s

विदेशका नेपालीलाई मताधिकार

बलराम बानियाँ

निर्वाचन आयोगले मुलुकबाहिर पढ्न, काम गर्न र भ्रमणमा गएका नेपाली नागरिकलाई उनीहरू रहेकै मुलुकमा मताधिकार दिने व्यवस्था गर्न गृहकार्य सुरु गरेको छ । आयोगले सरकारको सहयोगमा मुलुकमा हुने महत्त्वपूर्ण निर्वाचनमा विदेशमा रहेका करिब ५० लाख नेपालीलाई मत हाल्नबाट वञ्चित हुन नदिने प्रयास थालेको हो । 

लाखौं नेपाली नागरिक विदेशमा कामदार र विद्यार्थीका रूपमा रहे पनि मुलुकमा हुने विभिन्न महत्त्वपूर्ण निर्वाचनमा मताधिकारबाट वञ्चित हुँदै आएका छन् । विदेशमा रहेका नागरिकलाई समेत मताधिकार दिने सरकारको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न आयोगले गृहकार्य सुरु गरेको हो । आयोगले आगामी चुनावबाट नै विदेशमा रहेका नेपालीलाई मताधिकार दिन गृहकार्य सुरु गरेको जानकारी आयोगका अधिकारीले दिए ।  

आयोगका पदाधिकारीले विदेशमा रहेका नागरिकलाई कसरी र कुन प्रक्रियाबाट मताधिकार दिन सकिन्छ, कहाँ कहाँ कसरी मतदान केन्द्र राख्ने, साधन स्रोतको व्यवस्था कसरी गर्ने भनेर फिलिपिन्स, थाइल्यान्ड र दक्षिण कोरियाको अभ्यास र अनुभवको अध्ययन भ्रमण गर्ने भएका छन् । ती तीन देश विदेशमा नागरिक धेरै हुने मुलुक हुन् । ती तीनवटै मुलुकमा विदेशमा रहेका नागरिकले समेत मतदान गर्न पाउँछन् । सरकारले आयोगका तीन पदाधिकारीको नेतृत्वमा ती तीन मुलुकको अध्ययन भ्रमणमा जान स्वीकृत दिएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयोगका आयुक्त दोलखबहादुर गुरुङको नेतृत्वमा फिलिपिन्स, आयुक्त अयोधीप्रसाद यादवको नेतृत्वमा थाइल्यान्ड र सचिव शंकर कोइरालाको नेतृत्वमा दक्षिण कोरियामा अध्ययन भ्रमणमा जान सहमति दिएको जानकारी शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिए । ती तीन टोली यही महिना तीन साताका लागि विदेश जानेछन् । ती तीनवटै मुलुक विदेशमा धेरै नागरिक भएका र उनीहरूलाई मताधिकार दिंदै आएका मुलुक भएकाले तिनको अभ्यास र अनुभव अध्ययन गर्न तीनवटा टोली भ्रमणमा जान लागेको जानकारी आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले दिए ।

आयोगका पदाधिकारीहरूले टोलीले मुलुक बाहिर रहेका नागरिकहरूलाई कसरी मतदाता नामावलीमा समावेश गर्ने, कुन प्रक्रियाबाट मताधिकार दिने, मतदानका दिन अनुपस्थित हुने व्यक्तिलाई कसरी मताधिकार दिन सकिन्छ भनेर ती तीन मुलुकको अभ्यास र अनुभवको अध्ययन गर्नेछन् । 'मुलुक बाहिर रहेका नागरिक, निर्वाचनका बेला विदेश भ्रमणमा रहेको व्यक्ति, मतदानका दिन जरुरी काम परेर अनुपस्थित हुने व्यक्ति या आफ्नो क्षेत्रमा नभई अर्कोमा मतदानमा खटिने कर्मचारीलाई कसरी मताधिकार दिने, विदेशमा कसरी मतदान केन्द्र राख्ने, साधनस्रोत कसरी जुटाउने, विदेशबाट इलेक्ट्रोनिक मतदान कसरी गराउन सकिन्छ । ती मुलुकमा विदेशमा रहने नागरिकको सूचना कुन प्रणालीमा राखिंदै आएको छ भनी आयोगको टोली भ्रमणमा जान लागेको हो' आयोगका एक अधिकारीले भने, 'उनीहरूको अध्ययनपछि नेपालमा समेत विदेशमा रहेका नागरिकलाई मतदाता नामावलीमा राख्ने, मताधिकार दिन विदेशमा समेत मतदान केन्द्र राख्ने, मतदानका दिन अनुपस्थित हुने, मतदानमा खटिने कर्मचारीलाई कसरी मताधिकार दिने व्यवस्था गर्ने काम अगाडि बढाइनेछ ।

Published on: August 2012 | Kantipur 

Back to list

;