s

बिदेसिने युवा ठगिने शृंखला बढ्दो

पूर्वकै केन्द्रमा पर्ने इटहरीमा वैदेशिक रोजगारीका लागि थुप्रै मेनपावरका शाखा छन्। सरकारी नियमनकारी निकायले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा ती शाखाबाट युवाहरू ठगिने क्रम भने रोकिएको छैन।

इटहरीमा यसरी खुलेका मेनपावरका शाखा कार्यालयबाट ठगीमा पर्नेमा ति सञ्चालित मेनपावर बढी छन्। बिनाइजाजत शाखा कार्यालयमार्फत् विदेश जानेलाई ती शाखा कार्यालयबाट बढी शुल्क लिने र भनिएकोभन्दा फरक काममा लगाउने गरेको पाइएको छ। विदेश जाने युवाहरू ठगिने क्रम बढिरहेको गुनासोका आधारमा आइतबार नियमनकारी निकायले अनुगमन गरेको छ।

अनुगमनका क्रममा यहाँ १६ वटा इजाजत लिएर मेनपावर शाखा कार्यालय खुलेका छन्। ६० भन्दा बढी इजाजत नभएका मेनपावर कम्पनीका शाखा भएको पाइएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरीको सहकार्यमा इटहरीमा सञ्चालित सातवटा मेनपावरमा अनुगमन गरियो। जसमा तीनवटा मेनपावर बिनाइजाजत सञ्चालित रहेको पाइयो।

यसरी बिनाइजाजत सञ्चालनमा रहेका मेनपवार कम्पनीका शाखामा हरि मगरले सञ्चालन गर्ने ग्रान्ड स्वीइट, टंकमान राईको प्रोग्रेसिप र दीपक खतिवडाको लाइफ लाइन भेटिए।

अनुमगनका क्रममा अधिकांश मेनपावर ताला लगाएको अवस्थामा भेटिएका थिए। अनुगमनको पूर्व सूचना चुहिएका कारण धेरैजसो मेनपावरका शाखामा ताला ठोकेर सञ्चालक फरार भएका थिए। ‘अनुगमन गर्दा शाखा कार्यालयका लागि स्वीकृत लिएका तर इजाजत पत्र नपाएका मेनपावर कम्पनी भेटिए,’ श्रम तथा रोजगार कार्यालय विराटनगरका शाखा अधिकृत पुण्यप्रसाद पौडेलले भने।

इलाका प्रहरी कार्यालय इटहरीले समेत केही मेनपावर कम्पनीका सञ्चालकलाई नियन्त्रणमा लिन थालेको छ। वैदेशिक रोजगारमा जानेहरूले ठगिएको उजुरी दिन थालेपछि नियन्त्रणमा लिन थालेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। इटहरीको चौरास्त चोकको पाँच सय मिटरदेखि चारैतिर फैलिएको क्षेत्रमा मेनपावरका शाखा छन्। जसमा पनि सबैभन्दा बढी इटहरीको धरान रोड क्षेत्रमा बढी मात्रामा मेनपावरका शाखाहरू छन्।

Published on: 27 June 2022 | Nagarik

Link

Back to list

;