s

विदेशको ठक्करले दाजुभाइ बने सफल किसान

शिव शर्मा

वैदेशिक रोजगारमा जान खोज्दा सरोजमणि अधिकारीको ऋण खोजेको झन्डै ३० लाख रुपैयाँ गुम्यो । आफ्नै कमजोरीले दलाललाई विश्वास गर्दा रकम डुबेपछि उनले स्वदेशीमै कृषि फार्म स्थापना गरे । अहिले उनी सफल किसान भएका छन् ।

कालिका गाविस ४ झाझरमारेका २४ वर्षीय यी तन्नेरीले विदेशको मोह बिर्सेर दुई जना भाइहरू २१ वर्षीय शैलेन्द्ररमण र १९ वर्षीय प्रकार रमणलाई आफ्नो व्यवसायमा सहभागी गराए । अधिकारी दाजुभाइले सात वर्षअघि स्थापना गरेको सरोज दुग्ध उत्पादन एन्ड अर्गानिक फार्मले राम्रो आम्दानी गर्न सफल भएको छ ।  वैदेशिक रोजागारमा जाँदा लागेको ऋणसमेत तिरेर अहिले उनीहरू फार्म बिस्तारमै लागेका छन् ।  स्नातक पढ्दै गरेका यी युवाहरूले पोखरा, १ बगर, घोचाक र कालिका गाविसमा  कृषिमा गरेको लगानीले अन्य युवाहरूलाई समेत वैदेशिक रोजगारमा जाने चाहनामा परिवर्तन गराएको छ ।  'दाजुले वैदेशिक रोजगारमा जान खोज्दा भोग्नु परेको पीडा बुझेर हामीले पनि विदेश जाने सोच बदल्यौं,' शैलेन्द्रले भने, 'अहिले दाजुभाइ मिलेर गरेको कृषि व्यवसायले हामीलाई सन्तुष्टि मिलेको छ ।' यतिबेला यी भर्खरका युवाहरूले पशुपालनमा गरेको प्रगति देखेर सबै जना अचम्मित बनेका छन् । विश्व खाद्य दिवसकै अवसरमा हालै उनीहरूको र्फम पशुसेवातर्फ राष्ट्रिय स्तरमा उत्कृष्ठ  घोषित भएको छ । यसले तीन दाजुभाइ हौसिएका छन् ।  प्रधानमन्त्री बाबुराम भट्टराईको हातबाट १० हजार रुपैयाँ पुरस्कारसहितको सम्मानपत्र थापेपछि उनीहरूले व्यवसायलाई अझ विस्तार गर्ने तयारी गरेका छन् ।

उनीहरूले सञ्चालन गरेको र्फममा गाई-भैंसी, बाख्रासँगै अर्गानिक तरकारी फस्टाएको छ । झन्डै ८० लाख भएको फार्मममा जर्सी, मिनिजर्सी, होलस्टेन क्रस गाई र मुरा जातका भैंसी गरी ७० वटा गाईभैंसी छन् ।  त्यस्तै ६० वटा बाख्रा पालेका छन् । सुरुमा बाबु विश्वरमणले एउटा गाईबाट सुरु गरेको व्यवसायलाई छोराहरूले विस्तार गरेका हुन् ।  कलेज पढ्ने समय मिलाएर  दाजुभाइ फार्ममा  जुट्छन् ।  भारतबाट महिनौं लगाएर गाई ल्याउने झन्झट खेप्नु परेपछि यतिबेला उनीहरू गाईको बाच्छी पालनमा लागेका छन् । दैनिक गाईभैंसीबाट  ५ सय ८० लिटर दूध बिक्री गर्ने गरेका तीन दाजुभाइले मासिक सबै खर्च कटाएर दुई लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए । गाईको दूध प्रतिलिटर ६६ रुपैयाँ र भैंसीको ९६ रुपैयाँमा बिक्री गर्दै आएका छन् । अहिले उनीहरूको फार्ममा १६ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएको सरोजरमणले जानकारी दिए ।

Published on: 11 November 2012 | Kantipur

Back to list

;