s

विदेशिने महिला बढे

मिना बुढाथोकी

सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका निवासी ३८ वर्षीया सरस्वती केसी वैदेशिक रोजगारीका लागि जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउँदै थिइन्। तीन सन्तानकी आमा उनले घरमा आयस्रोतको माध्यम नभएको भन्दै विदेशिने निर्णयमा पुगेको बताइन्। ‘ श्रीमानले घर व्यवहार सम्हाल्दैनन्, घरको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा छ’, उनले भनिन्, ‘गाँउ बसेर घर खर्च चलाउने माध्यम नभएपछि विकल्पमा वैदेशिक रोजगारी रोजेकी हुँ।’

गाँउका सिंहदरबारले गरिब, बेरोजगारलाई रोजगारी दिन नसक्नुले विदेशिनु पर्ने स्थिति आएको उनको भनाइ छ। उनीजस्तै घरायसी परिबन्दमा परेका जिल्लाका सयौं महिला पछिल्लो समय वैदेशिक रोजगारीको बाटो रोज्न थालेका हुन्। सल्यानबाट बर्सेनि वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै गएको हो।

एकातिर रोजगारीको खोजीमा विदेश गएका महिलाले दुःख पाएका खबर सार्वजनिक भइरहेका छन्। अर्कोतर्फ घरायसी बाध्यताका कारण विदेशिनु परेको यहाँका महिलाको भनाइ छ। एक वर्षमा जिल्ला र केन्द्रबाट सल्यानका ३ सय ८४ जना महिलाले राहदानी लिएको प्रशासनको तथ्यांकले देखाउँछ।

घरमा पति र परिवारका अन्य सदस्यले आर्थिक सहयोग नगरेपछि पैसा कमाउने विकल्पमा वैदेशिक रोजगारीको बाटो रोज्नु परेको विदेशिने महिलाको तर्क छ। आर्थिक वर्ष ०७४/७५ मा जिल्लाका ३ हजार ८ सय २८ जना र ०७५/७६ मा ३२ सय ६६ जनाले राहदानी लिएका छन्।

सहायक सीडीओ नारायण लामिछानेका अनुसार अधिकांश महिला सम्बन्धविच्ेछदपछि वैदेशिक रोजगारीमा जाने गरेका छन्। वैदेशिक रोजगारीमा जाने अधिकांश महिला विवाहित, पतिले दोस्रो बिहे गरेका, धेरै सन्तान भएका २०–३५ वर्ष उमेर समूहका रहेको उनले बताए। यसरी विदेशिने अधिकांश महिलाहरु खाडी राष्ट्र जाने गरेको छन्।

Published on: 31 August 2019 | Annapurna Post

Back to list

;