s

बिदेसिएका नेपालीबारे अध्ययन गरिँदै

चन्द्रशेखर अधिकारी 

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त विश्वमा नेपालीको अवस्थाबारे सरकारले बल्ल विस्तृत अध्ययन थालेको छ। परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना दूतावास दिने जानकारीका आधारमा प्रतिवेदन तयार गर्न लागेको हो। ‘पहिलो चरणमा अधिक नेपालीहरू कार्यरत पश्चिम एसियाली मुलुक हेर्ने दूतावासमार्फत तथ्यांक माग गरेर त्यसअनुरुप सूची तय गर्ने काम भइरहेको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘यो काम पहिलेदेखि नै अद्यावधिक राख्नुपर्ने हो। 

समस्या परेको यति लामो समय भएपछि दूतावासमार्फत तथ्यांक र अवस्थाबारे प्रतिवेदन तयार गर्दै छौं।’ जहाजले व्यावसायिक उडान गर्नेबित्तिकै तीन लाख नेपाली स्वदेश फर्कन सक्ने दूतावासको प्रारम्भिक अध्ययनले देखाएको छ। ती नेपाली (तीन लाख) एकैपटक फर्कंदा उत्पन्न हुन सक्ने समस्याबारे सरकार यसको विस्तृत अध्ययनमा लागको हो। एक महिना लकडाउन हुँदा नियमित बिदामा आउने, आफ्नो करार सम्झौता सकेर सदाका लागि फर्कने नेपाली कति छन्, टिकट लिएर त्यसको व्यवस्थापन गर्न नसकेका कति छन्, अवैध (बिनाभिसा) को अवस्था के छ ? लगायतमा बल्ल सरकारको ध्यान पुगेको हो। मन्त्रालयले अबका दिनमा कस्तो काम नेपालीले पाउँछन्, कतिले रोजगारी गुमाउँछन् भन्ने विषयमा विस्तृत विवरण माग गरेको हो। 

जहाजले व्यावसायिक उडान गर्नेबित्तिकै तीन लाख नेपाली स्वदेश फर्कन सक्ने दूतावासको प्रारम्भिक अध्ययनले देखाएको छ।

कतिपय दूतावासले पठाएका विवरण अपुग भन्दै थप तथ्यांक उपलब्ध गराउन भनिएको परराष्ट्रका ती अधिकारीले बताए। उनका अनुसार खाडीमा रहेका दूतावासले रोजगारीमा गएका नेपालीका मामिलाबाहेक अन्य दुईपक्षीय मुद्दामा काम गर्नुपरेको छैन। तर, त्यहाँको परिस्थिति अध्ययन र नेपालीको सूचीसमेत नहुनु दुःखद भन्दै परराष्ट्रले राजदूतहरूसँग असन्तुष्टिसमेत पोखेको उनले बताए। यतिबेला खाडीमा नेपालीमा कोरोना संक्रमण पनि बढ्दो छ। मन्त्रालयले रोजगारमा जाने मुलुकपछि विद्यार्थी अधिक जाने मुलुकको पनि अध्ययन अघि बढाउनेछ। 

त्यसमा मन्त्रालयले अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याड, जापान, साइप्रस, जर्मनी, बेलायत, फ्रान्स सिंगापुर, थाइल्यान्ड, बंगलादेशलगायतमा रहेका दूतावासलाई यथार्थ अवस्था बुझाउने रिपोर्ट पठाउन निर्देशन दिइसकेको छ। कूटनीतिक सम्बन्ध कायम रहेका १ सय ६७ मुलुक हेर्ने गरी नेपालका ३० दूतावास, तीन राष्ट्रसंघीय स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन्। ती सबै निकायबाट आउने नियमित रिपोर्ट मात्र होइन। 

अहिले विशेष निर्देशनको आधारमा त्यहाँको यथार्थ जानकारी दिनुपर्ने अवस्था छ। पुरानै आधारमा रिपोर्ट आएकाले मन्त्रालयले दोहोर्‍याएर अवस्था आकलन गरेर रिपोर्ट पठाउन लगाएको हो। परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले कोभिड-१९ कहिलेसम्म रहन्छ र त्यसपछि उडान खुल्दा नेपाली आउने क्रमलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित रहेर प्रतिवेदन तयार गर्न लागिएको बताए। ‘खुल्नै समय लागेमा त्यहाँ रहेकाहरूको अवस्थालाई कसरी नियाल्ने ? खुलेलगत्तै नेपाली आउने भए कसरी यहाँको आन्तरिक व्यवस्थापन गर्ने, त्यहाँ रोजगारी गुम्ने अवस्था हुँदा के गर्ने ? यस्तै विषय यसमा रहनेछ,’ प्रवक्ता पौड्यालले भने, ‘गर्नुपर्ने काम, अवस्था, निर्देशन सबै विषय रहनेछ। यो निकै विस्तृत हुनेछ।’ विभिन्न खाडी राष्ट्रमा १५ लाखभन्दा बढी नेपाली कार्यरत छन्। कोभिड १९ प्रकोपको चापमा परेका ती मुलुकको अर्थतन्त्र दैनिक कमजोर हुँदै गएका छन्। कैयन उद्योग बन्द छन्। भविष्यमा सहज खुल्ने अवस्था नरहेकाले रोजगारी गुमाउनुपर्ने अवस्था छ। विश्वमै ३० प्रतिशतले यही अवस्थामा रोजगारी गुमाउने रिपोर्टसमेत सार्वजनिक भएकाले पनि त्यसको मारमा नेपाली कामदार पनि पर्ने देखिन्छ।

Published on: 27 April 2020 | Annapurna Post

Link

Back to list

;