s

विदेशबाट ल्याइएकालाई होल्डिङ सेन्टरमा राखिने

मुना कुँवर

 

हवाई उडानमार्फत नेपाल ल्याउन लागिएका नागरिकलाई केही समय राख्ने र चेकजाँच गर्ने प्रयोजनका लागि सरकारले प्रदेशअनुसार सात स्थानमा होल्डिङ सेन्टर बनाउने भएको छ । यसका लागि स्थान र पार्टी प्यालेससमेत छनोट भइसकेको छ । सरकारले काठमाडाैंमा तीन प्रदेशबाट बिदेसिएका नागरिकलाई राख्न ललितपुर र भक्तपुरमा दुई–दुईवटा प्रदेशका नागरिकलाई होल्डिङ सेन्टर राख्ने तयारी गरेको हो ।  

काठमाडौंमा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का लागि होल्डिङ सेन्टर बन्नेछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथमा तीनवटा मुख्य र एउटा वैकल्पिक स्थान छनोट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनका अनुसार सुकेधारा, चप्पल कारखाना, धुम्बाराहीमा सेन्टर स्थापना गरिनेछ । बसुन्धारालाई भने वैकल्पिकमा राखिनेछ ।

दाहालका अनुसार सुकेधारास्थित मिराकल पार्टी प्यालेस, चप्पल कारखानास्थित कुण्डलिनी पार्टी प्यालेस र धुम्बाराहीस्थित स्काइप पार्टी प्यालेसलाई सेन्टर बनाइनेछ । बसुन्धारामा भने यती पार्टी प्यालेसलाई सेन्टर बनाइनेछ । प्रत्येक पार्टी प्यालेसमा एकपटकमा चार सय नागरिक बस्न सक्नेछन् ।

विदेशबाट हवाई उडानमा आएका नागरिकलाई नेपाली सेना, ट्राफिक महाशाखा, यातायात व्यवस्था विभागको समन्वयमा होल्डिङ सेन्टरमा पुऱ्याइनेछ । सेन्टरमा नागरिकले पानी पिउने, शौच गर्ने र केही समय आराम पाउनेछन् । त्यस्तै, टेलिकमले नागरिकहरूलाई निःशुल्क सिमकार्डसमेत वितरण गर्नेछ । सेन्टरमा उनीहरूले आफ्नो विवरणसमेत भर्नेछन् ।

ललितपुर र भक्तपुरमा होल्डिङ सेन्टर छनोट  

होल्डिङ सेन्टरका लागि ललितपुर जिल्लाले सात र भक्तपुर जिल्लाले दुईवटा पार्टी प्यालेसको छनोट गरेको छ । ललितपुर जिल्लाले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकका लागि सेन्टर निर्माण गर्ने जिम्मा पाएको छ भने भक्तपुर जिल्लाले प्रदेश नम्बर १ र २ का नागरिकको जिम्मा पाएको छ ।

ललितपुरले पार्टी प्यालेसलाई सेन्टरका लागि छनोट गरिएको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा सात प्यार्टी प्यालेस छन् । आवश्यकताअनुसार पार्टी प्यालेसको प्रयोग गरिनेछ । प्रत्येक पार्टी प्यालेसको क्षमता तीन सयभन्दा बढी छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आन्तरिक तयारी थालेको छ । कार्यालयले भक्तपुरस्थित हेरिटेज र इम्पेरियल पार्टी प्यालेसको छनोट गरेको छ ।

काठमाडौंका तीन स्थानमा क्वारेन्टाइन बनाइने

काठमाडौंका तीन स्थानमा क्वारेन्टाइन निर्माण गरिनेछ । विदेशबाट आएका नागरिकका लागि खरिपाटीको इचंगु आवास क्षेत्र, दहचोकस्थित मनमोहन अस्पताल र केएमसी दुवाकोट तथा बोडेमा क्यारेन्टाइन तयारी गरिने काठमाडौं प्रजिअ दाहालले जानकारी दिए । यसको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको छ । मन्त्रालयलाई अर्थ मन्त्रालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले सहयोग गर्नेछ । क्वारेन्टाइन १० दिनभित्रमा तयार गरिनेछ ।  

क्वारेन्टाइनमा लजिस्टिक सपोर्ट (बेड, बिछ्यौना, भाँडाबर्तन, पानी, बिजुली, भान्साघर, शौचालय आदि)को तत्काल व्यवस्थापन गर्नुपर्नेछ । यसको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । स्थानीय तहलाई सहरी विकास मन्त्रालय र प्रदेश सरकारले सहयोग गर्नेछन् ।

स्थानीय सरकारले पनि आवश्यकताअनुसार आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन बनाउनुपर्नेछ । स्थानीय तहलाई क्वारेन्टाइनको बन्दोबस्ती र क्वारेन्टाइनमा रहँदाको खाना खर्चबापत प्रतिदिन प्रतिव्यक्ति १ सय ७५ रुपैयाँका दरले १४ दिनका लागि हुने खर्चबापत रकम अर्थ मन्त्रालयले उपलब्ध गराउनेछ । मन्त्रालयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूले सहयोग गर्नेछन् ।

छिमेकी जिल्लालगायत भारतबाट आउनेका लागि दुईवटा क्वारेन्टाइन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले छिमेकी जिल्ला तथा भारतबाट नेपाल भित्रिने नागरिकका लागि दुई स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ । कार्यालयका अनुसार कीर्तिपुर र सामाखुसीस्थित राधा स्वामी सन्तव्यासलाई क्वारेन्टाइन बनाइएको छ । कीर्तिपुरस्थित सन्तव्यास दुई सय क्षमताको छ । सामाखुसीको चार सय क्षमताको छ ।

होटेलको सूची संकलन गरिँदै

विदेशबाट आएका शुल्क भुक्तानी गरी क्वारेन्टाइनमा बस्ने चाहने नागरिकका लागि होटेलको सूची संकलन भइरहेको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यसको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । प्रजिअ दाहालका अनुसार होटेल पायक पर्ने स्थान, सुरक्षा र मूल्यका आधारमा होटेल छनोट गर्ने गृहकार्य भइरहेको बताए । कार्यालयले नगरकोट, गोदावरीजस्ता क्षेत्रमा क्लस्टर बनाएर होटेल छनोट गर्नुपर्ने बताएको छ ।

Published on: 5 June 2020 | Nayapatrika

Link

Back to list

;