s

विदेशीलाई कडाइ गर्दै अध्यागमन

शम्भु कट्टेल 
 
प्रवेशाज्ञा (भिसा) को उद्देश्यविपरीत काम गरेको र पर्यटक भिसा लिएका कतिपय विदेशी धर्मप्रचारमा संलग्न भएको भन्दै अध्यागमन विभागले १५ दिनभन्दा बढी बस्ने विदेशीलाई नियमन गर्ने भएको छ ।अधिकांश विदेशीले एक प्रयोजनको प्रवेशाज्ञा लिएर अरू नै काममा संलग्न हुने गरेको र पर्यटक भिसामा आएका विदेशीले धर्म परिवर्तनका लागि विभिन्न कार्यक्रम गर्दै हिँडेको सूचना पाएपछि विभागले उनीहरूलाई कडाइ गर्न लागेको हो।
 
अध्यागमन कानुन उल्लंघन गर्ने र भिसा दुरुपयोग गर्ने विदेशीलाई अध्यागमन विभागले 'ट्र्याकिङ' समेत गर्न सक्नेछ । त्यसका लागि अध्यागमनले १५ दिनभन्दा बढी नेपाल बस्ने प्रत्येक विदेशी नागरिकलाई 'डिजिटल स्मार्ट आइडी कार्ड' दिने तयारी गरेको छ । उक्त कार्ड लिन नेपालमा १५ दिनभन्दा बढी बस्ने विदेशीले निश्चित रकम तिर्नुपर्छ । १५ दिनभन्दा कम बस्ने विदेशीको हकमा भने स्मार्ट कार्ड लागू हुँदैन । उक्त कार्डमार्फत नेपाल रहँदाको अवधिभर विदेशीले गर्ने गतिविधिको अभिलेख रहनेछ ।
 
अध्यागमनले 'ओभर स्टे' लाई निरुत्साहित गर्न र विदेशी गलत काममा संलग्न नहुन् भन्ने उद्देश्यले स्मार्ट कार्ड लागू गर्ने तयारी गरेको हो । स्मार्ट कार्ड लागू भइसकेपछि नेपालमा बस्ने विदेशीको यकिन तथ्यांक र उनीहरूले गर्दै आएको कामको समेत विवरण पाउन अध्यागमनलाई सहज हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र काठमाडौंबाहिरका अध्यागमन नाकाले विदेशीले आगमनपत्रसँगै तोकिएको फारममा विवरण भरेपछि सम्बन्धित अध्यागमन कार्यालयले स्मार्ट कार्ड दिनेछ ।
 
अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अध्यागमन सुधार गर्न बनेको रणनीतिक योजनाअन्तर्गत नेपालमा बस्ने विदेशी गलत काममा संलग्न नहुन् भन्ने उद्देश्यले स्मार्ट कार्ड लागू गर्ने तयारी गरेको बताउनुभयो । महानिर्देशक गेलालले अन्नपूर्णसँग भन्नुभयो, 'सबै प्रकारका भिसा लिने विदेशीमा यो लागू हुन्छ । नेपालमा बस्ने विदेशीले गर्ने अपराध रोक्नु हाम्रो उद्देश्य हो ।'
 
स्मार्ट कार्डमा भिसाको प्रकार, समयावधि र कुनै विदेशीको भिसाको समय सकिएको खण्डमा ती व्यक्तिलाई इमेल वा मोबाइलमार्फत पूर्वसूचनासमेत दिने व्यवस्था मिलाइएको हुन्छ । कुनै विदेशीको गतिविधि शंकास्पद भए त्यस्ता विदेशीको 'ट्राभल हिस्ट्री र ट्र्याकिङसमेत गर्न सकिने स्रोतले बताएको छ । भिसा नवीकरण गरेपछि स्मार्ट कार्डसमेत नवीकरण हुनेछ ।
 
नेपालमा रहेका विदेशीले जथाभावी काम गरेको, भिसाको म्याद गुज्रिएपछि पनि लुकीछिपी बसेको, धर्म प्रचारमा संलग्न भएको र एनजीओ/आईएनजीओमा काम गर्ने नाममा अवैध गतिविधिमा संलग्न भएको सूचनाका आधारमा अध्यागमन विभागले त्यस्ता विदेशीको नेपाल बसाइमा थप कडाइ र अनुगमन गर्ने भएको हो । विशेषगरी पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल र पोखरामा ठूलो संख्यामा विदेशी ओभर स्टे रहेको र उनीहरू विभिन्न व्यवसायमा संलग्न भएको स्रोतले बताएको छ ।
 
स्मार्ट कार्ड पाउन प्रतिव्यक्ति कति रकम लिने भन्नेबारे अध्यागमन अधिकारीबीच छलफल भइरहेको छ । त्यसरी नेपाल बस्ने विदेशी नागरिकलाई स्मार्ट कार्ड दिँदा उसको नेपाल बसाइको उद्देश्य र गतिविधि सजिलैसँग थाहा हुनेछ । अध्यागमन विभागसँग अहिले नेपालमा कति विदेशी ओभर स्टे छन् र कुन विदेशीले उसको बसाइमा के काम गर्छ भन्ने यकिन तथ्यांकसमेत छैन । त्यस्ता विदेशीको तथ्यांक संकलन गर्न र अभिलेख गर्नसमेत स्मार्ट कार्डले सहयोग गर्ने अध्यागमनका अधिकारीले जनाएका छन् । हाइड्रोपावर कम्पनीमा काम गर्ने अधिकांश विदेशी मजदुर पर्यटक भिसामा काम गर्दै आएको र कतिपयसँग भिसाको म्यादसमेत गुज्रिसकेको स्रोतले बताएको छ ।
 
Published on: 12 June 2017 | Annapurna Post

Back to list

;