s

विदेशको सीपमा 'गाउँले स्वाद'

जुम्ला — रोजगारीको सिलसिलामा १० वर्ष विदेश धाएका जुम्ला गुठीचौर–३ का चित्रबहादुर बुढा अहिले गाउँमै नमुनाको उद्यम गरिरहेका छन् । उनले गाउँदेखि झन्डै एक घण्टा पैदलदूरीमा पर्ने सानो गुठीचौरमा ‘सुर एन्ड सुपुन्न अर्गानिक होटल’ खोलेर स्थानीय उत्पादनको स्वाद चखाइरहेका छन् ।

उनको होटलमा फापरको केक, फापरको रोटी, मार्सी चामलको भात, मकै र सिमी मिसाइएको कोल, आलुको परौठा र जंगली सागहरूको खान्कीले हरेक आन्तरिक तथा बाह्य पर्यटक मख्ख पर्छन् । उनले भने, ‘पोषिलो, स्वादिलो, पोटिलो र रसिलो खान्की यही पाइन्छ । मात्र बनाउने तरिकाको अभाव छ । त्यही बनाउने तरिका विदेशबाट सिकेर होटल खोलेर पस्किरहेको छु ।’

चित्रबहादुर अहिले अर्गानिक वस्तुका परिकार बनाउने उद्यमीका रूपमा चिनिएका छन् । उसो त गाउँका सबै स्थानीय उत्पादन खरिद गरेर किसानलाई परिकार बनाउनसमेत उनैले सिकाउँछन् । विदेशमा सिकेको उनको सीप अहिले गाउँमा कार्यान्वयन भइरहँदा स्थानीय पनि दंग छन् । २०६६ मा एसएलसी गरेर १९ वर्षको उमेरमा चित्रबहादुर बिदेसिएका थिए । उतिबेला उनको पहिलो विदेश यात्रा थियो, कुवेत । त्यहाँ दुई वर्ष बिताएका उनका लागि कुनै बेला बहराइन, कतार र दुबई त पानीपँधेरा नै भए ।

विदेशका पाँचतारे होटलमा हेल्पर हुँदै कुकसम्म काम गरेको अनुभव छ उनीसँग । होटलमा सुपरभाइजरका रूपमा काम गरिसकेका चित्रबहादुरलाई अहिले गाउँमा अर्गानिक वस्तुको स्वाद चखाउन भ्याइनभ्याई छ । होटलबाट अहिले मासिक कम्तीमा ६० देखि ७० हजार बचत गरिरहेको उनी बताउँछन् । होटलको कमाइले बालबच्चा सदरमुकाम खलंगाको बोर्डिङ स्कुलमा पनि पढाउन सकेका छन् । उनले दुइटा स्याउ बगैंचासमेत बनाएका छन् । पाँच सय स्याउका बिरुवाले फल दिँदै आएका छन् । ‘धेरै पटक विदेश गए । तर अहिले विदेशको सीप प्रयोग गरेर गाउँमै परिवारसँगै रमाएर बसिरहेको छु,’ उनले भने । उनको परिवारमा तीन छोराछोरी, श्रीमती र आमा छन् । त्यही परिवारको लालनपालनका लागि उनी विदेश हानिन बाध्य भएका थिए ।

चित्रबहादुरको होटलका ६ कोठा पछिल्लो समय कहिल्यै खाली भएका छैनन् । जुम्लादेखि डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटक त्यही बाटो भएर जाने भएकाले पनि उनको होटल राम्रोसँग चलेको हो । ‘सानै उमेरदेखि अर्गानिक खान्कीको स्वाद चखाउने रहर थियो, तर विपन्न पारिवारिक अवस्थाका कारण सम्भव थिएन । खाडी मुलुकको यात्रा गर्न सुरु गरेदेखि गाउँमै केही उद्यम गर्नेुपर्ने आवश्यकता ठानेर यसमा लागे,’ उनले भने, ‘मेहनत गरेर आफ्नै घर छेउमा पनि केही गर्न सकिने रहेछ । हामी बेकारमा विदेशमा भौंतारिने रहेछौं ।’ ऊर्जाशील उमेर विदेशमा बिताएका चित्रबहादुर अहिले भने पछुताएका छन् । ‘विदेशमा गएर पनि काम गर्ने राम्रो स्थान मिल्यो । अहिले जुम्लाको गुठिचौरमा विदेशको सीप प्रयोग गरिरहेको छु,’ उनले भने ।

जुम्ला डोल्पा जाने सडक खण्डमै उनको होटल पर्ने भएकाले सबैको ध्यानकेन्द्रित अर्गानिक खान्कीमै पर्ने गरेको छ । विदेशमा रहँदा कमाइ राम्रो थियो । उच्चस्तरको जीवनशैलीमा नै बितेको थियो । चित्रले भने, ‘यता फर्केर पनि उद्यम गर्नुपर्छ जन्मथलोमै राम्रो प्रगति हासिल गर्न सकिन्छ भन्ने उदाहरण बन्न सकेको छु । यसैमा खुसी छु ।’ उनी आफूले विदेशमा सिकेको सीप अरू युवालाई समेत सिकाइरहेका छन् । गाउँबस्तीमा पुगेर होटल व्यवस्थापन र स्थानीय परिकार बनाउने तरिकाबारे सिकाइरहेका हुन्छन् । तर अधिकांश समय आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतमै उनको दिन बित्छ । होटलमा रैथाने आलुको तरकारी, आलुबाट बन्ने परिकार, साग, फापरको रोटी, कोदो, जौ, गहुँ/मकैको रोटी, कालीमार्सी धानको भात, स्थानीय भटमास/सिमीको दाल, चिनो, कागुनोको भात, स्थानीय जातको खसी र लोकल कुखुराको मासुको स्वाद लिन पाइन्छ । उनको होटलले हाल तीनजना युवालाई रोजगारी पनि दिएको छ ।

ग्राहकले अर्डर गरेअनुसारको फापरको केक, जौ र गहुँको बिस्कुट पनि बनाएर घरमै पुर्‍याउने व्यवस्था उनले गरेका छन् । बाहिरदेखि आयातित खाद्यवस्तुको प्रयोग नगर्ने उनी बताउँछन् । होटलमा जंगलमा पाइने रायो, लिगुरो, पालुंगो र रुघाको साग टिपेर खुवाउने गरिन्छ । जंगली सागपातको स्वाद लिन पाउँदा पर्यटकहरू पनि दंग पर्छन् । जुम्लाको बहुमूल्य जडीबुटीको चिया पनि पाइन्छ उनको होटलमा । त्यसैले पनि चिया पिउनेको पनि भीड हुन्छ । चुकको पात, लौठसल्ला, बायोजडी, घोडामच्चो र गुन्नाइनोको चिया दिने गरेका छन् ।

विदेशमा रहँदा मासिक नेपाली डेढ लाख कमाइ गर्ने चित्रबहादुरले परिवारसँगै बसेर त्योभन्दा बढी कमाउन थालेका छन् ।

चिसो तातो पानी, तालिमका लागि हल, वाइफाई, सीसी क्यामरासमेत होटलमा जडान गरिएको छ । पारिवारिक वातावरणमा खान, बस्न र सुत्न पाइने भएकाले होमस्टे जस्तै ठान्छन् । आत्मीयता, मिठो खाना र सस्तो मूल्यका कारण अर्गानिक होटलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको गुठीचौर–३ का वडाध्यक्ष इन्द्रबहादुर बुढाले बताए । काखैमा सुन्दर पाटन गुठीचौर उपत्यका छ । वर्षायाममा त्यो मैदानमा जाजरकोटदेखि भैंसीपालन गर्न ल्याउने गर्छन् । उनको होटलमा पुग्न सदरमुकाम खलंगादेखि झन्डै ४ घण्टा लाग्छ । जुम्ला डोल्पा सडक त्यही होटल छेउबाटै जाने भएकाले मोटरसाइकल र गाडीबाट सहजै पुग्न सकिन्छ । हिउँदमा जुम्लादेखि डोल्पा जानेहरू धेरै आवतजावत गर्छन् । वर्षायाममा पाटनहरूमा घुम्न जानेको भीड नै हुन्छ ।

Published on: 7 February 2024 | Kantipur

Link

Back to list

;