s

विदेशमा अलपत्र

काठमाडौं : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण खाडी तथा मलेसियामा कार्यरत श्रमिक अलपत्र परेका छन्। 

रोजगारी गुमाएका श्रमिक फर्कन नपाउँदा थप सास्ती पाउन थालेका छन्। कोभिडका कारण अन्तर्राष्ट्रिय उडान बन्द छन्। करार अवधि सकिएका, कोभिडका कारण रोजगारी गुमाएका श्रमिक स्वदेश फर्कन नपाएर विदेशमै अलपत्र परेका हुन्। 

कतिपय श्रमिकलाई लामो समयसम्म स्वदेश फर्कन नपाएपछि जरिवाना तिर्नुपर्ने चिन्तामा पर्न थालेका छन्।  रोलिङ नेक्सेसअन्तर्गतको रोलिङ कर्मशील विदेशले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्ने वक्ताहरूले हप्तामा दुई दिन नियमित तथा चार्टर्ड उडान गर्न आवश्यक भइसकेको बताए।  मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले खानबस्नै समस्या नभए पनि उडान अनिश्चित हुँदा समस्या थपिँदै गएको बताए। दैनिक ६ हजार जनामा कोरोना सक्रमण हुँदा नेपाली समुदायमा पनि बढ्ने क्रम रहेको उनले बताए। उडान नहुँदा मलेसियामा २६ वटा शव रोकिएको भन्दै छिट्टै वाइडबडीमार्फत उडान व्यवस्था हुन सके समस्यामा परेकालाई फर्काउन र शव व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ। 

मलेसियाको नियम अनुसार कागजातविहीन नेपाली हालै ५ सय रिंगेट तिरेर फर्कन सक्ने भए पनि समय गुर्जेपछि १० हजार रिंगेट जरिवानासहित जेल सजाय हुने भएकाले उडानको विकल्प नभएको बताए। मलेसियामा ५ हजार नेपालीमा कोरोना संक्रमण भएको छ। ९ जना नेपालीले कोभिडका कारण ज्यान गएको छ। 

साउदीका लागि नेपालका राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले उडान नहुँदा स्वदेश फर्कन चाहने नेपाली र शव स्वदेश पठाउन नसक्दा समस्या निम्तिएको बताए। कोभिड संक्रमण नेपाली समुदायमा पनि फैलिएको र केहीको ज्यानसमेत गएको उनले बताए। 

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कोभिडले वैदेशिक रोजगारमा देखिएका समस्या समाधानका लागि पहल भइरहेको बताए। समस्या समाधानका लागि अध्ययन कमिटी गठन भएको उनको भनाइ छ। कल सेन्टरमार्फत पनि गुनासो आइरहेको उनले बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले गन्तव्य मुलुकमा श्रमिकलाई परेका समस्या समाधान गर्न लागिपरेको बताए। अघिल्लो चरणको जस्तो समस्या नदेखिए पनि दोस्रो चरणमा जस्तोसुकै परिस्थिति आए पनि सामना गर्ने गरी समूह बनाएर तयारी अवस्थामा रहेको उनले बताए।

Published on: 25 May 2021 | Annapurna Post

Link

Back to list

;