s

विदेशका नेपाली उद्धारमा सरकारको उल्टो बाटो : उद्धार गर्नुपर्ने नेपाली उतै, फर्कंदा नेपाल एयरलाइन्सका जहाज रित्तै

केदार दाहाल
मुना कुँवर 

सरकारले विभिन्न मुलुकबाट २४ हजारभन्दा बढी नेपालीको तत्काल उद्धार गरेर नेपाल ल्याउनुपर्ने भन्दै सोमबार सूची सार्वजनिक गरेको छ । तर, दैनिकजसो चार्टर उडानमार्फत उद्धार गर्नुपर्ने मुलुकमा पुग्ने नेपाल एयरलाइन्सका जहाज भने रित्तै फर्कने गरेका छन् । मंगलबार राति अस्ट्रेलियाको क्यानबेरा चार्टर उडान गरेको जहाज जम्मा ११ जना नेपाली लिएर आउँदै छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका विषयमा नेपाल सरकारले निर्णय गर्न अलमल गरेका कारण दुई सय ७४ सिट क्षमताको जहाजमा ११ जना मात्रै फर्कन लागेका हुन् ।

नेपाल वायुसेवा निगमले यताबाट गरेको चार्टर उडानमा उताबाट उद्धार गरी ल्याउन सरकारले तयारी गरेको भए सस्तोमै नेपाली आउन पाउने अवस्था थियो । अस्ट्रेलियाबाट १३ सय नेपाली फर्काउने सूची तय गरिएको छ । ‘सरकारले समन्वय नगर्दा जहाज रित्तै आउनुपरेको छ, यताबाट भएको चार्टरमा भाडासमेत सस्तो गरेर निगमले ल्याउन सक्ने अवस्था थियो,’ निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले भने । ११ जना भने दूतावासको आग्रहमा निगमले सित्तैमा ल्याउन लागेको हो ।

निगमले यसअघि पनि अस्ट्रेलियामा दुईवटा उडान गरिसकेको छ । सरकारले वेलैमा तयारी गरेको भए आठ सय २२ जना नेपाल आइसकेका हुन्थे । अब निगमको जहाज यताबाट चार्टर गर्ने हो भने अस्ट्रेलियाबाट नेपाल आउन एक यात्रुलाई एक लाख ६० हजार रुपैयाँभन्दा बढी पर्ने देखिन्छ ।

यता मंगलबार राति नै निगमको जहाज जापानको नारिता उड्दै छ । जापानबाट नेपाल सरकारले उद्धार गर्ने सूचीमा ९ सय १६ जना रहेका छन्, तर जहाज रित्तै फर्कंदै छ । निगमको जहाज आगामी बिहीबार पनि जापान जाँदै छ । तर, त्यसमा पनि नेपाली ल्याउने कुनै तयारी छैन । ‘यताबाट गएर उताका यात्रु ल्याउन पाएको भए यात्रुलाई पनि सस्तो हुने र निगमको पनि आम्दानी हुने थियो,’ कार्यकारी अध्यक्ष घिमिरेले भने । निगमले जापानमा मात्रै ६ वटा चार्टर उडान गरिसकेको छ । यदि सरकारले चासो दिएको भए यसअघि नै सबै फर्किएका हुन्थे । अब जापानबाट चार्टर गरेर ल्याउने हो भने यात्रुले एक लाखभन्दा बढी तिर्नुपर्ने हुन्छ ।

सरकारले एक हप्तादेखि नै केही दिनभित्र उद्धार गर्ने बताउँदै आएको छ । तर, राष्ट्रिय ध्वजावाहक निगम तथा हिमालय एयरलाइन्सलाई उद्धारका लागि कुनै पनि निर्देशन दिएको छैन । निगम आफैँले प्रस्ताव बनाएर भाडादरसमेत दिइसकेको छ । तर, सरकारले हालसम्म उद्धारको विषय टुंग्याउन सकेको छैन । एयरलाइन्सहरूले दिएको भाडाका विषयमा पनि हालसम्म कुनै पनि निर्णय र छलफल गरिएको छैन । 

कुवेतले आफ्नै खर्चमा एक सय ५० नेपाली फर्काउँदै

वैदेशिक रोजगारीमा कुवेतमा रहेका र त्यहाँको सरकारबाट आममाफी पाएकामध्ये एक सय ५० नेपालीलाई त्यहाँको सरकारले नेपाल फर्काउने भएको छ । कुवेत रहेका नेपाली कामदारमध्ये गैरकानुनी रूपमा रहँदै आएका, भिसा अवधि सकिएकालगायत करिब तीन हजार कामदारलाई आममाफी दिइएको थियो । तीमध्ये महिला र बिरामीलाई पहिलो प्राथमिकतामा राखेर फर्काउने प्रक्रिया सुरु गरिएको कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

राजदूत भण्डारीका अनुसार बुधबार दिउँसो जजिरा एयरले नेपालको उडान भर्ने कार्यक्रम भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर्ड उडानमा रोक लगाएकाले त्यो निश्चित भइसकेको छैन । उडान अनुमति पाए बुधबार नै फर्काइदिने भएको छ । यसबारे नेपाल सरकारसँग छलफल भइरहेको अधिकारीहरूले बताएका छन् ।

कोरोना प्रभाव विश्वभर फैलिँदै गएपछि कुवेतले गत १ देखि ३० अप्रिलसम्म आममाफीको आवेदन दिन आह्वान गरेको थियो । भिसाको अवधि सकिएका र स्पोन्सरको घर छोडेर गैरकानुनी रूपमा कुवेतमा रहँदै आएका सबै मुलुकका श्रमिकलाई सरकारले आममाफीका लागि आवेदन दिन आह्वान गरेको थियो । नेपाली श्रमिकमध्ये करिब तीन हजारले आवेदन दिएका थिए । गैरकानुनी रूपमा बस्दै आएका श्रमिकलाई कुवेत सरकारले समातेर नेपाल फर्काउने गर्छ । तर, यसका लागि श्रमिकले ठूलो रकम भुक्तानी गर्नुपर्ने हुन्छ । र, पुनः श्रमिक स्वीकृतिमा रोक लगाइन्छ । तर, यसपटकको आममाफीमा कुवेत सरकारले कुनै पनि शुल्क नलाग्ने तथा श्रमिक फेरि फर्किन चाहेमा फर्किन पाउने अवसरसहित आममाफी दिएको छ । बुधबारको उडानका लागि मंगलबार बेलुकासम्म तालिका निश्चित नभएको राजदूत भण्डारीले बताए । उनका अनुसार कुवेत र नेपाल सरकारबीच पहिलो उडानतालिकाको विषयमा छलफल हुँदै छ । ‘सम्भवतः बुधबार दिउँसोको उडान हुनेछ,’ उनले भने, ‘बुधबार बिहान उडानतालिका निश्चित हुनेछ ।’

२४ हजार नेपाली स्वदेश फर्काउने सरकारको तयारी

नेपाल सरकारले विदेशमा अलपत्र परेकामध्ये २४ हजार एक सय ४८ जनालाई स्वदेश फर्काउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई पठाएको सूचीअनुसार विश्वका ३० मुलुकबाट नागरिक नेपाल फर्काउन लागिएको हो । सूचीअनुसार मलेसियाबाट सबैभन्दा धेरै ६ हजार चार सय २५ नागरिक फर्काइनेछ । साउदी अरबबाट तीन हजार तीन सय १२, रियादबाट दुई हजार एक सय ५२, कतारबाट तीन हजार ६ सय आठ, कुवेतबाट दुई हजार नौ सय ९१, अस्ट्रेलियाबाट एक हजार तीन सय, जेद्दाबाट एक हजार एक सय ६० फर्काइनेछ । त्यस्तै, अमेरिकाबाट ६ सय ४६, क्यानडाबाट ७८, बहराइनबाट तीन सय ७२, कोरियाबाट दुई सय ८२, ओमानबाट ६ सय ५६, डेनमार्कबाट ७६, युगान्डाबाट एक सय ६१ जना फर्काइने तयारी छ ।

एक सय ९४ नेपालीलाई फर्काइयो स्वदेश

गत साता नेपाल सरकारले एक सय ९४ नागरिकलाई संयुक्त अरब इमिरेट्स र म्यानमारबाट नेपाल फर्काएको छ । युएईबाट एक सय ६८ जना र म्यानमारबाट २६ नेपालीलाई गत शुक्रबार नेपाल ल्याइएको हो । युएईबाट नेपाली श्रमिक आफैँले एयर अरेबिया चार्टर्ड गरी नेपाल फर्केका हुन् । त्यस्तै, म्यानमारले भने कोरोनाका कारण रोकिएका नेपालीलाई सैनिकको एयरलाइन्सबाट फर्काएको हो । नेपाल फर्केका नागरिकलाई प्रदेश हुँदै स्थानीय क्वारेन्टाइनमा पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Published on: 10 June 2020 | Nayapatrika

Link

Back to list

;