s

विदेशीने युवालाई उपराष्ट्रपतिको सुझावः देशको सपना देख्नुहोस्

ईश्वरकाजी खाइजू
 
भक्तपुरः उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशको मात्रै सपना नदेख्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उनले प्राकृतिक स्रोतसाधनसँगै सम्पूर्ण सम्भावनाले युक्त नेपालको सम्बृद्धि नै नयाँ पुस्ताको पहिलो सपना हुनुपर्नेमा समेत जोड दिएका छन् ।
 
क्वेस्ट नेपालको आयोजनामा भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा शुक्रबार सुरु भएको १२ औं विद्यार्थी गुणीय चक्र (एसक्यूसी) राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भने, ‘नयाँ पुस्ताले विदेशको मात्रै सपना नदेखौं । नेपाल स्रोतसाधन र सम्भावनै सम्भावनायुक्त देश हो । हामीले यहीं हीरामोती र सुनचाँदी फलाउन सक्छौं । त्यसैले देश विकासको सपना देखौं, यहीं माटोको सम्बृद्धि खोजौं ।’
 
सैनिक आवासीय महाविद्यालय प्रांगणमा कपुरको विरुवा रोपेर सम्मेलन उद्घाटन गरेका उनले अधिकांश शिक्षित युवा जनशक्ति विदेसिएको दुःख व्यक्त गरे ।
 
नयाँ पुस्तामा राज्य र समाजले आफूहरुलाई के नदिएको नकारात्मक भावना व्याप्त भएकोसमेत उपराष्ट्रपतिको दुखेसो थियो ।
‘नयाँ पुस्तामा राज्य र समाजले केही नदिएको नकारात्मक भावना व्याप्त छ’, उनले भने, ‘तर हामीले राज्यको लागि के योगदान गर्न सक्छौं भन्ने सकारात्मक सोचको विकास गर्न ढिलाइ गर्नुहुन्न ।’
 
उपराष्ट्रपति पुनले नयाँ पुस्ता पश्चिमेली जीवनशैली र संस्कृतितर्फ आकर्षित हुँदा नेपालको मौलिक कला, संस्कृति, भाषा लोप हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गरे ।
 
उनले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन ढिलाइ भएको जिकिर गरे । शिक्षा राज्यको दायित्व भए पनि राज्यलाई सबै क्षेत्रबाट साथ र सहयोग हुनुपर्ने उपराष्ट्रपति पुनको जोड थियो ।
 
कार्यक्रममा सांसद एवं शिक्षासेवी उमेश श्रेष्ठले शिक्षालाई पहिलो प्राथमिकता नदिएसम्म समग्र देशको विकास नहुने बताए । सरकारले एक खर्ब २० अर्ब बजेट लगानी गरे पनि शिक्षा गुणस्तरीय नभएको अभिभावकहरुको गुनासो रहेको उनको भनाइ थियो ।
 
‘सरकारले आफ्नो बजारको मागअनुसार शैक्षिक जनशक्ति उत्पादन गर्न सक्नुपर्छ’, साँसद श्रेष्ठले भने, ‘यसो हुन नसक्दा नेपाली शिक्षित जनशक्ति विदेशी बजारको लागि सस्तो ज्यामीमात्रै भए ।’
 
क्वेस्ट नेपालका संस्थापक दिनेश चापागाईं र वर्तमान अध्यक्ष निराजन अधिकारीले विद्यार्थीहरुलाई सर्वगुण सम्पन्न बनाउन विद्यार्थी गुणीय चक्र (एसक्यूसी) शैक्षिक कार्यक्रमलाई सबै विद्यालयमा विस्तार गर्नुपर्नेमा जोड दिए। उनीहरुले एसक्यूसीले विद्यार्थीहरुलाई चलाख, असलसँगै सबै बजारमा चल्ने सही सिक्का बनाउने धारणा राखे ।
 
शनिबारसम्म चल्ने सम्मेलनमा देशभरका ४५ जिल्लाका सात सय विद्यार्थी प्रतिनिधि, दुई सयकै संख्यामा पर्यवेक्षक विद्यार्थी र दुई सय हाराहारीमा शिक्षाविद्, शिक्षक र अभिभावकहरुको सहभागिता रहेको छ ।
 
सम्मेलनस्थल सैनिक आवासीय महाविद्यालयका प्राचार्य समिम अन्वर समिमले सम्मेलनमा सहभागी विद्यार्थीहरुले विभिन्न १५ वटा विषयमा देशको शिक्षा प्रणाली, पाठ्यक्रम तथा पाठयपुस्तक र त्यसको शिक्षण विधि तथा विद्यार्थीहरुको अध्ययन पद्धतिबारे पन्ध्रवटा केस स्टडी (समस्या अध्ययन) को प्रस्तुतीकरण गरिने जानकारी दिए ।
 
उक्त प्रस्तुतीकरणका लागि विद्यार्थीहरुले विगत ६ महिना अघिदेखि यसबारे अध्ययन र कार्य गर्दै आएको उनले बताए । सम्मेलनमा विद्यार्थीहरुबीच चित्रकला, हाजिरीजवाफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रमसँगै शिक्षक तथा अभिभावकहरुको लागि एसक्यूसीबारे अभिमुखीकरणसमेत हुने क्वेस्ट नेपालका केन्द्रीय सदस्य राजकुमार महर्जनले जानकारी दिए ।
 
Published on: 22 October 2016 | Annapurna Post

Back to list

;