s

विदेशबाट फर्किएर व्यावसायिक भैँसीपालन

पाल्पा, भदौ ४ गते । तिनाउ–५, बिस्कुनडाँडाका ४४ वर्षीय चन्द्रबहादुर ठाडा पाँच वर्षअघि रोजगारीका लागि मलेसिया पस्नुभयो। घरपरिवारको चाहना पूरा गर्ने र राम्रो आम्दानी गर्ने चाहनाले मलेसिया जानुभएका ठाडा विदेश त पुग्नुभयो तर कमाउने चाहना भने पूरा भएन। मलेसिया जानुभएका ठाडा दुई वर्ष नपुग्दै गम्भीर बिरामी पर्नुभयो। अर्काको देशमा बाँच्ने हो कि मर्ने हो, टुङ्गो लागेन। अन्ततः उहाँ स्वदेश फर्कनुभयो। स्वदेश फर्कनासाथ निको भएका ठाडाले स्वदेशमै केही गर्ने निधो गर्नुभयो।

विदेशबाट फर्किएपछि ठाडा पछिल्लो दुई वर्षयता व्याबसायिक पशुपालनमा लाग्नुभएको छ। अहिले पशुपालनबाट ठाडाले परिवारसँगै राम्रो कमाइ गर्नुभएको छ। ठाडाका भाइ खेमबहादुर पनि पशुपालनमै सक्रिय रहनुभएको छ। भाइसमेत भारतबाट फर्किएपछि ठाडालाई पशुपालनमा सहयोग पुगेको छ। अहिले दुई भाइले पाँच वटा गाई र पाँच वटा भैँसी पाल्दै आउनुभएको छ।

ठाडाको फार्ममा रहेका गाईले दैनिक २० लिटर दुध दिने गरेको छ। उहाँले पाल्नुभएको पाँच वटा भैँसीमध्ये चार वटा भैँसीबाट अहिले दैनिक २२ लिटर दुध उत्पादन हुन्छ। ठाडाका अनुसार गाई र भैँसीको दुध बिक्रीबाट मासिक ९० हजार बढी आम्दानी हुने गरेको छ। गाई र भैँसीको दुध बिक्री गरेर दैनिक तीन हजार बढी आम्दानी हुन्छ। स्थानीय डेरीमै दुध बिक्री हुन्छ।

पहिले दुई वटा गाईबाट पशुपालनमा लाग्नुभएका ठाडाले दैनिक एक सय लिटर दुध उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ। विदेशबाट रित्तो हात फर्किनुभएका ठाडाले ऋण गरेर पशुपालन थाल्नुभएको हो। दुधको आम्दानीले ऋण तिर्दै जानुभएको छ। तानसेन–९, बेलटारीमा ४० रोपनी जग्गा भाडामा लिएर पशुपालन र तरकारी खेती गर्दै आउनुभएका ठाडाले स्वदेशमै परिवारसँग बसेर राम्रो कमाइ भएपछि अब विदेश नजाने निधो गरेको बताउनुभयो।

ठाडाले पशुपालनसँगै मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ। तरकारी बिक्रीबाट समेत वार्षिक चार लाखसम्म आम्दानी गरेको भाइ खेमबहादुरले बताउनुभयो।

Published on: 21 August 2023 | Gorkhapatra

Link

Back to list

;