s

विदेशबाट फर्किएकाहरू अटो रिक्सामा आकर्षित

बुटवल : प्यूठानको सरुमारानी गाउँपालिकामा आन्तरिक सडक सञ्जालको तीव्र विकास भएसँगै अटो रिक्सा सञ्चालन गर्नेहरू बढ्दै गएका छन्। वैदेशिक रोजगारीबाट फर्किएकाहरूले यस क्षेत्रमा लगानी गरेका हुन्। गाउँ गाउँमा अटो रिक्सा पुगेपछि गाउँलेहरू यसलाई ‘अटो क्रान्ति’ का रुपमा विकास भएको प्रतिक्रिया दिन्छन्।

सरुमारानी गाउँपालिकाभरी कुल ४५ वटा अटो रिक्सा सञ्चालनमा छन्। तीमध्ये २५ वटा अटो रिक्सा वैदेशिक रोजगारबाट फर्किएका युवाहरूले सञ्चालन गरेका छन्। हरेक बस्ती बस्तीमा अटो पुग्दा नागरिकहरूलाई सहज भएको छ। स्थानीयको यातायातको पहिलो रोजाइ पनि यही अटो भएको पाइएको हो।

करिब १० वर्ष खाडीमा पसिना बगाएर कमाएको पैसाले गाउँ फर्किएपछि अटो रिक्सामा लगानी गरिएको सरुमारानी–३ का ४२ वर्षीय मेकबहादुर सोमैले जानकारी दिए। गाउँपालिकको केन्द्र बडडाँडा बजारमा अटो रिक्सा संचालन गर्ने उनी नै पहिलो व्यक्ति हुन्। उनको ६ जनाको परिवार यसैको आम्दानीले धानिएको छ।

सिजनमा मासिक झण्डै ५० हजारसम्म पनि कमाई हुने गरेको उनले सुनाए। ‘अहिले सिजन छैन्’,सोमैले भने, ‘मुस्किलले २०/२५ हजार रुपैयाँ कमाई हुन्छ।’ अटो चलाएर आफ्नै परिवारको साथमा बसेर जीवनयापन गर्न पाएकोमा उनलाई सन्तुष्टि मिलेको छ।

हंसपुर, चाव, दोमही, सुजिपुर, नौघाट, बाङ्गे, पनाह, ढाव, केवरापानी, बैके, बेलडाँडा, छबिसे, जस्पुर, बिरिङकोट, हात्तीखाल, आँपडाँडा, पाखापानी, संग्राकोट, धनचौर र दानसिङ लगाएतका बस्तीहरूमा अटो रिक्सा चल्दै आएको उनले जानकारी गराए।

सरुमारानी –३ कोटघरका युग बहादुर गाहा पनि वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै अटो रिक्सा चलाउँदै आएका छन्। खाडी मुलुकमा झण्डै १० वर्ष बिताएर उनी यस क्षेत्रमा लागेका हुन्। ४५ वर्षीय गाहाले हालै ८ महिना अघि नयाँ अटो रिक्सा किनेर चलाउँदै आएका छन्। ‘पौने सात लाख रुपैयाँमा अटो किने’,गाहा भन्छन्,‘परिवार पाल्ने मुख्य पेशा अब यही हो।’ उनको परिवारमा पनि ६ जना सदस्य छन्।

सरुमारानी–१ आटीटारका सुमन खनाल पनि अटो रिक्सा चलाएरै आफ्नो परिवारको लालनपालनमा सक्रिय छन्। मलेसिया र कतारमा गरी पाँच वर्ष बिताएर फर्किएका उनले अटो रिक्सा चलाउन लागेको ५ वर्ष भयो। खनालले अटो रिक्सा नै आय आर्जनको प्रमुख श्रोत भएको बताए। ‘सानो बाटो भएको ठाउँमा पनि हामीलाई पुग्न सजिलो हुने भयो’, खनालले भने, ‘रातको १२ बजे पनि हामीलाई फोन आउँछ, रातिमा एम्बुलेन्सको काम सरह हामीले सेवा दिएका छौं।’ अटो रिक्सामा ४ देखि ६ जना यात्रुसम्मको दुर्घटना बिमा हुने गरेको उनले बताए।

Published on: 26 February 2024 | Annapurna Post

Link

Back to list

;