s

विदेशको प्रलोभन देखाएर पैसा लिँदै भाग्दै

अमृत सुवेदी

क्यानडा, फ्रान्स, अस्ट्रेलिया, पोल्याडको नाममा बढी ठगी

ब्रुनाई लैजाने भनेपछि १०/१५ जना व्यक्ति भोजबहादुर कार्कीको सम्पर्कमा आए । उनले सम्पर्कमा आएका पुरुषसँग १ लाख रुपैयाँ र महिलासम्म २ लाख रुपैयाँ अग्रिम लिए । ब्रुनाई जाने आशले पैसा बुझाए । न भिसा आयो न लैजान्छु भनेकै व्यक्ति सम्पर्कमै अाए । लामो समयसम्म पनि भिसा नआएर व्यक्ति पनि सम्पर्क हुन छाडेपछि उनीहरु वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) परियोजनामा सहयोगको याचना गर्दै पुगे । 

सामीको सहयोगमा कार्की सम्पर्कमा आए तर उनले पनि उमेश गुरुङ भन्नेलाई आफूले पैसा बुझाएकोले आफू पनि ठगिएको बताए । कार्कीले गुरुङलाई पैसा बुझाएको रसिदसमेत देखाएर उनी उम्किए । अहिले न कार्की सम्पर्कमा छन् न गुरुङ नै । पछिल्लो समयमा विदेश जाने लोभले व्यक्तिलाई पैसा बुझाउँदा धेरै जना ठगिएको सामी परियोजना संयोजक मैयाँ गुरुङ (माया)ले बताइन् ।
 
‘विदेश जाने लोभले व्यक्तिलाई पैसा दिँदा धेरै जना ठगिएका छन्,’ गुरुङले भनिन्, ‘म्यानपावर, कन्सल्टटेन्सीहरुले ठगिहाले भने बरु खोज्न र सहयोगका लागि सजिलो हुन्छ । व्यक्तिलाई पैसा दिँदा धेरै समस्या आउँछ ।’
 
कतिपय व्यक्तिले बिना कागज वैदेशिक रोजगारको लोभमा पैसा बुझाउने गरेका छन् । यसो गर्दा ठगलाई समाउन र पैसा फिर्ता गराउनै समस्या पर्ने गुरुङले बताइन् ।
 
पछिल्लो क्रममा खाडी मुलुक, मलेसियाजस्ता देश जाने भनेर भन्दा पनि क्यानडा, फ्रान्स, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा लैजाने नाममा धेरै जना ठगिएका छन् । यी देश लैजान व्यक्तिले प्रलोभनमा पारेर पैसा लिने र सम्पर्कबिहीन हुने क्रम बढेको छ । ठगिएर सहयोग माग्दै सामी परियोजनामा मात्रै यसरी व्यक्तिले ठगेका २६ निवेदन परेका छन् । एजेन्ट/म्यानपावरबाट ठगी भएका १४ वटा निवेदन आएका संयोजक गुरुङले बताइन् । यसरी सम्पन्न देश जाने र पैसा कमाउने लोभका ठगिनेमा गाउँका भन्दा बढी सहरकै छन् । त्यसमा पनि पढेलेखेका र मध्यम परिवारका बढी छन् ।
 
वैदेशिक रोजगार तथा अध्ययनका लागि भन्दै ठगिएका तथा वैदेशिक रोजगार सम्बन्धी ६३ केस यो आर्थिक वर्षमा सामी परियोजनामा पुगेका छन् ।सामीले यस्ता वैदेसिक रोजगारका क्रममा पसेका ८ जनालाई उद्दार गरेको संयोजक गुरुङले जानकारी दिए । २४ केसमा सामीले मिलाउन सफल भएको छ ।वैदेशिक रोजगारका क्रममा पूरा सूचना नलिँदा, बिनाप्रमाण प्रलोभनमा परेर पैसा बुझाउँदा धेरै जना ठगिएको र उद्दारका लागिसमेत समस्या परेको परामर्शदाता जुना केसीले बताइन् । ठगिएका, वैदेशिक रोजगारका क्रममा मारिए व्यक्तिका परिवारलाई ५७ लाख ४३ हजार रुपैयाँ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराएको छ । सामीले वैदेशिक रोजगारमा जाने प्रक्रियामा तथा गएका फसेका व्यक्तिलाई सहयोग गर्दै आएको छ भने वैदेशिक रोजगारमा जानु पूर्व लिनु पर्ने सूचना र सीपका विषयमा जनचेतना जगाउने काम गर्दै आएको जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँ बताउँछन् ।
 
Published on: 4 July 2018 | Onlinekhabar

Back to list

;