s

विदेशबाट फर्केका युवा नयाँ व्यवसायमा

सविता शर्मा

काठमाडौँ, चैत ७ गते । रोजगारीका लागि युवा विदेश जाने मात्र होइन स्वदेश फर्केर नयाँ व्यवसाय सञ्चालन गर्ने क्रम पनि बढिरहेका छन् ।

लामोसमय वैदेशिक रोजगारीमा रहेर फर्केकाहरू स्वदेशमै काम गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सञ्चालन गरिरहेका छन् । नेपालमा राम्रो सम्भावना भएका र केही नयाँ खालका व्यवसाय सञ्चालनमा गरिरहेका हुन् । सामूहिक र व्यक्तिगत रूपमा आफ्नै ठाउँमा उत्पादनशील काममा वैदेशिक रोजगारीबाट फर्केकाहरू सक्रिय भइरहेका छन् । विदेशबाट फर्किएकाहरूले चिस्यान केन्द्र, सहकारी, पशुपालन, तरकारी खेती, क्लिनिङ कम्पनी, प्रशोधन केन्द्र, ब्युटीपार्लर, फर्निचरलगायतका व्यवसायलाई नयाँ ढङ्गले अगाडि बढाइरहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका दुई सय जनाले सामूहिक रूपमा नवलपुरमा चिस्यान केन्द्र निर्माण गरिरहेका छन् । २० करोड लागनीमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । फरक–फरक तापक्रमको व्यवस्था भएको तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण भइरहेको हो ।

रिटर्नी कृषि तथा पशुपालन लिमिटेडअन्तर्गत चिस्यान केन्द्र निर्माण भइरहेको हो । नवलपुर चिस्यान केन्द्रका लगानीकर्ता नेत्रनारायण थनेतले जर्मन प्रविधिको स्टिल स्ट्रक्चरको आधारभूत संरचना तयार भइसकेको जानकारी दिनुभयो । अबको डेढ वर्षमा केन्द्र सञ्चालनमा आउने बताउँदै उहाँले दुबईमा सिकेको सीपमा आधारित भएर नेपालमा यो काम सुरु गरिएको बताउनुभयो ।

रिटर्नी माइग्रेन्टका अध्यक्ष उत्तम अधिकारीले वैदेशिक रोजगारीबाट फर्केकाहरूको क्षमता विकासमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले उद्यमशीलता वित्तीय साक्षरता, सिकाइसँगै कमाइजस्ता तालिम दिइरहेको बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्केकाहरूले विभिन्न व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सहकारीमा थुप्रै साथीहरू हुनुहुन्छ । ”

एक दशक वैदेशिक रोजगारीमा बिताएर फर्केकी सीता बस्यालले सीता ट्राभल्स सञ्चालन गर्नुभएको छ । बुटवलबाट भारतको दिल्ली र नेपालमा सीता ट्राभल्सका बस सञ्चालनमा रहेका छन् । कस्मेटिक पसल, अर्गानिक गेडागुडी बेच्ने काम पनि गर्नुभएको छ । गुल्मी र अर्घाखाँचीलगायतका पहाडी जिल्लाबाट अर्गानिक गेडागुडी ल्याएर प्याकेजिङ गरी बेच्ने गरेको उहाँले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केका कैलालीका राजेन्द्र देवकोटाले होटेल व्यवसाय र फोहोरको प्रशोधन केन्द्र सञ्चालन गर्नुभएको छ । एक दशक वैदेशिक रोजगारीमा बिताएका उहाँले प्लास्टिकजन्य वस्तुहरूको प्रशोधन गरी नयाँ उत्पादन गर्ने काम गरी रहनुभएको छ । आफ्नै ठाउँमा गर्नुपर्छ भन्ने सोचका साथ सबै व्यवसाय कैलालीमा सञ्चालन गरिरहेको बताउनुभयो ।

उहाँलगायतको समूहले कैलालीमा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनको तयारीमा पुगेको छ । आलु, मसलाजन्य (प्याज, लसुन, अदुवा) र फलफूल ता तरकारी राख्न मिल्ने तीनवटा च्याम्बर भएको चिस्यान केन्द्र सञ्चालन गर्न लागिएको हो । तराई र पहाड दुवैतिरको उत्पादन राख्न मिल्ने गरी चिस्यान केन्द्र खोलिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल कृषि सहकारी संस्थामार्फत १६ जना वैदेशिक रोजगारीबाट फर्केका युवाले पाल्पाको तानसेन नगरपालिकाको अर्गलीमा कृषि फार्म सञ्चालन गर्नुभएको छ । उक्त कृषि फार्मका सञ्चालक ध्रुव पाण्डेले करिब डेढ करोड लगानीमा १६० रोपनी जग्गामा फार्म सञ्चालन गरेको बताउनुभयो । लोकल कुखुरा, टर्की, बट्टाई, कडकनाथ (कालो कुखुरा)को बच्चा उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभयो । आलुलगायत अन्य तरकारी पनि सँगसँगै उत्पादन गरिरहुनभएको छ । आफ्नो फार्मलाई कृषि पर्यटनका रूपमा समेत विकास गर्ने योजना रहेको छ । कालिजको सिकार क्षेत्र बनाउने खोजिएको पनि उहाँले बताउनुभयो ।

Published on: 21 March 2021 | Gorkhapatra

Link

Back to list

;