s

विदेशबाट प्राथमिकताको आधारमा नेपालीलाई ल्याउँछौं : परराष्ट्रमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रवासमा रहेका नेपालीलाई प्राथमिकताको आधारमा नेपाली कामदारलाई व्यवस्थित रुपमा ल्याउने बताएका छन् ।

‘हामीले विदेशमा बस्ने नेपालीलाई प्राथमिकताको आधारमा ल्याउनेछौं । त्यसका लागि उचित व्यवस्थापन गर्नको लागि सरकारले उचित योजना बनाइरहेको छ । कहिले ल्याउने भन्ने विषयमा अहिले नै मिति भन्न भने सक्ने अवस्थामा छैन,’ श्रम तथा रोजगार पत्रकार समूहसँग सोमबार कुरा गर्दै मन्त्री ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले नेपाललाई सुरक्षित बनाएपछि विदेशबाट नेपालीलाई क्रमश: ल्याइने बताए । ‘पहिला नेपाल सुरक्षित बनाउने हो । नेपाल सुरक्षित भएपछि उहाँहरु (विदेशमा रहेका नेपाली) पनि सुरक्षित हुनुहुन्छ । त्यसपछि हामी क्रमश: उहाँहरुलाई ल्याउछौं,’ उनले भने । 

उनले विदेशबाट ल्याउने नेपालीको उचित ब्यवस्थापन गर्न अर्थ, उद्योग, श्रम र पर्यटन मन्त्रालयसँग समन्वय भइरहेको बताए । ‘हामी सुरक्षित रुपमा ल्याउने हो । ल्याएर क्वारेन्टाइनमा राखेर सुरक्षित रुपमा गाउँसम्म पुर्‍याउने हो,’ उनले भने, ‘नेपाल ल्याउने वातावरण नभएसम्म सम्बन्धित देशमा सुरक्षित रुपमा बस्नका लागि व्यवस्था मिलाइएको छ ।’ 

‘विदेशबाट ल्याइएको नागरिकलाई क्वोरन्टाइनमा राख्नुपर्छ । त्यो क्षमताअनुसार क्वारेन्टाइन बनाउनुपर्‍यो । रोजगारी गुमेकालाई आन्तरिक श्रम बजार जोड्नुपर्ने स्थिति छ,’ उनले भने, ‘नेपाल नआउने समयसम्म विदेशमा रहेका नेपालीको रेखदेख गर्ने जिम्मेवारी सम्बन्धित देशको सरकारको छ । जसरी नेपालमा रहेका विदेशीको सुरक्षा गर्ने जिम्मेवारी नेपालको हो । त्यसरी नै विदेशमा रहेका नेपालीको सुरक्षाको जिम्मेवारी तत्तत् देशको हो ।’

उनले देशभित्रको गम्भीरतालाई पनि सवैले बुझनुपर्ने अवस्था रहेको बताए । ‘अहिलेको अवस्थामा विदेशमा बस्नेलाई स्थानीय नागरिकसरह उपचार, खाना र बसोबासको सुविधा र रोजगारीको संरक्षण हो,’ उनले भने, ‘यसका लागि मैले समकक्षीसँग कुरा गरिरहेको छु । हाम्रा दूतावासले पनि सम्बन्धित ठाउमा समन्वय भइरहेको छ ।’

Published on: 4 May 2020 | Kantipur

Link

Back to list

;