s

बिदेसिएकी चेली वर्षदेखि बेखबर

'कमाउन विदेश आएको यो हालत भयो । यहाँ यस्तो होला भनेर सोचेको पनि थिइनँ । आमा तपाईंको दुःख देखेर कमाउने लोभमा घर छोडेँ, आज यो अवस्थामा पुगियो ।' यमुनाडाँडाकी एक दलित किशोरीले आमाका नाममा यो बेहोराबाट पत्र लखेको झन्डै १ वर्ष बितेको छ । त्यसपछि भने उनको खबर छैन । परिवारका अनुसार सेलाङका माइलाबाबु नाता पर्ने आफन्तले जागिर लगाइदिने उद्देश्यले २ वर्षअघि कुवेत पठाएका थिए । विदेश गएको १ वर्षपछि काम गरिरहेको घरबाट भागेर नेपाली दूतावासमा पुगेकी किशोरीले सन् ०१२ फेब्रुअरीमा आमालाई पहिलो पत्र लेखेकी थिइन् । त्यसपछि पनि उनको खबर के छ पत्तो छैन । परिवारले जिल्ला गाउँ बाल संरक्षण समितिलाई पत्र आएको १ वर्षपछि छोरी खोजिदिन आग्रह गरेको छ । कशोरीले ४ पृष्ठ लामो पत्रमा आफूले धेरै दुःख पाएको, तलब नपाएको लगायत दर्दनाक घटना उल्लेख गरेकी छन् । उनले के काम गरेकी थिइन् पत्रमा उल्लेख छैन । जन्मेदेखि नै मामाघर बस्दै आएकी किशोरी ६-७ वर्षअघि आफ्नै घर सेलाङ गएकी थिइन् । उनका बाबुको निधन भइसकेको छ भने परिवारका अन्य सदस्य यमुनाडाँडामै बस्छन् ।

दूतावासको संरक्षणमा रहेको जानकारी एक वर्षअघि आए पनि त्यसपछिको अवस्था पत्तो छैन । 'दूतावासमा आउनुपहिले पनि उनको अवस्था थाहा थिएन', बालकल्याण समिति अध्यक्ष गोरखबहादुर खड्काले भने, 'घटना गुपचुप राखिएको रहेछ । खड्काले भने, 'हामीले थाहा पाएपछि परिवारको अनुरोधमा खोजीका लागि जिल्लामा पत्राचार गरेका छौं ।' महिला तथा बालबालिका कार्यालयका प्रमुख अञ्जु ढुंगानाका अनुसार किशोरीको खोजीका लागि पौरखी नेपालमार्फत दूतावासमा कुरा चलिरहेको छ । पौरखीले वैदेशिक रोजगारीका सिलसिलामा अप्ठेरोमा परेका पीडिका पक्षमा काम गर्दै आएको छ । 

Published on: 31 January 2013 | Kantipur

Back to list

;