s

विदेशमा अलपत्र नेपाली उद्धार गर्न थप ४३ वटा उडान हुने

सुरज कुँवर

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पाँचौपटक थप ४३ वटा उडानलाई अनुमति दिएको छ ।

सीसीएमसीका एक अधिकारीका अनुसार यी उद्धार उडान भदौ १ गतेदेखि सुरु भएर १५ गतेसम्म सञ्चालन हुनेछन् । यी उडानबाट कम्तीमा ७ हजार नेपाली स्वेदश फर्किन पाउने छन् । भदौ १५ पछि सरकारले नियमित उडान सुचारु गर्ने जनाइसकेको छ ।

शुक्रबार सार्वजनिक गरिएको यो तालिकामा सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा, हिमालय एयरलायन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । त्यस्तै युरोप र अमेरिकामा अलपत्र परेका नेपालीहरुका लागि टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरलाई पनि अनुमति दिइएको छ ।

अनुमति दिइएका गन्तव्यमा दुबईका लागि ८ वटा उडान, दोहाका लागि ७, क्लालालम्पुर ६, जेद्दा १, कुबेत ३, दमाम ५, रियाद २, जापान १, आबुधाबी ५, कोरिया १, सारजाहा २, अष्ट्रेलिया १ गरी ४३ वटा उडान रहेका छन् । यी उडानबाट करिब ७ हजार नेपाली स्वदेश फर्किने छन् ।

यो तालिकाले यी मुलुकबाहेक युरोप, अमेरिका तथा अफ्रिकाबाट फर्किन चाहाने नेपालीलाई पनि खुला गरेको छ । ‘अहिले कतिपय मुलुकमा नियमित उडान भइसकेकाले तोकिएका गन्तव्यसम्म नियमित उडानबाट नेपाल आउन खुला गरेका छौं’, ती अधिकारीले भने ।

यी उडानको टिकट बिक्री तोकिएका वायुसेवाले मात्रै गर्नुपर्ने भनिएको छ । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण गराएको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि उनीहरुले नेपाल सरकारले बनाएको स्वास्थ्य प्रोटोकल पालना अनिवार्य गर्नुपर्ने छ ।

सरकारले भदौ १५ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान रोकेकाले त्यस दिनसम्म लागू हुने गरी नयाँ तालिका जारी गरिएको हो ।

सीसीएमसीका रहेका एक सहसचिवका अनुसार विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरुमा कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन चाहेका छन् ।

सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो । विदेशमा अलपत्र नेपालीलाई जेठ २९ गतेदेखि स्वदेश फर्काउन सुरु गरेको थियो । त्यसयता बिहीबारसम्म ३० वटा मुलुक र ती मुलुक हुँदै भएका ३ सय २३ वटा चार्टर उडानबाट ५० हजार ६ सय ६२ नेपाली स्वदेश फर्किसकेका छन् ।

Published on: 14 August 2020 | Kantipur

Link

Back to list

;