s

विदेशको तलब र लागत जानकारी एसएमएसबाट

दिनेश रेग्मी

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ । तर त्यहाँ जाँदा बुझाइएको रकम वा तलबका बारेमा यकिन गर्न सक्नु भएको छैन भने सरकारले सजिलो बनाइदिएको छ । यसबारेको जानकारी वैदेशिक रोजगार विभागमा मोबाइल फोनबाट एसएमएस गरी बुझ्न सकिन्छ ।

विभागले वैशाख ३० देखि कामदारको अन्तिम श्रम स्वीकृतिको जानकारी दिन एसएमएस सेवा सुरु गरेको हो । एसएमएस जोसुकैले जुनै सेवाको मोबाइलबाट अंग्रेजीमा पीपी टाइप गरेर एक स्पेस छाड्ने र कामदारको पासपोर्ट नम्बर लेखेर ४००१ मा एसएमएस पठाएपछि श्रम स्वीकृति पाए/नपाएको सूचना तत्काल प्राप्त हुन्छ । एसएमएस सेवा लिन प्रतिएसएसएम करसहित १ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ । विभागबाट श्रम स्वीकृति पाएका कामदारले ९ वटा बुँदाअन्तगर्त कामदारको नाम, पद, काम गर्न जाने कम्पनीको नाम, देश, श्रम स्टीकर नम्बर, निर्णय मिति, तलब, लागत रकम र पठाउने कम्पनीको नाम एसएमएसमा पाउँछन् ।

व्यक्तिगत रूपमा जाने कामदारको तलब, लागत र पठाउने कम्पनीको नामबाहेकको विवरण छ । श्रम स्वीकृति भइनसकेको भए 'सरी तपाईंको वर्क परमिट पाइएन' भन्ने एसएमएस आउँछ । 'अब तलब र लागत खर्चलाई पनि समेटेका छौं,' विभागका महानिर्देशक विनोद केसीले कान्तिपुरलाई भने, 'यसले धेरै जानकारी दिने भएकाले ठगिने सम्भावना हुँदैन ।' विभागबाट संस्थागत र व्यक्तिगत गरी दैनिक १५ सयको हाराहारीमा कामदारहरूले अन्तिम श्रम स्वीकृत लिने गर्छन् । व्यक्तिगत तथा संस्थागत रूपमा जाने कामदारले सेवा सुरु गरेको दुई सातामा ९ हजारभन्दा बढी एसएमएस पठाएको विभागका कम्प्युटर इन्जियन विजय खत्रीले बताए । विभागले पछिल्लो पटक एक सातादेखि थप गरेको तलब र लागतबारे संस्थागत रूपमा जाने एक कामदारको पासपोर्ट नम्बर हानेर कान्तिपुरले चेक गर्दा कतारमा रोजगारीका लागि अन्तिम स्वीकृत निस्केका राजुबहादुर थापाको जानकारी प्राप्त भएको छ । जनरल क्लिनिङ कामका लागि नेसनल प्रोजेक्ट कतार जाने थापाको तलब १ हजार रियाल र कुल लागत खर्च २० हजार रुपैयाँसहितको विवरण समावेश छ ।

एसएमएसबाट व्यक्तिगत तथा संस्थागत रूपमा पहिलो पटक जान लागेका कामदार, पुनः श्रम स्वीकृत र पुनः वैधानिकरण हुने कामदारले श्रम स्वीकृतिको जानकारी पाउने इन्जिनियर खत्रीले बताए । 'विभागमा अन्तिम स्वीकृतिको प्रक्रिया पूरा भएसँगै अनलाइनमा जान्छ र जो कोहीले पनि एसएमएसबाट जानकारी लिन सक्छन्' खत्रीले कान्तिपुरलाई भने, 'कामदारले आफ्नो करार अवधिसम्म एसएसएसबाट जानकारी पाउन सक्छन् ।' सामान्यतः बढी श्रम गन्तव्य मुलुक खाडीमा २ वर्ष र मलेसियामा ३ वर्षको करार अवधिमा कामदार जाने गर्छन् । खत्रीका अनुसार मोबाइल एसएमएसमा बढीमा १ सय ६० अक्षरभित्र सबै जानकारी समेटिएको छ । त्यति अक्षर भित्र अटेमा एसएमएसमा थ्याक्यू, डोफे -वैदेशिक रोजगार विभाग) पनि आउँछ । विभागका अनुसार यहाँबाट सम्पादन नहुने रोजगार अनुमति प्रणाली अनुसार कोरिया जाने कामदारको स्वीकृतिको जानकारी एसएमएसमा समावेश छैन । त्यस्तै विभागले साता दिनदेखि नै म्यानपावर कम्पनीका लागि 'कोटा चेक सिस्टम' पनि एसएमएसबाट सुरु गरेको छ, जसअनुसार म्यानपावर कम्पनीले आफ्नो स्वीकृत कोटामध्ये कति कामदार गए र कति बाँकी छन् भन्ने थाहा पाउने छन् । अंग्रेजीमा पीपी टाइप गरेर एक स्पेस छाड्ने आफूलाई दिइएको डेमान्ड लट नम्बर हानेर ४००१ मा एसएमएस गरेपछि पछिल्लो विवरण प्राप्त कम्प्युटर इन्जिनियर खत्रीले बताए ।

Published on: 26 May 2013 | Kantipur

Back to list

;