s

विदेशको सपनाले घर न घाट

सविता खड्का

म्याग्दीबेनी-८ का शंखर क्षेत्री वैदेशिक रोजगारीमा क्रोसिया जाँदा राम्रो तलब पाइने सपना बुन्दै गर्दा अक्टोवरमा नारायण म्यानपावर नेपाल भन्ने व्यक्तिगत संस्थाबाट जालमा फसे। क्षेत्रीसँगै अन्य २९ जना सोही कम्पनी मार्फत क्रोसिया उड्ने सपनाले लाखौं लाख रूपैयाँ सो म्यानपावरलाई बुझाएकाथिए। झापाको हबरा-६ का विकास राउत सो म्यानपावरका सञ्चालक हुन्। राउतले २९ जनालाई क्रोसिया पठाउने भ्रम फैलाउँदै नेपाली युवा वर्गलाई ६ महिनाको अन्तरालमा थोरैमा २५ हजारदेखि धेरैमा ६ लाख रूपैयाँसम्म लिएका ठगीका उजुरी वैदेशिक रोजगार विभागमा परेको छ।

‘राम्रो तलबको आशामा क्रोसिया जाने रहरले घरबार डुबायो। परिवारका सदस्यपनि धेरै खुसी थिए। अब सुखका दिन आउँदै छ भन्ने आस परिवारलाई थियो। तर ती सुखका दिन आउने केवल सपना मात्र रहे,’ क्षेत्रीले भने, ‘राम्रो तलबको आसमा क्रोसिया गई दुख गरेर पैसा कमाउने ठुलो रहर थियो। ती रहर त्यहाँ नपुग्दै छताछुल्ल भयो।’

म्यानपावर सञ्चालक राउतले क्रोसिया पठाउँछु भन्दै ललाइफकाइमा लागेर ४ लाख डुबाएको क्षेत्रीको भनाइ छ। उनले भने, ‘घरपरिवारमा ठुला र टाठाबाठा भनेको हामी नै हो। तै पनि कहाँ आएर फसियो? परिवारमा यहीँ पैसा फसेको कारणले गर्दा सधैं कलह भएको छ। यसले गर्दा घरवारविहीन भइन्छ कि भन्ने डर छ।’

वैदेशिक रोजगारीका लागि क्रोसिया जाने तरखरमा ७२ हजार म्यानपारका सञ्चालक राउतलाई बुझाएको बस्ताकोटीको उजुरी पनि विभागमा परेको छ। बास्ताकोटी कथा पनि क्षेत्रीको जस्तै छ। उनले भने, ‘खानामा कञ्चुस्याँइ गर्दा गर्दै परिवारको आत्मा मारेर जम्मा गरेको पैसा र केही रकम ऋण गरेर विदेश जाने सपनाले सबै पैसा चकनाचुर भयो। दिन प्रतिदिनको चिन्ताले कहिलेकाहीँ काहाली लाग्छ। घर समस्या टार्न अरू आम्दानी केही पनि छैनन्। यो विदेश जाने चक्करमा आफू पनि फसियो र पैसा पनि फसाइयो। अब कसरी त्यो पैसा फिर्ता ल्याउन सकिन्छ थाहा छैन।’

उनले थपे, ‘क्रोसिया पठाउँछु भनेका राउत आफू चाहिँ क्यानडामा बसेर भारतीय नम्बर चलाइरहेको छ। प्रहरी प्रशासनले राउतलाई समात्ने हो भने सजिलै समात्न सक्छन्। हामी जस्तो दुःखी गरिब मारेर त्यो राउत चाहिँ क्यानडामा छ।’

‘नेपालको कानुन फितलो छ। नवलपुर कावासोती प्रहरी प्रशासनमा गएर उजुरी गर्‍यो भने प्रहरी प्रशासनले हाँस्दै भन्छ, तपाईहरू फस्नु भयो अब त्यो पैसा आउँदैन। निस्वार्थ उद्देश्यले जनताको समस्या सुल्झाउन बसेका प्रहरी प्रशासनबाट हामी के आशा राख्नु?,’ उनले भने, ‘वैदेशिक रोजगार विभागमा आएर उजुरी गर्दा निष्पक्ष रूपमा केही छानबिन हुँदैन। विभागका अधिकृतले काम हुन्छ तर ढिलाइ हुन्छ भन्छन्। हामी यो काठमाडौं सहरमा कति दिन बस्ने हो? न त खानेको ठेगान छ न बस्ने कहीँ बास छ। दुःखमा परेका जनतालाई झन् दुःख नै दिने मानसिकता भएका विभिन्न प्रशासनहरू छन्।’

यसरी वैदेशिक रोजगारीमा जाने सपनाले गर्दा हजारौं युवा ठगीमा परेका छन्। यसको जिम्मालिने को तक्षेत्री र बास्ताकोटी जस्तै नवलपुर कावासत्ती–१७ का भुवनेश्वर अधिकारी पनि क्रोसिया जाने चक्करमा७२ हजार राउतले ठगी गरेको भन्दै विभागको ढोकासम्म आइपुगेका थिए। अधिकारी पनि आफू म्यानपावर मार्फत ठगिएको भन्दै आफ्नो कथा लिएर उजुरी गर्न वैदेशिक रोजगार विभागमा आए। क्रोसिया पठाउने प्रलोभनमा अधिकारी लगायत धेरै तरिकाबाट पीडितहरू फसेका गुनासोहरू विभागसामु पोखिरहेका थिए। म्यानपावर कम्पनीबाट केही साथीहरू अनलाइनमार्फत फसेका थिए भने केही साथीमार्फत नै फसेका उनले बताए। उनले भने, ‘मैले ७२ हजार बुझाइसकेपछि केही साथीको भिसा नै आइसक्दा भिजामा र पासर्पोटमा हुनुपर्ने नम्बर एउटै नभएका कारण शंका भएपछि हामीले पुरै पैसा नबुझाएको हो।’

‘प्रत्येक व्यक्तिको पासपोर्ट संकलन गर्न लगाए। भारतमा मेरो एजेन्ट छ, उसले सबै काम गरिदिन्छ भन्दै सबै पासपोर्ट कुरिएर गरिदिनु भने,’ उनले भने, ‘कुरिएर गरेको हाम्रो पासपोर्ट भारतमा कहाँ अट्कियो पत्तै पाउन सकिएन। यसो गर्दागर्दै केही समयपछि क्रोसिया जाने चक्करमा फसेका गुल्मीका हाम्रो नै एक साथी भारत पुगे। जसोतसो गरेर भारतमा हाम्रो पासपोर्ट पनि भेटियो। तर फसेको पैसा भेटिएन।’

फेसबुकमार्फत नारायण म्यानपार नेपाल भन्ने फेक अकाउन्ट खोलेर क्रोसिया पठाउछु भन्दै म्यानपावर सञ्चालक राउतले दुनियाँलाई ठगी गरिएको उजुरी वैदेशिक रोजगार विभागमा परेको उक्त विभाग शाखा अधिकृत सुशिल पकुवालले जानकारी दिए। क्रोसिया पठाउँछु भन्दै ठगी गर्ने व्यक्ति एउटै राउत हो तर यहाँ विभिन्न तरिकाबाट फसाइएको पकुवालको दाबी छ।

Published on: 12 January 2023 | Nagarik

Link

Back to list

;