s

विदेशबाट मजदुरले रेमिट्यान्स पठाउन नै वार्षिक ३८ अर्ब कमिसन

वैदेशिक रोजगारमा रहेका नेपालीले मुलुकमा रेमिट्यान्स पठाउन मात्रै चार प्रतिशत कमिसनमा खर्च गर्नुपरिरहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ, यस हिसाबले एक वर्षमा कामदारले ३७ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स कम्पनी र बैंकलाई कमिसन बुझाउँछन्

विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मात्रै नेपाली कामदारले वर्षको ३८ अर्ब रुपैयाँसम्म खर्चिने गरेका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार विदेशबाट २ सय अमेरिकी डलर अर्थात् २२ हजार ८ सय रुपैयाँसम्म पठाउँदा औसतमा नेपाली कामदारहरूले ४.३ प्रतिशत कमिसन दिनुपर्छ । त्यस्तै, ५ सय अमेरिकी डलर अर्थात् ५७ हजारसम्म पठाउँदा विदेशमा रहेका नेपालीले २ दशमलव ९ प्रतिशतसम्म कमिसन तिरिरहेका छन् । राष्ट्र बैंकले विश्व बैंकको प्रतिवेदनलाई आधार मानेर यस्तो प्रतिवेदन बनाएको हो । यस आधारमा हेर्दा गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रकम रेमिट्यान्स पठाउँदा वैदेशिक मुलुकमा काम गरिरहेका नेपालीले ३७ अर्ब ८० करोड रुपैयाँसम्म कमिसनबापत खर्च गरिरहेका छन् ।

विदेशबाट रकम पठाउँदा लाग्ने महँगो कमिसनकै कारण हुन्डीजस्ता अनौपचारिक माध्यमबाट कामदारले नेपालमा रकम पठाउने गर्छन् । ‘२ सय डलर वा सोभन्दा कम रकम रेमिट्यान्स पठाउँदा लाग्ने शुल्कमा कमी ल्याउन सके विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमतर्फ आकर्षित गर्न थप योग्दान पुग्ने देखिन्छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

तर, रेमिट्यान्स कम्पनीहरू भने यो तथ्यांक सही नभएको जिकिर गर्छन् । ‘हामीले कतार, दुबईलगायतका मुलुकबाट औसतमा २ प्रतिशतमा रकम ल्याइरहेका छौँ,’ नेपाल विप्रेषक संघका अध्यक्ष तथा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भने, ‘यो तथ्यांकलाई हामीले चुनौती दिन त सक्दैनौँ, तर यो तथ्यांकमा केही त्रुटि भने भएको हुन सक्छ ।’

मुलुकमा कति रेमिट्यान्स अनौपचारिक माध्यमको प्रयोग भएर भित्रिन्छ, यकिन तथ्यांक छैन । यद्यपि, राष्ट्र बैंकले केही वर्षअघि १६ जिल्लाका ३ सय २० घरधुरीमा गरेकोे नमुना सर्वेक्षणले अनौपचारिक वा हुन्डीका माध्यमबाट ७ प्रतिशत रेमिट्यान्स पठाउने गरेको भेटेको थियो । त्यस्तै, २.२ प्रतिशतले भने औपचारिक र अनौपचारिक दुवै माध्यम प्रयोग गर्ने गरेको भेटिएको थियो ।

विश्व बैंकको तथ्यांककै आधारमा प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले यी तथ्यांकको स्वामित्व भने लिन चाहेको देखिँदैन । ‘विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक हो यो, लागतको विषयमा भने हाम्रो अलग्गै अध्ययन होइन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने । राष्ट्र बैंकले भारतबाट अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सको भने आकलन गरेको छ । प्रतिवेदनअनुसार भारतबाट ३८ अर्ब रेमिट्यान्स अनौपचारिक माध्यमबाट आउँछ ।

कुनबाट पठाउँदा कति ?

नेपालमा अमेरिकाबाट रेमिट्यान्स पठाउन सबैभन्दा महँगो शुल्क लाग्छ । प्रतिवेदनअनुसार अमेरिकाबाट रेमिट्यान्स पठाउँदा ३ दशमलव ९ देखि ५ दशमलव ४ प्रतिशतसम्म शुल्क लाग्ने गरेको छ । मलेसियाबाट भने तुलनात्मक रूपमा कम लागत लाग्ने गरेको छ । त्यहाँबाट पैसा पठाउँदा २ दशमलव ९ देखि ३ दशमलव ४ प्रतिशतसम्म लागत लाग्छ । भारतमा भने यिनै मुलुकबाट रेमिट्यान्स पठाउन औसतमा ३ दशमलव ३६ प्रतिशत र बंगलादेशमा ३ दशमलव ५ प्रतिशत लागत लाग्ने गरेको छ ।

बैंकलाई निक्षेप स्रोत

रेमिट्यान्सका कारण बैंकहरूको निक्षेप बढ्न सहयोग पुगेको राष्ट्र बैंकको ठम्याइ छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा लगानी ८४ प्रतिशत पुग्नुमा निक्षेपको स्रोतका रूपमा रेमिट्यान्ससमेत रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, जिडिपीको २५ प्रतिशतबराबर रकम नै रेमिट्यान्स भित्रिने गरेको छ ।

रेमिट्यान्सले वैदेशिक मुद्रा सञ्चिति, शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) मा समेत सुधार आउने गरेको छ । राष्ट्र बैंकले मुलुकको बाह्य क्षेत्र सन्तुलन मिलाउन मात्र नभई नेपालीको शिक्षा, स्वास्थ्य, गरिबी निवारण र वित्तीय परिचालनमा सहयोग पुगेको राष्ट्र बैंकको निष्कर्ष छ ।

राष्ट्र बैंकको तथ्यांकमा त्रुटि
सुमन पोखरेल,अध्यक्ष नेपाल विप्रेषक संघ

हामीले अहिले कतार, दुबई र साउदीबाट रेमिट्यान्स भिœयाउँदा ४ देखि ६ डलर लिने गरेका छौँ । यो दर फ्लाट बेसिसमा हो । यस आधारमा ती मुलुकबाट जतिसुकै रकम पठाउँदा पनि ५ सय रुपैयाँदेखि ६ सय रुपैयाँ लाग्ने गरेको छ । राष्ट्र बैंकले आधार लिएको यो तथ्यांकमा कुनै त्रुटि भएको हुनुपर्छ ।

Published on: 27 January 2020 | Naya Patrika

Link

Back to list

;