s

विदेशबाट फर्किएकालाई राख्‍न उपत्यकामा होल्डिङ सेन्टर र क्वारेन्टाइन तयार

मातृका दाहाल 

काठमाडौँ — सरकारले विदेशबाट ल्याइने नेपालीलाई व्यवस्थापन गर्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन तयार पारेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका ९ वटा पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको हो ।

यस्तै, १ हजार ७ सय मानिस बस्न मिल्ने गरी ४ वटा सार्वजनिक तथा निजी संरचनालाई कोरोना डेडिकेटेड क्वारेन्टाइन बनाइएको छ ।

होल्डिङ सेन्टरका लागि काठमाडौंमा ४, ललितपुरमा ३ र भक्तपुरमा २ वटा पार्टी प्यालेस भाडामा लिइएको छ । विदेशबाट ल्याइएकालाई विमानस्थलस्थित अध्यागमन र त्यहींको हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षण गरेर होल्डिङ सेन्टरमा लगिनेछ । होल्डिङ सेन्टर र क्वारेन्टाइनको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । होल्डिङ सेन्टरबाट मानिसलाई स्थायी ठेगाना भएका स्थानीय तहसम्म पुर्‍याउन पनि सेनालाई नै सवारी व्यवस्थापनको जिम्मा दिइएको छ । क्वारेन्टाइन र होल्डिङ सेन्टर व्यवस्थापनका लागि बुधबार उपत्यकाका तीनवटै जिल्लाका प्रजिअहरूको संयुक्त बैठक बसेको थियो ।

सरकारले शुक्रबारदेखि विदेशबाट चार्टर्ड उडान गरेर नेपालीलाई स्वदेश ल्याउने तालिका तय गरेको छ । दैनिक २ हजार ५ सयका दरले २५ हजार यात्रु विदेशबाट भित्र्याउने गरी आवश्यक व्यवस्थापन भइरहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) उच्च स्रोतले बतायो । विदेशबाट ल्याइएका मानिसलाई स्थायी ठेगानाअनुसार प्रदेशगत रूपमा विभाजन गरी विमानस्थलबाट सीधै होल्डिङ सेन्टरमा राख्ने र त्यहींबाट सेनाले व्यवस्था गरेका सवारीसाधनमार्फत सम्बन्धित जिल्ला हुँदै स्थानीय तहका क्वारेन्टाइनमा पठाइनेछ ।

भक्तपुर प्रशासनले प्रदेश १ र २, काठमाडौं प्रशासनले वाग्मती, गण्डकी र प्रदेश ५ तथा ललितपुर प्रशासनले कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसलाई होल्डिङ सेन्टर पुर्‍याउन र त्यहाँबाट सम्बन्धित स्थानीय तहसम्म पठाउने व्यवस्था मिलाउनेछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले विदेशबाट आउने मानिसले शुल्क तिरेर होटलमा बस्न चाहेमा त्यसको पनि व्यवस्थापन गरिने र छिट्टै होटलको टुंगो लगाइने बताए । जेठ १२ र १७ मा बसेको मन्त्रिपरिषद् बैठकले भारतसहित विदेशबाट ल्याइने मानिसको व्यवस्थापनसम्बन्धी आदेश–२०७७ पारित गर्दै सोहीअनुसार क्वारेन्टाइनसहितको पूर्वाधार व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरूलाई जानकारी दिएको थियो । जसअनुसार क्वारेन्टाइन र होल्डिङ सेन्टर सहरी विकास मन्त्रालयको संयोजनमा तयार पारिएको हो । 

होल्डिङ सेन्टर 

हेरिटेज पार्टी प्यालेस, राधेराधे

इम्पेरियल पार्टी प्यालेस, सल्लाघारी

सिद्धार्थ कटेज, धोबीघाट

डिलाइट पार्टी भेन्यु, महालक्ष्मीस्थान

मण्डला पार्टी प्यालेस, ग्वार्को

यती पार्टी प्यालेस, बसुन्धरा

मिराकल पार्टी प्यालेस, सुकेधारा

स्काइजोन पार्टी प्यालेस, धुम्बाराही

कुण्डलिनी दरबार ब्यांक्वेट, चप्पल कारखाना

 

डेडिकेटेड क्वारेन्टाइन र क्षमता

इचंगुनारायण आवास क्षेत्र, इचंगुनारायण : ४०० जना

मनमोहन मेडिकल कलेज, दहचोक : ५०० जना

विद्युत् प्राधिकरण तालिम केन्द्र, खरिपाटी : ३०० जना

काठमाडौं मेडिकल कलेज, दुवाकोट : ५०० जना

Published on: 4 June 2020 | Kantipur

Link

Back to list

;