s

विदेशको कमाइले पर्वतारोहण

पाँचथर — वैदेशिक रोजगारीमा जाने अधिकांशको सपना हुन्छ, नयाँ घर बनाउने । स्वदेश फर्केपछि कोहीले घडेरी जोड्छन् । उद्यम, व्यवसाय वा कृषि कर्म गर्ने र परिवारसँगै रमाउनेको संख्या पनि उल्लेख्य छ । तर पाँचथरको फालेलुङ गाउँपालिका–३ का उदय केरुङ भने फरक देखिएका छन् ।

यसको कारण हो, वैदेशिक रोजगारीबाट स्वदेश फर्केका उनले न घरघडेरी जोडे न छ उद्यमशीलतामा जोडिए । उनको प्राथमिकतामा पर्‍यो हिमाल आरोहण ।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर फेर्केका उनी केही वर्षयता हिमाल आरोणमा पनि सक्रिय थिए । त्यसको मुख्य कारण थियो, विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा एकपटक पाइला राख्ने । २०२१ मा मलेसियाबाट फर्केका उनले त्यसयता केही हिमालको आरोहण गरे । मेरापिक र मनास्लुको सफल आरोहण गरे । यही क्षेत्रमा आफूलाई सक्रिय राखिरहे र अन्ततः आफ्नो सपना पूरा गरे । उनी जेठ ६ गते बिहान ६ बजेर ८ सेकेन्डमा सगरमाथा शिखरमा पुगे ।

उदयको हिमाल आरोहण यात्रा भने निकै रोचक छ । २००८ मा पासपोर्ट बनाएर मलेसिया हानिएका उनी २०२१ मा नेपाल फर्के । कोभिड महामारीका कारण पुनः मलेसिया फर्किन पाएनन् उनी । त्यसपछि उनी फुर्सदको समय सदुपयोग गर्न अन्नपूर्ण सर्किटको पदयात्रामा गए । ‘त्यहाँबाट फर्केको केही दिनमा फेरि सगरमाथा आधार शिविरको पदयात्रा गरें,’ उनले भने, ‘ती यात्राले मभित्र हिमाल आरोहणको भोग जगायो ।’

त्यसपछि ६ हजार ४ सय ७६ मिटर अग्लो मेरापिक आरोहण गरेका उदयले गत असोज ९ गते ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल चढे । ‘मनास्लुको आरोहणपछि मेरो मनमा विश्वका आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गर्ने हिम्मत जाग्यो,’ सगरमाथा आधार शिविर फर्केलगत्तै उनले कान्तिपुरसँग भने, ‘अब त्यो अभियानलाई निरन्तरता दिन्छु ।’

मनास्लु आरोहण गरेपछि उदयलाई धेरैले प्रश्न सोधेका थिए– सगरमाथा किन नचढेको ? भनेर । मेरो घरपरिवार, छिमेकी र आफन्तलाई एकैचोटि ठूलो हिमाल चढ्न सम्भव नहुनेबारे थाहा रहेनछ । ‘हिमाल चढ्नेलाई सरकारले टन्न पैसा दिन्छ भन्ने लागेको रहेछ उहाँहरूलाई,’ उनले भने । उनलाई पनि आरोहण अभ्यास सुरु गर्नुअघि हिमाल र पर्वतारोहणबारे खासै थाहा थिए । तर बुझ्दै गएपछि उनलाई हिमाल आरोहणमा दिल बस्यो ।

‘प्रायः मानिस विदेश गएर पैसा कमाउने र कतै राम्रो ठाउँमा जग्गा किन्ने, घर बनाउने विषयलाई प्राथमिकतामा राख्छन्,’ उदय भन्छन्, ‘मलाई चाहिँ हिमाल चढ्ने भोक लाग्यो । अब पुनः एक पटक विदेश गएर आरोहण यात्रालाई निरन्तरता दिन्छु ।’ उदय यस पटक ‘८ के एक्सपिडिसन’ नामक ट्रेकिङ कम्पनीमार्फत सगरमाथा आरोहणमा गरेका हुन् । कम्पनीमार्फत आरोहणमा गएका २२ जनामध्ये १७ जनाले सफलता हात पारेका कम्पनीका व्यवस्थापक पेम्बा शेर्पाले बताए ।

सगरमाथाको चुचुरोमा उदयले नेपालको राष्ट्रिय झन्डासँगै फालेलुङ गाँउपालिकाको लोगो अंकित झन्डा, किराँत याक्थुङ चुम्लुङ र केरुङ चोःलुङका झन्डा फहराएका छन् । ‘प्रतिकूल मौसम बावजुद पनि शेर्पासहितको आरोहण दलले सफलतापूर्वक सगरमाथाको शिखर चुम्यौं । औधी खुसी लागेको छ,’ पेम्बाले भने । उदय सगरमाथा आरोहण गर्ने पाँचथरको फालेलुङ गाउँपालिकाको दोस्रो र पाँचथर जिल्लाकै तेस्रो व्यक्ति हुन् ।

यसअघि पाँचथर कुम्मायकका सुशील शेर्मा र फालेलुङ–८ का किशोरकुमार जवेगुले सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथा आरोहण गर्दा ३५ लाखभन्दा बढी खर्च भएको उदयले बताए । त्यो सबै रकम उनले वैदेशिक रोजगारीबाट आर्जन गरेका हुन् । यसअघि मेरापिक र मनास्लु आरोहण पनि उदयले व्यक्तिगत खर्चमै गरेका थिए ।

Published on: 24 May 2024 | Kantipur

Link

Back to list

;