s

विदेशको कमाई बाटैमा लुटियो

साउदी अरेबियाबाट धन कमाई फर्किएका धनकुटाका मोहन परियारलाई कसैले नशालु पदार्थ खुवाएर लठ्यायो। अनि, कठोर मेहनतबाट आर्जेको १ लाख ८० हजार रुपैयाँ र मोबाइलमात्रै लुटेन, सुरक्षित भविष्यको सपना पनि लुट्यो। 

आइतबार काठमाडौंबाट रात्रीबस चढेका मोहन लुटिएको १२ घन्टा बितिसक्दा पनि बेखबर थिए। सत्य साई रात्री बसबाट घर फर्कदै गरेका मोहन लुटिएको बारे मंगलबार बिहान बसका कर्मचारीले धरान आइपुगेपछि मात्रै चाल पाएका थिए।

त्यसको लगत्तै बसका कर्मचारीले वडा प्रहरी कार्यालय पुर्याए पनि दिनभर उनी अचेत नै थिए। ‘बसका स्टाफले बिहान ५ बजेतिर नै ल्याइदिएका हुन्,' प्रहरी इन्चार्ज कुमार भण्डारीले भने, 'तर, अझै पनि उसको राम्रोसँग होस खुलेको छैन।'

केही आराम महसुस गर्न थालेका मोहनले मुस्किलले आफ्नो नाम र ठेगाना मात्रै बताउन सके। आफू कहाँ, कुन अवस्थामा छु भन्ने समेत उनलाई पत्तो थिएन। ‘पानी वा केही ठोस पदार्थमा लठ्याउने पदार्थ मिसाई उनलाई कसैले बेहोस बनाएको हुनसक्छ,' उधि्रएको झोला देखाउँदै सई सर्वधन राईले भने, 'त्यसपछि झोलाभित्रका सामान र पैसा लुटेर लगेको बुझिन्छ।'

मोहनको साथमा एक ठूलो सुटकेस, पार्सल र कालो ब्याग रहेको थियो। बस चालक कुमार तामाङका अनुसार, नारायणगढसम्म मोहनले मोबाइलमा गीत सुन्दै आएको गाडीका स्टाफले देखेका थिए। ‘बिहान त उसको साथमा मोबाइल पनि थिएन,' कुमारले भने।

एक दशकअघि साउदी गएका मोहन बिदा मिलाएर कहिलेकाहीं घर आउने गरेको धरान निवासी भाउजु कौशिल्या परियारले बताइन्। ‘बल्ल बल्ल कमाएको पैसा सबै लुटेछ,' उनले भनिन्, 'धनकुटा खबर गरिदिएका छौं, लिन आउँदैछन्।'

धरान बसपार्क सुधार समितिकी सुपरभाइजर तारा शाक्यका अनुसार, वैदेशिक रोजगारबाट आएकाहरू हेर्दै प्रष्ट चिनिने भएकाले काठमाडौं एयरपोर्टदेखि नै चोरी, लुटपाट गर्नेले पिछा गर्ने गरेका छन्। ‘अब यात्रा गर्नुअघि अपरिचितले दिएको खानेकुरा नखानुस् भनी सचेत गराउनुपर्ने भो,' शाक्यले भनिन्।

Published on: 20 July 2011 | Nagarik 

Back to list

;