धार गरिदिने कोही छैन। आफन्तलाई नेपाल फर्काइदिन बारम्बार फोनमा रोइकराइ गर्छन्। परिवारका सदस्य म्यानपावर कम्पनीसँग गुहार मागिरहेका छन्। म्यानपावर कम्पनी गरिब परिवारमा परेको चोटमा मलहम लगाउनुको साटो उल्टै 'केही भएको छैन' भन्दै नुन छर्छ।

'फोन गर्दा खानै पाइनँ, भोकैतिर्खै बसिरहेका छौं भनेर सुनाउनुहुन्छ,' मनकुमारी भावुक भइन्, 'कसरी फर्किने भनेर बिलाप गर्नुहुन्छ।'
...
विदेश उड्न लाग्दा होमनाथले भनेका थिए, 'अब सुखका दिन आउँछन्, चिन्ता नगर्नू।'
सयकडा अढाई रुपैयाँका दरले साहुबाट एक लाख रुपैयाँ ऋण काढेर उनी विदेश गए। अहिलेसम्म ५० हजार रुपैयाँ मात्र पठाएका छन्। साहुको आधा ऋण बाँकी नै छ।

१० धुर जमिनमा रहेको एउटा घरबाहेक उनीहरूको केही छैन। अधियाँ खेती गरेर परिवारको जीवन चलेको छ। बर्खे बाली लाउने बेला छोरा बन्धक भएपछि उनकै मुक्तिको निम्ति भौंतारिरहेका छन्, बाबु कृष्णप्रसाद।

'कस्तो छ अहिले?'

शुक्रबार २६ वर्षीय ढुंगेलको घर पुगेर त्यहीँबाट साउदीमा फोन गर्दा उनले भने, 'कमाउने सपना चकनाचुर भो, खान पनि दिएको छैन।'
'कहाँ हुनुहुन्छ त?'

'कम्पनीदेखि ३ हजार किलोमिटर टाढाको एउटा क्याम्पजस्तो ठाउँमा छौं।'

'कतिजना हुनुहुन्छ?'

'यहाँ हामी चारजना नेपाली छौं। ५०/६० जना अरू देशका कामदार हामीजस्तै बन्धक छन्, जोसँग अलिअलि पैसा छ त्यसैले किनेर बाँडिचुँडी खान्छौं।'

आफन्तलाई फोन गर्ने पैसा रहेनछ उनको मोबाइलमा। उनीसँग टेलिफोन सम्पर्क गर्न कृष्णप्रसादले पाँच सय रुपैयाँको प्रिपेड रिचार्ज कार्ड किनेका थिए।

'तीन/तीन महिनामा एकएक पटक सेलरी दिएको थियो,' होमनाथले भने, 'कम्पनीले परिचयपत्र पनि दिएको छैन।'
...
तीन भाइ छोरा। जेठा लक्ष्मीप्रसाद चार वर्षदेखि बहराइनमा वैदेशिक रोजगारीमै छन्। विदेश गए पनि त्यति कमाइ भएन। कान्छा भाइ केशव झापामा पढ्दै छन्। दाजुको एकल कमाइले परिवार धान्न गाह्रो पर्न थाल्यो। दाजुको कमाइ घर खर्चमै सकिन्थ्यो। सबैजना राम्ररी बस्ने घरसम्म बनाउन र अलिकति जमिन जोड्न पाए हुन्थ्यो भन्ने परिवारको इच्छा थियो। त्यही भएर होला, विपन्न परिवारका माइला छोरा होमनाथ विदेश जाने चक्करमा लागे। काठमाडौं नातेदारकहाँ गएका बेला नयाँ बानेश्वरको प्याराडाइज म्यानपावरसँग सम्पर्क भएछ। त्यहाँ उनीसँगै चारजना नेपाली विदेश जाने तरखरमा थिए।

क्लिनर पदमा खानबस्नसहित मासिक २० हजार रुपैयाँ पारिश्रमिक पाउने आश्वासन पाएपछि दंग परे। यो खबर सुनाउँदा परिवारले नाइँ भन्नै सकेनन्। हतारहतार कृष्णप्रसादले एक लाख ऋण काढेर बन्दोबस्त मिलाइदिए। विदेश गएर कमाउने सपना अधुरै रह्यो। कम्पनीले मासिक पारिश्रमिक दिन पनि आलटाल गर्‍यो। तीन महिनामा बल्लतल्ल एक महिनाको पारिश्रमिक दिन थाल्यो। यो क्रम दस महिनासम्म चलिरह्यो। उनीहरू 'देला नि, हेर्दै जाउँ' भन्ने आसमै बसिरहे। पछि त त्यो पनि दिन छाड्यो।

पैसा नभएपछि उनीहरूलाई गुजारा चलाउन मुस्किल भयो। कम्पनीसँग पैसाको ढिपी गर्न थालेपछि त्यहाँबाट उठाएर क्याम्पमा लग्यो।
उनले आफ्नो बन्धक जिन्दगी बताए, 'कम्पनीबाट कोही भेट्न आउँदैनन्। कसैसँग भेट्न पनि दिँदैन, साँघुरो कोठामा सुत्छौं, काम पनि दिइएको छैन। भोकभोकै आलसतालस बस्नुपरेको छ।'
'साहुको ऋण पछि तिरे पनि भइहाल्थ्यो, छोरो फर्काइदिए हुन्छ,' बाबु कृष्णप्रसादले भने, 'म्यानपावरले हप्काउँछ मात्रै, फर्काइदिने पहल गरिदिँदैन।'
...
एक महिना, दुई महिना गर्दै समय बित्दै गएपछि कृष्णप्रसाद आफ्नो पहुँच पुग्ने ठाउँ धाइरहेका छन्। फागुन ११ गते परराष्ट्र मन्त्रालय पुगेर निवेदन दिए। 'निवेदन दिएको महिना दिन नाघे पनि परराष्ट्रले छोरो फर्काइदिएन,' उनले भने, 'अब के गर्ने होला?'
युवा तथा खेलकुद राज्यमन्त्री गोपीबहादुर अछामी गाउँमै आउँदा उनलाई पनि यो कुरा सुनाए। अछामीले 'पहल गरिदिने' आश्वासन दिएको उनले बताए।

यति गर्दा पनि नभएपछि एउटा अपिल छपाएर छोरो नेपाल फर्काइदिने वातावरण मिलाइदिन गुहार मागिरहेका छन्। 'चार महिनादेखि कम्पनीले रोजगारमा सामेल नगराई बन्धकजस्तै बनाइराखेको र जीवन अत्यत्न दयनीय तथा जीवनमरणको अवस्थामा रहेकाले मेरो छोराको जीवन रक्षा गरिपाउँ'- उनको अपिलमा लेखिएको छ, 'होमनाथलाई नेपाल फर्काइदिएर म्यानपावर कम्पनीका एजेन्टलाई कारबाही गरिदिनुहुन अपिल गर्दछु।'

यो अपिल उनले स्थानीय एफएम रेडियोमा पुर्‍याइसकेका छन्। पत्रिका हेरेर फ्याक्स पनि गर्दा रहेछन्। दुई तीनवटा दैनिक पत्रिकामा अपिल फ्याक्स गरिसकेको कृष्णप्रसाद सम्झन्छन्। 'तर कुनै पत्रिकाले छापिदिएनन्,' उनी भन्छन्, 'लोकल एफएमका स्टेसनमा आफैं पुगेर दिएँ, खर्चमाथि खर्च भइरहेको छ।'

अँधिया कमाइबाट चलेको परिवारका घरमुली नै छोरालाई उद्धार गर्न गुहार माग्दै हिँड्दा खेतीपाती चौपट हुन थालेको छ। होमनाथकी आमा देवीमाया भन्छिन्, 'छोराले कमाएर ल्याउला भन्ने आस थियो। ऊ नै बन्धक भएपछि मुक्त गराउन धाउँदा ऋणमाथि ऋण बढिरहेको छ, यता गरिखाने बाटो बन्द हुन लागिसक्यो।'

होमनाथ लगायतलाई विदेश पठाउने कम्पनीका एजेन्ट जय खापुङ, कर्मचारीहरू ओम निरौला र तुलसा कार्कीले नेपाली युवाले 'बदमासी गरेर कम्पनीले कारबाही गरेकाले फर्काउन नसक्ने' भन्दै झपार्ने गरेको परिवारको गुनासो छ।
...
अमदकुमार कार्कीले तीन महिनासम्म फोन गर्न छाडेपछि कञ्चनबारी विराटनगरकी आमा बिन्दाले म्यानपावर कम्पनीमा सम्पर्क गरिन्।
'मरेको भए भन्देऊ, बाँचिराखेको भए सम्पर्क गरिदेओ,' बिन्दाले म्यानपावरसँगको कुराकानी बताइन्, 'बल्लतल्ल छोरो जीवितै रहेको थाहा पाएँ, त्यो पनि बन्धक अवस्थामा।'

उनी छोरो फर्किने आसमा बसिरहेकी छिन्। एकछिन खाली मुख बस्न नसक्ने छोरो भोकभोकै बसेको सुन्दा मन थामिएको छैन। 'कस्तो भो होला,' छोराको चिन्ताले सताइएकी बिन्दा भन्छिन्, 'श्रम मन्त्रालयमा उजुरी दिएँ, खोइ फर्किने छाँट छैन।'

श्रम मन्त्रालयमै उजुरी दिँदा पनि बन्धक छोराहरू फर्किने छाँट नदेखेपछि प्रहरीकहाँ भने गएका रहेनछन्।
...
काठमाडौंस्थित उक्त कम्पनीका एजेन्ट खापुङले भने नेपाली युवा बन्धक नभएको दाबी गरे। उनका अनुसार अल्वातल साउदीको सरकारी कम्पनी हो। सरकारी कम्पनी भएकैले ढिलो गरी पैसा दिने गरेको दाबीसाथ उनी भन्छन्, 'बन्धक बनाएको होइन, परिवारले बन्धक बनेको भनेर कराउन थालेपछि फर्काउन खोजिरहेका छौं। गभर्मेन्ट सेक्टरको कम्पनी भएकाले पैसा ढिलो भएको उताबाट जवाफ आएको छ।'
उनका अनुसार उक्त कम्पनीमा दुई वर्ष मात्र काम गर्न पाइन्छ। 'दुई वर्ष पूरा भएकाले बाँकी सेलरी दिएरै पठाउन उनीहरूलाई छुट्टै ठाउँमा

राखेको होला,' उनले भने, 'आफन्तले उजुरी दिएपछि वैदेशिक रोजगार विभागले स्पष्टीकरण मागेको थियो, नेपाल फर्काउन कम्पनीसँग कुरा भइरहेको छ।'

प्रहरीका अनुसार आफन्तले उजुरी दिए छानबिन गरी सम्बन्धित दूतावासमा जानकारी गराई बन्धक नेपालीको उद्धार गर्न सकिन्छ।
'आफन्तले उजुरी दिए हामी छानबिन गरी दूतावासलाई जानकारी गराएर उद्धारको पहल गरिदिन्छौं,' मोरङका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले भने, 'पछि पीडित आएर बन्धक बनाएको बयान दिनसके म्यानपावर कम्पनीविरुद्ध मुद्दा चलाउन सकिन्छ।'

Published on: 31 March 2012 | Nagarik

Back to list

;