s

विदेशी कामदारका भरमा नेपालका उद्योगधन्दा

नेपालका उद्योगधन्दालाई चाहिने दक्ष जनशक्ति नहुँदा विदेशबाटै कामदार ल्याएर उद्योगधन्दा सञ्चालन हुँदै एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

नेपाल उद्योग परिसंघले शुक्रबार आयोजना गरेको ‘पोलिसी डिस्कोर्सः स्किल डेभलपमेन्ट’ विषयक अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताले नेपालका उद्योगधन्दालाई आवश्यक पर्ने दक्ष जनशक्ति नहुँदा छिमेकी मुलुक भारत, बंगलादेश लगायतका मुलुकबाट कामदार ल्याएर काम गर्नुपर्ने बाध्यता रहेको बताएका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले नेपालका अधिकांश उद्योगधन्दामा दक्ष जनशक्ति विदेशी मुलुकबाट ल्याएर काम हुँदै आइरहेको बताए।

‘काठमाडौं उपत्यकामा मात्रै भारतको उडिसा प्रदेशका साढे सात हजारभन्दा धेरै दक्ष प्लम्बर आएर काम गर्ने गरेका छन्,’ उनले भने, ‘सुनचाँदी क्षेत्रमा पनि भारतीय कलिगढको माग उस्तै छ। अर्काेतर्फ फर्निचरजन्य काममा भने बंगलादेशी कामदारले काम गर्दै आइरहेका छन्,’ सचिव भण्डारीले नेपाली युवामा तालिम लिनुभन्दा पनि विदेश जाने प्रवृत्ति रहेका कारणले नेपालमै रोजगारी गर्न नमान्ने प्रवृत्ति रहेको बताए।

‘नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ९२ प्रतिशतमा रोजगारीको कुनै सीप र ज्ञान हुँदैन,’ उनले भने, ‘दक्ष कामदारको लागि सिप नभए पनि देखाउनकै लागि सर्टिफिकेट मात्रै हुने गर्छ।’

भण्डारीले नेपालका युवाहरूलाई वैदेशिक रोजगारीको अभाव सधैंजसो हुँदै आइरहेको छ तर नेपालमा रोजगारीका लागि आवश्यक पर्ने सिपमूलक तालिमको अभावका कारणले गर्दा विदेशी जनशक्ति ल्याएर काम गर्नुपर्ने बाध्यता कायमै छ।

विशेषगरी काठमाडौं उपत्यकामा गार्मेन्ट, सुनचाँदीका कालीगढ र अन्य क्षेत्रमा विदेशी दक्ष कामदारको माग निकै रहेको छ तर स्वदेशी कामदारहरू यो पेशामा आउन खासै रुचि देखाउँदैनन्।

राष्ट्रिय योजना आयोगका सचिव डा. तोया ज्ञवालीले व्यावसायिक शिक्षा र उद्योग क्षेत्रमा आवश्यक पर्ने कामदारबीच आपसी समझदारी नहुँदा पनि समस्या भएको बताए।

‘हाम्रो भोकेसनल शिक्षा दिने निकाय र उद्योगबीचको तारतम्य मिलेको देखिन्न,’ उनले भने, ‘जसले गर्दा पनि दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने बाध्यता छ।’

नेपाली कामदारलाई सीप सिकाएर दक्ष बनाएर वैदेशिक रोजगारीमा पठाउन सक्ने हो भने दोब्बरभन्दा धेरै रेमिट्यान्स भित्र्याउन सक्ने उनले बताए। नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालले सीपमूलक क्षमताकै अभावको कारणले नेपाली जनशक्तिको उत्पादन क्षमता पनि कमजोर हुँदै आएको बताए।

‘अहिले सीपमूलक तालिम दिने संस्थाले पनि नेपालका उद्योगधन्दामा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘आवश्यकता अनुसारको जनशक्ति उत्पादन हुन नसक्दा समस्या भइरहेको छ।’

नेपाल उद्योग परिसंघ अन्तर्गतको बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष लेखराज पोखरेलले पनि शैक्षिक संस्थाले तालिमको प्रमाणपत्र मात्रै उपलब्ध गराउने भएकाले पनि प्रभावकारी जनशक्ति उत्पादन गर्न नसकेको बताए।

‘हाम्रो व्यावसायिक तालिम दिने संस्थाले स्वदेशमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नेतर्फ केन्द्रित हुन जरुरी भइसक्यो,’ उनले भने, ‘सो हुन सके धेरै हदसम्म सुधार गर्न सकिन्थ्यो।’

उक्त अवसरमा गोल्डस्टार सुजका सञ्चालक विदुषी राणाले फुटवेयर सम्बन्धी तालिमको पाठ्यक्रम तत्कालै निर्माण गर्नुपर्ने बताइन्। ‘अहिले फुटवेयर सम्बन्धी तालिमको कुनै पनि पाठ्यक्रम छैन,’ उनले भनिन्, ‘यस्तो खालको तालिमको लागि आवश्यक पाठक्रम बनाएर व्यवस्थित गराउन आवश्यक छ।’

यो क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ५० हजारभन्दा धेरै जनशक्ति काम गर्दै आइरहेका छन्।

Published on: 2 October 2023 | Nagarik

Link

Back to list

;