s

विदेशबाट फर्किएर भैँसीपालन: परिवारसँग रमाउँदै मनग्य आम्दानी

जनार्जन खत्री

घुर्कौली (सर्लाही) पुस १७ गते । दस वर्ष वैदेशिक रोजगारीमा गएर फर्किनुभएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५, घुर्कौलीका सतनकुमार महतो अहिले गाउँमै भैँसीपालनमा रमाइ रहनुभएको छ । कृषि विकास बैङ्क हरिवन शाखाले सहुलियत कर्जा प्रदान गरेपछि खुसी हुँदै दुई वर्ष अघिदेखि भैँसीपालन सुरु गर्नुभएका महतो राम्रो आम्दानी हुन थालेपछि दङ्ग हुनुहुन्छ । ३२ वर्षीय महतो आफैले भैँसी पालेर दूध बेच्दै आउनुभएको छ भने घरमै दूध सङ्कलन केन्द्र खोली दूध खरिद गरिदिँदा गाउँका किसानहरु पनि खुसी छन् ।

विदेशबाट फर्किएपछि आफूले कमाएको पैसाले गोठ निर्माण गरी कर्जा माग्न बैङ्कमा पुग्नु भएका महतोलाई बैङ्कले सजिलै कर्जा दियो । ‘म दस वर्ष कतार र मलेसिया बसेर फर्किएको हुँ, गाउँमा आएपछि अब यहीँ भैँसीपालन गर्ने सोँच बनाएर गोठ निर्माण गरे । तर आफूले कमाएको पैसाले गोठ बनाउन मात्रै पुग्यो, भैँसी किन्ने पैसा भएन्’ महतोले गोरखापत्रसँग भन्नुभयो, ‘बैङ्कमा गएर कुरा राखेपछि उहाँहरु (बैङ्क) का कर्मचारीले आएर हेर्नासाथ कर्जा दिनुभयो । त्यही कर्जाले जीवन नै बद्लिएको छ ।’

महतोको गोठमा अहिले सानाठूला गरी १९ वटा भैँसी छन् । गाउँका किसानबाट उहाँले दैनिक साँढे चार सयदेखि पाँच सय लिटर दूध खरिद गर्दै आउनुभएको छ । आफ्नै गोठ र गाउँका किसानबाट उठाएको दूध महतो आफैले हरिवन बजारमा खोल्नु भएको डेरीबाट सजिलै बिक्री हुन्छ ।

दूध सङ्कलन गर्ने क्रममा दुधमा पानी हाले/नहालेको पत्ता लगाउने मेसिन जडान गरेकाले महतोले बजार पु-याउने दूध ग्राहकले पनि असाध्य रुचाउँछन् । सतनकुमारले घरमै दूध चिस्यान मेसिन समेत राख्नुभएको छ । विदेशमा रहँदै भैँसीपालन गर्ने सोँच बनाउनुभएका महतोले आफ्नै भाईलाई जेटिए पढाएकाले पशु प्राविधिकको समस्या छैन ।

‘विदेशमा बस्दै भाई रामप्रवोधलाई जेटिए पढाएको थिए, अहिले उसैले भैँसीहरुको हेरविचार गरिरहेको छ, बुवाआमा र श्रीमतीले पनि साथ दिइरहनु भएको छ,’ महतोले भन्नुभयो,-‘सबै मिलेर काम गरिरहेकाले राम्रो आम्दानी भइरहेको छ, महिनामा लाख रुपियाँको हाराहारीमा कमाइ गर्दै आएका छौँ ।

सहुलियत कर्जामा पाँच प्रतिसत सरकार आफैले ब्याज तिरिदिने गरेको छ भने किसानले चार प्रतिसत मात्रै तिर्नुपर्छ । कृषि विकास बैङ्क हरिवन शाखाका प्रबन्धक शैलेन्द्र घिमिरेले महतो र उहाँका परिवारले अत्यन्त मेहनत गरेर लोभलाग्दो किसिमले भैँसीपालन गरिरहेका बताउनुभयो । ‘गोठ निर्माण गर्दा नै उहाँको मेहनत र लगाब देखेर हामीले ऋण प्रवाह गरेका हौँ, बैङ्कले कर्जा प्रवाह गरेकोमध्येकै मनग्य आम्दानी पनि गरिरहनुभएको छ,’ घिमिरेले भन्नुभयो ।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई सरकारले बजेटमा उल्लेख गरेको र नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति अनुसार कृषि विकास बैङ्कमार्फत सहुलियत कर्जा प्रदान गरिरहेको प्रवन्धक घिमिरेले बताउनुभयो । उहाँले भैँसीपालन, गाईपालन, तरकारी खेती, दूध डेरी, बाख्रपालना, बंगुरपालन लगायतमा क्षेत्रमा बैङ्कले लगानी गरिरहेको जानकारी दिनुभयो ।

Published on: 1 January 2021 | Gorkhapatra

Link

Back to list

;