s

विदेशी अस्पतालमा कोमामा रहेकालाई ल्याइँदै

विभिन्न देशमा कोमामा (मस्तिष्क मृत्यु) मा पुगेका नेपालीलाई सरकारले स्वदेश फिर्ता ल्याउने भएको छ। आफन्तको माग तथा आफ्ना नागरिकको मानवअधिकारको लागि तिनलाई नेपाल झिकाउने तयारी अघि बढेको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएका छन्। मध्यपूर्वी देशहरुमा कामका सिलसिलामा गएका २३ नेपाली कोमाको अवस्थामा अस्पतालमा रहेका छन्।

दुर्घटना वा रोगको कारण मस्तिष्कको मृत्यु भए पनि शरीरका अन्य अंग सुचारु हुने अवस्थालाई कोमामा पुगेका भनिन्छ।

‘विदेशमा कोमामा रहेका नेपालीलाई झिकाउने तयारीमा जुटेका छौं। दुई चरणको छलफल भइसकेको छ,’ श्रम–रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले भने, ‘विभिन्न तीन मन्त्रालयसँग तीन चरणको छलफल भइसकेको छ।’ उनका अनुसार परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र श्रम–रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीबीच छलफल भएको हो।

जसमध्ये विभिन्न १६ मुलुकमा वैदेशिक रोजगारमा गएका १९ श्रमिक कोमामा पुगेकोमा तिनीहरूको आधिकारिक पत्र आइसकेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ। बोर्डका अनुसार कतारबाट ९, साउदीबाट ५, कुवेतबाट २, दुवईबाट १ र जापानबाट १ जनाको पत्र आइसकेको छ। उनीहरु गम्भीर दुर्घटना र बिरामीको कारण कोमामा पुगेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव जीवन राईले बताए।

छलफलपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई नेपाल ल्याउने तयारी कार्यविधी बनिसकेको जनाएको छ।

मन्त्रलायहरूबीच भएको छलफलपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई नेपाल ल्याउन सो सम्बन्धी कार्यविधी बनाइसकेको जनाएको छ। ‘हामीले विदेशमा कोमामा रहेकाहरुलाई नेपाल ल्याउन आर्थिक, स्वास्थ्य तथा अन्य सेवा आवश्यक पर्ने हुँदा भिन्न–भिन्न मन्त्रालय र निकायबीच सहकार्य गरेर मात्र नेपाल ल्याउन सकिन्छ,’ स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले भनिन्, ‘उनीहरुलाई नेपाल ल्याएपछि आइसियुमै राख्नुपर्छ, यसको लागि अस्पतालहरुसँग शैय्याको अवस्था हेर्दैछौं।’ सरकारी अस्पताल तथा निजी मेडिकलसमेतलाई आग्रह गरी यसको व्यवस्थापन गर्ने सोचमा स्वास्थ्य तथा जनसंख्या रहेको चौधरीले बताइन्। उनका अनुसार मस्तिष्क मृत्यु भएका बिरामीको मस्तिष्क नचले पनि शरीरको अन्य क्रिया सुचारु हुन्छ यद्यपि उनीहरु उपचारपछि पनि समान्य अवस्थामा फर्किन भने सक्दैनन्।

परिवारको मागअनुसार २ जनालाई छिट्टै नेपाल ल्याउने तयारी भइरहेको छ। कोमामा रहेमध्येका २ जनाको परिवार अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन्।

कोमामा रहेकालाई ल्याउ हवाइ उडानमा स्वास्थ्यकर्मीको आवश्यकता, त्यहाँको अस्पतालसँग गर्नुपर्ने समन्वय, नेपाल ल्याइसकेपछि व्यवस्थित गर्नु चुनौतीपूर्ण रहेको श्रम सचिव दाहालले बताए।दुर्घटना, चोटपटक तथा अन्य रोगका कारण कुनै पनि व्यक्ति कोमामाा जान सक्ने भए पनि रोजगारीमा गएका युवाहरु जाने देशको हावापानी नमिल्दा, उचित र प्रभावकारी स्वास्थ्य परीक्षण नहुँदा, सम्बन्धित देशको भाषा नजान्दा समयमै रोग पहिचान हुन नसक्दा बिरामी कोमामा पुग्ने गरेको सचिव चौधरीले बताइन्। कतिपय भने सडक दुर्घटनाका कारण कोमामा पुगेका छन्।

तथ्यगत स्वास्थ्य नीति–योजना बनाउन जोड

काठमाडौं – सरकारले स्वास्थ्य नीतिमा तथ्यको आधारमा अनुसन्धान हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित ‘स्वास्थ्य क्षेत्रमा नीतिमा अनुसन्धानात्मक तथ्यको प्रयोग’ विषयक कार्यशालाका सहभागीले सो धारणा व्यक्त गरेका हुन्।

गोष्ठीको उट्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालमा नसर्ने रोग बढ्दै गएको अवस्थामा प्रमाण महत्वपूर्ण रहेको बताए। मन्त्री यादवले भने, ‘अनुसन्धानको नतिजाको आधारमा स्वास्थ्य कार्यक्रम तथा सेवा पु-याउन सक्यौं भने स्वास्थ्य समस्या नियन्त्रण गर्न सक्छौं।’

मन्त्री यादवले जनसंख्याको आधारमा अनुसन्धान हुनुपर्ने जनाए। सोही क्रममा यादवले नेपालमा मुटु, मिर्गौला, क्यानसर, मोटापना, मानसिक रोग, मधुमेहलगायतका नसर्ने रोग तीव्र रुपमा बढिरहेको जनाए। ‘यी रोग भयावह बन्दै गएकोमा रोग लाग्नै नदिने उपायको अनुसन्धान तथा नीति हुनुपर्छ,’ उनले भने। नेपालमा स्वस्थ्य पानी, स्वस्थ्य खानाको अभाव र वातावरणको प्रभाव र ठूलो जनसंख्या गरिबीको रेखामुनि हुँदा दिन प्रतिदिन नयाँ स्वास्थ्य समस्या बढिरहेको उनले बताए।

सोही क्रममा स्वास्थ्य सचिव पुष्पा चौधरीले मूलुक संघीयताको गएको बेला क्षेत्रगत रोगको अवस्था बारेमा तथ्य संकलन हुनुपर्ने सुझाइन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले स्वास्थ्य अनुसन्धान नभएको बताए। ‘नेपालमा क्यान्सर रोग बढिरहे पनि यकिन तथ्यांक संकलन हुन सकेको छैन। सबै नसर्ने रोगको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण हुनुपर्छ,’ उनले भने।

Published on: 23 August 2018 | Nagarik

Back to list

;