s

बिदेसिनेको संख्यामा उच्च गिरावट

साउदी अरबले हस्तलिखित पासपोर्टलाई मान्यता दिन छाडेपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ । गत वर्षको मंसिरभन्दा २२ दशमल ९५ प्रतिशत कम युवा काम खोज्दै बिदेसिएका छन् ।

वैदेशिक रोजगार विभागले काममा जानेको कागजातमा कडाइ गरेकाले पनि संख्या घट्न सहयोग पुगेको हो । विभागका अनुसार मंसिरमा कामको खोजीमा १८ हजार ९ सय ६४ जना कामदार बिदेसिएका छन् । गत मंसिरमा यो संख्या २४ हजार ६ सय १४ थियो । 'साउदीले हस्तलिखित पासपोर्टमा भिसा नदिनु जानेको संख्या घट्नुको एउटा कारण हो,' विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, 'गत मंसिर चाडबाड पछिको महिना भएकाले पनि धेरै गएको देखिएको हो ।'

केही समयअघि साउदीले मेसिन रिडेबल पासपोर्ट-एमआरपी) भएका व्यक्तिलाई मात्र भिसा दिने निर्णय गरेको थियो । त्यसबाट हस्तलिखित पासपोर्ट भएका धेरै नेपाली त्यहाँ जान पाएका छैनन् । यससँगै नक्कली कागजात बनाएर कामदार पठाउँदा जोखिम बढेपछि विभागले कडाइ गरेको छ । 'यसले माग आएको ठाउँमा पनि पठाउन सकिएको छैन,' एक व्यवसायीले भने, 'पहिले जेसुकै भए पनि सहजै पठाउने व्यवसायी अहिले यसबाट रुष्ट छन् ।'

विभागका अनुसार मंसिरमा बिदेसिएका मध्ये सबैभन्दा बढी १५ हजार ७१ जनाले संस्थागत श्रम स्वीकृति लिएका छन् । यस्तै ३ हजार ८ सय ९३ जनाले मात्र व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । जसमा १७ हजार ३ सय ५९ पुरुष र १ हजार ६ सय ५ महिला छन् ।

मंसिरमा बिदेसिनको संख्या कात्तिकको भन्दा पनि कम हो । कात्तिकमा ४७ हजारभन्दा बढी कामदार बिदेसिएका थिए । यो संख्या पहिलो पटक जाने र बिदामा आएर र्फकने दुवैको हो ।

मंसिरमा १ हजार ४ सय ५३ जना मात्रै साउदी गएका छन् । यस्तै मलेसिया जानको संख्या ७ हजार ४ सय १४ जना छ । ३ हजार ४ सय ८९ जना कतार गए । यस्तै संयुक्त अरब इमिरेट्स जानेको संख्या ३ हजार ८ सय ६१ छ ।

Published on: 24 December 2011 | Kantipur 

Back to list

;