s

बिदेसिएका युवामा 'एडजस्ट डिसअर्डर'

तीन वर्षअघि अस्ट्रेलिया पढ्न पठाएकी पत्नी रञ्जनाका लागि चितवनका रविकान्त ज्ञवालीले ५० लाख खर्चिए । स्वदेश फर्केपछि पत्नीले वास्ता गर्न छाडिन् । तनाव बढ्दै गएपछि गत मंसिरमा ज्ञवालीले आत्महत्या गरे । झापाका विनोद (नाम परिवर्तन) मंसिर ०७२ मा कामदार भिसामा दुबई पुगे । स्वदेशमा होटेलको सेफ भएकाले दुबईमा उनको कमाइ पनि राम्रो थियो । छोरीको शिक्षाका लागि उनले पत्नीलाई काठमाडौंमा राखेका थिए ।

फागुन ०७५ मा पत्नी ६ वर्षकी छोरीलाई पनि माइतीमा छाडेर एकाएक सम्पर्कविहीन भइन् । दुबईको कमाइ उनले पत्नीलाई नै पठाइसकेका थिए । मानसिक सन्तुलन गुमाएका उनलाई नेपाली दूतावासमार्फत स्वदेश फर्काइयो । वर्षदिनदेखि मानसिक रोगको उपचार गराइरहेका छन् ।

सर्लाहीका २१ वर्षीय शिव (नाम परिवर्तन) असार ०७४ मा वैदेशिक रोजगारीमा मलेसिया पुगे । अत्यधिक शारीरिक परिश्रमका कारण तीन महिनामै बिरामी परे । तैपनि, ओभरटाइम काम गरिरहे । स्वास्थ्य नाजुक भएपछि साथीहरूको सहयोगमा स्वदेश फर्किए । उनमा चिच्याउने, बर्बराउनेजस्ता व्यवहार देखियो ।

विभिन्न संघसंस्थाको सहयोगमा तीन महिनाको उपचारपछि उनी घर फर्केका छन् । नुवाकोटकी सरिता (नाम परिवर्तन)लाई गत साता आफन्तले मनोपरामर्शका लागि काठमाडौं ल्याए । स्थानीय विद्यालयमा अध्यापन गराउँदै आएकी उनी डिप्रेसनमा गइन् । त्यसको कारण थियो– विदेशमा रहेका पतिले दिने तनाव ।

फेसबुकमा च्याट गर्दै उनका पतिले अर्कैसँग लागेको आरोप लगाउँदै तनाव दिने गर्थे । अहिले उनी कडा खालको मानसिक रोगको उपचार गराइरहेकी छिन् । बिदेसिएका व्यक्तिको घरबार बिग्रनु र मानसिक समस्या देखिनुको मुख्य कारण सामाजिक सञ्जालको दुरुपयोग रहेको मनोविद् गोपाल ढकाल बताउँछन् । ‘हामीकहाँ उपचारका लागि आउने ८० प्रतिशतभन्दा बढी बिरामी सम्बन्ध बिग्रिएका कारण तनाव झेल्न नसकेर डिप्रेसनमा गएका हुन्छन्,’ उनी भन्छन्, ‘त्यसरी सम्बन्ध बिग्रनुको मुख्य कारण सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएको अविश्वास देखिन्छ ।’ उनका अनुसार पति विदेशमा रहेका महिला यसबाट बढी पीडित छन् ।

रोग बोकेर फर्किंदै

सरकारी तथ्यांकअनुसार दैनिक एक हजारदेखि १२ सय युवा रोजगारीको खोजीमा बिदेसिन्छन् । त्यसरी बिदेसिएका युवामध्ये कति मानसिक समस्यामा परेका छन् भन्ने तथ्यांक भने सरकारी निकायहरूसँग छैन । विदेशमै मानसिक समस्यामा परेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सीधै अस्पताल पुग्ने गर्छन् । पौरखी नेपालको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा रोजगारीका लागि बिदेसिएका एक सय नौजना महिला मानसिक समस्या बोकेर स्वदेश फर्किए ।

तीमध्ये आधाभन्दा बढीमा कडा मानसिक समस्या देखिएको छ । घरेलु कामदारका रूपमा बिदेसिएका महिलामा यस्तो समस्या बढी देखिएको छ । यस्तै, प्रवासी नेपाली समन्वय समितिको तथ्यांकअनुसार सन् २०१४ देखि २०१७ बीचमा ३१ युवा मानसिक समस्या बोकेर स्वदेश फर्किए ।

त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सरोजराज ओझाको भनाइमा नेपालमा बढ्दो मानसिक समस्याको एक मुख्य कारण वैदेशिक रोजगारी हो । ‘नेपालमा मात्रै नभई धेरै विकासोन्मुख मुलुकमा मानसिक रोगीको संख्या बढ्दो क्रममा पाइन्छ,’ डा. ओझा भन्छन्, ‘तनाव व्यवस्थापन गर्न नसक्दा त्यसले युवा–युवतीलाई आत्महत्यासम्म पु¥याउने गर्छ ।’

स्वदेशमा छँदा कडा शारीरिक परिश्रम नगरेका युवा विदेश पुगेपछि सोचेभन्दा चर्को श्रममा घोटिन बाध्य हुन्छन् । ‘बिदेसिएका युवामा सीप र त्यहाँको भाषाको ज्ञान हुँदैन । र, स्थानीय वातावरणसँग समायोजन हुन सक्दैनन्,’ मनोविद् ढकाल भन्छन्, ‘जसका कारण युवामा एकखालको डर र तनाव सिर्जना हुन्छ । यसलाई हामी एडजस्ट डिसअर्डर भन्ने गर्छौं ।’ नयाँ ठाउँ, नयाँ रहनसहन, फरक वातावरण, खानपान र जीवनशैलीसँग एडजस्ट हुन नसक्दा यस्तो डिसअर्डर देखिने गरेको उनको भनाइ छ । वैदेशिक रोजगार बोर्डका अनुसार यस्तै समस्याका कारण पछिल्लो १० वर्षमा वैदैशिक रोजगारीमा रहेका आठ सय ९२ जनाले आत्महत्या गरेका छन् ।

महिला श्रमिकलाई शारीरिक शोषण र दुव्र्यवहार हुनु, समस्या सेयर गर्न साथी नहुनु र गैरकानुनी हैसियतमा काम गर्दा आउने समस्यासँग जुध्न नसक्नुलगायत कारणले मानसिक समस्या देखिने गरेको छ । तनाव व्यवस्थापन गर्न नसक्दा डिप्रेसन, कडा खालका मानसिक रोगको सिकार बन्छन्, उनीहरू । ‘सरोकारवाला संघसंस्थाले बिदेसिनुअघि युवा–युवतीलाई तनाव व्यवस्थापनको तालिम दिनुपर्छ,’ ढकाल भन्छन् ।

‘विदेशमा धेरै पैसा कमाइन्छ भन्ने सोचले डिप्रेसन’

६ वर्षदेखि साउदी अरेबियामा रहेका कञ्चनपुरका ४७ वर्षीय हरि कुँवरका अनुसार जति काम गरे पनि बचत नहुने र सधैँ काममा जोतिनुपर्ने बाध्यताका कारण डिप्रेसनको जोखिम निम्तिन्छ । ‘विदेश गएर प्रशस्त पैसा कमाउँछु भन्नु गलत हो,’ उनी भन्छन्, ‘अलिकति बचत नगरी कसरी घर फर्किनु ? आफैँलाई पनि डिप्रेसनमा पर्छु कि भन्ने डर लाग्छ ।’

वर्षदिनदेखि मलेसियामा रहेका २२ वर्षीय अनिल विष्ट १४ घन्टाभन्दा बढी काममा खटिन्छन् । मलेसिया जाँदा लागेको ऋण अहिलेसम्म तिर्न सकेका छैनन् । ‘खान–बस्न र फोनखर्चमै पैसा सकिन्छ, परिवारबाट पैसा पठाउन दबाब आइरहन्छ,’ उनी भन्छन्, ‘जति काम गरे पनि पैसा बचाउन गाह्रो भइरहेको परिवारले बुझ्दैनन् । कहिलेकाहीँ त सम्पर्कविहीन भएर बसौँ जस्तो लाग्छ ।’

Published on: 16 February 2020 | Naya Patrika

Link

Back to list

;