s

विदेशबाट नेपालीले पठाएको पैसा उत्पादनशील क्षेत्रमा लगानी हुनुपर्छ : प्रधान सम्पादक चौहान

काठमाडौँ — कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको पैसा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित 'इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट' सम्मेलनमा स्वागत मन्तव्यका क्रममा प्रधान सम्पादक चौहानले विदेशबाट पठाइएको रकमले किनिने सामान यहीँ उत्पादन हुनुपर्ने बताएका हुन् ।

वैदेशिक आप्रवासन भनेको युवाहरूको पलायन मात्रै नभएर अवसर पनि भएको उनले बताएका छन् । उनले वैदेशिक रोजगारका लागि गएको युवाहरूले श्रम गरेर पठाएको रेमिट्यान्सले स्वदेशमा रहनेहरूका लागि आर्थिक भरथेग मात्रै नभएर आत्मविश्वास पनि प्रदान गरेको उनले बताए ।

प्रधान सम्पादक चौहानले पछिल्लो समय खाली नेपालीहरू विदेश मात्रै गइरहेका छन् भनेर गलत भाष्य स्थापित भएको पनि बताए । उनले भने, 'वैदेशिक रोजगारीमा गएका मान्छेको कुरा गरेर मात्र हुँदैन उताबाट फर्केर यहीँ उद्यम गरेकाहरूको पनि चर्चा हुन पर्छ ।'

'बाहिर गएर फर्किएकाहरूले नयाँ सीप र ज्ञान पनि भित्र्याएका छन्,' उनले भने, 'पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा भएको निरन्तर वृद्धिसँगै अर्थतन्त्रका बाह्य सूचक झनै बलियो बन्दै गएका छन् । रेमिट्यान्स २५.८ प्रतिशतले बढेपछि विदेशी विनिमय (मुद्रा) सञ्चितिले कीर्तिमान बनाएको छ । जसअनुसार गत पुससम्म कुल विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।'

साथै विदेशबाट आउने विप्रेषणको पनि सदुपयोग हुनुपर्ने प्रधान सम्पादक चौहानको भनाइ छ । 'विदेश गएका श्रमिकहरूले पठाएको पैसा उत्पादनशील क्षेत्रमा लगानी भएन भन्ने गुनासो पनि सुनिने गरिन्छ । उनीहरूले पनि संगठित रूपमा उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारले किन्ने सामान नेपालमा उत्पादन भएको हुनुपर्‍यो । विदेशबाट पैसा पठाउने सामान पनि विदेशी किन्नुपर्ने बाध्यता हट्नुपर्‍यो,' उनले भने ।

सरकार र सरोकारवाला निकायले उपभोग्य सामानहरू यहीँ उत्पादन हुने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य भए पनि पुससम्मको सञ्चितिले १२.१ महिनाका लागि आयात धान्न पुग्ने अवस्थाको सिर्जना हुनुमा वैदेशिक रोजगारमा गएकाहरूबाट प्राप्त हुने रेमिट्यान्सको ठूलो हिस्सा रहेको प्रधान सम्पादक चौहानले बताए ।

Published on: 9 February 2024 | Kantipur

Link

Back to list

;