s

विदेशमा अध्ययन गरेर गाउँमा व्यवसाय

उर्लाबारी, पुस १० गते । थाइल्यान्डमा माछापालनसम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका उर्लाबारी–७ का ३० वर्षीय प्रतीक खड्गीले आफ्नै गाउँमा माछापालन सुरु गर्नुभएको छ ।उर्लाबारी बजारबाट सात किलोमिटर उत्तरमा रहेको आफ्नो पुख्र्यौली घर र खेतमा प्रतीकले अहिले पुमोरी एग्रो फार्म सञ्चालन गरिरहनुभएको छ । 

आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिएका प्रतीकले मत्स्यपालन व्यवसाय रोज्नुभएको छ । २०७६ सालमा सुरु गर्नुभएको व्यवसायमा दुई करोड २५ लाख रुपियाँ लगानी भइसकेको छ । तर, व्यवसायबाट अझै कमाइ सुरु भएको छैन । मत्स्यपालनसँगै बङ्गुर, हाँस, कुखुरा, टर्की, तित्रा र कडकनाथ कुखुरापालन गरिरहनुभएका खड्गी मासुका लागि भन्दा पनि भुरा र चल्ला उत्पादनमा जोड दिइरहनुभएको छ ।

उहाँले भन्नुभयो, “२०७६ साउनमा सुरु गरेकामा आठ महिना संरचना निर्माणमै बित्यो । तीन बिघा पाँच कठ्ठा जमिनलाई जस्तापाताले घेरेर उहाँले त्यसैभित्र एक बिघा क्षेत्रफलमा तीनवटा माछापोखरी निर्माण भएका छन् ।”

उहाँले बायोफ्लक प्रविधिबाट माछापालन गर्नुभएको हो । माछाका भुरा उत्पादन गर्न अलग्गै पोखरी निर्माण गर्नुभएको छ । सबै काम प्रारम्भिक चरणमा छन् ।

कोरोना महामारीले काम गर्न नसकिएको जानकारी दिँदै खड्गीले भन्नुभयो, “माछामा मात्रै केन्द्रित हुँदा व्यवसाय सङ्कटमा पर्छ भन्ने डर लाग्यो । त्यसैले बङ्गुर, हाँस, कुखुरा, टर्की, तित्रा र कडकनाथसमेत पाल्न थालेको हुँ। ” खड्गीका अनुसार फार्ममा अहिले ३० माउ बङ्गुर र ६० वटा बुचाबुची(बच्चा) छन् । १५ वटा बाख्रा, खसी, दुई माउ गाई, तीनवटा टर्की, २५ वटा कडकनाथ, ४० वटा स्थानीय जातका कुखुरा र ४० वटा हाँस छन् ।

फार्मलाई अझ विस्तार गर्ने योजना रहेकाले हाल मासु प्रयोजनका लागि उहाँले केही पनि बिक्री गर्नुभएको छैन । अबको एक वर्षमा पन्छी र बङ्गुरको सङ्ख्या दोब्बर बनाउने उहाँको योजना छ । थोरै परिणाममा काम गर्दा लगानी नउठ्ने भएकाले फार्म विस्तार गर्न लागेको खड्गीले बताउनुभयो ।

सहरको प्रतिष्ठित व्यापारी घरानामा जन्मिए पनि प्रतीक गाउँमै रमाउनुभएको छ । माछाका विषयमा नयाँ–नयाँ खोज गर्नुहुन्छ । खड्गीले फार्मवरिपरि ठाउँ–ठाउँमा क्यामरा जडान गर्नुभएको छ । कुनै कारणले फार्म छाडेर बाहिर जानुपर्दा पनि उहाँ मोबाइलबाटै फार्मको प्रत्यक्ष निगरानी गर्न सक्नुहुन्छ । प्रतीकले भन्नुभयो, “सवा दुई करोड रुपियाँ पुँजी लगानी भएको व्यवसायलाई सामान्य काम गर्ने मजदुरको भरमा छोड्न मिल्दैन । पाँच जनाले रोजगारी पाइरहेको फार्मले आगामी एक वर्षभित्र १५ जनालाई रोजगारी दिने लक्ष्य राखेको छ । कुनै विपत्ति लागेन भने माघ÷फागुनदेखि मासिक तीन लाख रुपियाँ कमाइ गर्ने लक्ष्य हो,” खड्गीले भन्नुभयो।

Published on: 26 December 2021 | Gorkhapatra

Link

Back to list

;