s

'विदेशका नेपालीलाई फर्काउन ३ दिनभित्र पहल थाल्छु'

अनिल अधिकारी

अमेरिका : नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोरोना भाइरसका कारण विदेशमा रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउन तीनदिन भित्र पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । नेता सिटौलाले विभिन्न प्रायोजनमा विदेशिएका नेपालीहरुलाई स्वदेश फर्काउन प्रधानमन्त्रीलाई नै भेटेर सार्थक पहल थाल्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले भने, 'भारत, अमेरिका, अष्ट्रेलिया लगायत धेरै मुलुकमा भाइरसको संक्रमणका कारण रोकिएका तथा स्वदेश फर्किने चाहना भएका नेपाली नागरिकहरुका बारेमा जानकार छु, त्यस्ता समस्या समाधान गर्न यथासक्य म पहल गर्छु ।'

नेपाली समय अनुसार मंगलबार साँझ विश्वभरका कांग्रेस नेताहरुलाई भिडियो बैठकबाट सम्बोधन गर्दै नेता सिटौलाले महामारीका बेला सरकार जनताका समस्या समाधान गरी राष्ट्रलाई निकास दिने गरी लाग्नुपर्नेमा सत्ताको खेलमा लागेको भन्दै कटाक्षसमेत गरेका छन् ।

विश्वभरका जनसम्पर्क समितिका नेताहरु सहभागी बैठकमा नेता सिटौलाले विधानलाई टेकेर हिँड्न सुझाव दिँदै विधान मान्न र गुटउपगुटका नेता नमान्न भनेका छन् । उनले भने, 'हामी कांग्रेस हौं, विधानभन्दा बाहिर हामी जानु हुँदैन, अरु समुहका नेता मान्नु जरुरी छैन।' सहभागी कांग्रेस नेताहरुलाई आश्वास्त पार्दै नेता सिटौलाले आगामी महाधिवेशनबाट नेतृत्व फेरिने र कांग्रेसले नयाँ जीवन पाउने बताए ।

जनसम्पर्क समिति, एनआरएन पदाधिकारी लगायत विदेशमा रहेका कांग्रेस नेताहरु सहभागी भिडियो बैठकलाई सम्बोधन गर्दै अर्का नेता पूर्व सहमहामन्त्री रामशरण महतले प्राकृतिक रुपमा सम्पन्न मुलुकलाई अब उत्पादनशील बनाउनुपर्ने भन्दै सबै युवाहरुलाई देशमै काम गर्ने वातावरण बनाउनका लागि आफू र आफ्नो पार्टी नेपाली कांग्रेस योजनाबद्ध रुपमा लागिरहेको  जनाएका छन् ।

कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसीले राजनीतिक इतिहास रचेको नेपाली कांग्रेसबाट नै मुलुकको समृद्धि सम्भव हुने तर्क गर्दै, वर्तमान सरकार असफल भइसकेको आरोप लगाएका छन् । उनले अहिलेको महामारीलाई मिलेर सामना गर्न सुझाउँदै विदेशमा रहेका नेपाली नागरिकहरुलाई सहयोग गर्न नेताहरुलाई आग्रहसमेत गरेका छन् ।

जनसम्पर्क समिति अमेरिका पूर्व संयोजक विष्णु सुवेदीले संयोजन गरेको उक्त बैठकमा विश्वभरका जनसम्पर्क समितिका सभापतिहरु, पूर्व सभापतिहरु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, एनआरएनमा रहेका प्रजातान्त्रिक विचार बोक्ने नेताहरु तथा नेपाल विद्यार्थी संगठनमा लामो समय काम गरेका पूर्व नेताहरु सहभागी थिए ।

बैठकमा उठेका सुझावलाई नेविसंघका पूर्व महामन्त्री यादव पण्डित, महाधिवेशन प्रतिनिधि एनआरएन आईसिसी सदस्य प्रमोद सिटौला, तरुणदल अमेरिका उपसभापति अनन्त सुवेदीले संकलन गरेका छन् । बैठकमा सहभागीहरुले राखेका सुझावहरुलाई पार्टी केन्द्रीय कार्यलयमा पठाइने जानकारी दिइएको छ ।

एनआरएनका अध्यक्ष प्रत्यासी कुल आचार्य, केन्द्रीय कोषाध्यक्ष महेश श्रेष्ठ, अमेरिका क्षत्रीय संयोजक राजन त्रिपाठी, यूरोप संयोजक नारायण आचार्य, यूरोप क्षत्रीय सहसहयोजक शुक्रराज न्यौपाने, कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी, एनआरएनए अमेरिका पूर्व अध्यक्ष डा. केशव पौडेल जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक तथा वरिष्ठ कानुन व्यवसायी खगेन्द्र जिसी, नेविसंघका पूर्व केन्द्रिय कोषाध्यक्ष विश्वआर्दश पण्डित, जनसम्पर्क समिति स्पेनका पूर्व सभापति चिन्तामणी सापकोटा, बेल्जियम सभापति सिता सापकोटा, जर्मन सभापति शेखर खड्का, भारतका सभापति बालकृष्ण पाण्डे लगायतले बोलेका थिए ।

Published on: 6 May 2020 | Annapurna Post

Link

Back to list

;