s

विदेशको कमाइ दुर्गमका विद्यालयमा

दुर्गालाल केसी

विदेशमा पढ्न गएका विद्यार्थी, काम गर्न गएका गाडी चालक तथा मजदुर पैसा कमाएर के गर्छन् ? सायद पढ्ने खर्च टार्छन्, केही घरमा पठाउँछन् अनि नेपाल फर्केपछिको सुन्दर जीवनको परिकल्पना गर्छन् । केही नेपाली भने यस्ता पनि छन् जो अमेरिका, बेलायत, हङकङ बस्छन् अनि नेपालका दुर्गम क्षेत्रमा विद्यालय भवन बनाउन, शिक्षकलाई तलब खुवाउन र गरिब विद्यार्थीलाई पढ्ने खर्च नियमित सघाउँछन् ।

अमेरिका बस्ने १३ नेपालीले गठन गरेको ग्रासरुट मुभमेन्ट इन नेपाल -जिमिन) नामको संस्थामार्फत उनीहरू भवनको अभावमा पठनपाठन समस्या भोगिरहेका ग्रामीण भेगमा विद्यालय बनाउँछन् । दुई वर्षमा उनीहरूले दाङमा १४ र सिन्धुपलाञ्चोकमा २ भवन बनाइदिएका छन् । १० शिक्षकलाई तलब खुवाएका छन् र आठ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा नियमित सहयोग गरेका छन् । सबैले संकलन गरेर विपन्न बालबालिकालाई पोसाक र स्टेसनरी पनि वितरण गर्छन् । 'यसमा हामीले अरू कुनै पनि सरकारी या गैरसरकारी संस्थाको सहयोग लिएका छैनौं,' जिमिनका तर्फबाट स्वयंसेवीरूपमा दुर्गम क्षेत्रमा विद्यालय बनाउन खटिरहेकी विद्या बज्राचार्यले भनिन्, 'विद्यार्थी, ट्याक्सी चालक र मजदुरको पैसा जम्मा गरेर ग्रामीण शिक्षका लागि सहयोग गरिरहेका छौं ।' विदेश बस्ने नेपालीले एक पटकमा २५ देखि २ हजार ५ सय डलरसम्म सहयोग गर्ने गरेको उनले बताइन् । 'प्राप्त सहयोगबारे फेसबुकमा प्रचार र सांगीतिक कार्यक्रम गरेर पनि संकलन हुने गरेको छ,' उनले भनिन्, 'एकले अर्कोलाई भन्दा अनलाइनबाटै धेरै रकम जुटेको छ ।'

नेपालका केही गाउँ घुम्दा विद्यालय भवनहरूको दुर्दशा देखेपछि विदेशको कमाइ दुर्गमको शिक्षामा लगानी गर्ने सोच आएको उनले बताइन् । जिमिनका १३ सदस्यमध्ये नेपाल बसेर काम गर्ने बज्राचार्यमात्र हुन् । 'अरू सबैले विदेशमै बसेर सहयोग गरिरहेका छन्,' आठ वर्ष अमेरिका बसेर फर्केकी उनले भनिन्, 'कतिपय साथीसँग त भेटघाट नै भएको छैन । अनलाइनबाटै चिनजान गरेर सहयोग संकलन गरिरहेका छौं ।' उनले नेपालका गाउँगाउँ पुगेर रकम दिने र विद्यालय निर्माणको काममा प्रत्यक्ष सहभागी हुने गरे पनि त्यसबापत केही तलब पाउँदिनन् । उनले भनिन्, 'दुर्गमको दुर्दशा देखेपछि सेवाकै भावनाले काम गरिरहेका छौं । कोठा नभएर भुइँमा बसिरहेका विद्यार्थी भवनमा बस्न पाएका छन् ।'

उनीहरूको काम देखेर कतिपय व्यवसायीले समेत स्वेच्छाले विद्यालय भवनमा सहयोग गर्ने गरेका छन् । स्युजा ३ खाडास्थित बराह प्राविको तीनकोठे भवन बनाउन पुल्चोक ललितपुरस्थित क्लासिकल डायमन्ड ज्वेलर्सले ३ लाख १२ हजार रुपैयाँ सहयोग गरेको थियो । पहिले भत्किएको घरमा विद्यार्थी च्यापिने अवस्थामा पढाइ हुने गरेकामा अहिले राम्रो घरमा पढाउने वातावरण मिलेको प्रअ बिन्दु मल्लले बताइन् ।

Published on: 5 November 2012 | Kantipur

Back to list

;