s

विदेशबाट फर्किएर उद्यमको उडान

अमृता अनमोल

बुटवल — बिहेको ११ महिना नपुग्दै अर्घाखाँची ढाडमैदानकी सीता घिमिरे आचार्यले श्रीमान् गुमाइन् । १९ वर्षमै आइपरेको पति वियोग, डेढ महिना मात्रै पुगेको काखे छोरा हुर्काउने दायित्व अनि घरको कमजोर आर्थिक अवस्था । यही परिस्थितिमा सीताले वैदेशिक रोजगारीमा जाने सपना देखेकी थिइन् । तर त्यति बेला एउटी विधवा कमाउन भन्दै सात समुद्र पारि जानु सहज थिएन ।

माइती पक्षको चिन्ता थियो, सीताले अझ दुःख पाउलिन् । घरपक्षको शंका थियो, नाबालक छोरो अलपत्र पारेर दोस्रो बिहे गर्लिन् वा उतै बस्लिन् । यही बीचमा दुवै पक्षलाई विश्वासमा पारेर सीता श्रम भिसामा ०६४ मा दुबई पगिन् ।

स्थानीय एजेन्टलाई ५० हजार रुपैयाँ बुझाएर उनी भारतको बाटो दुबई पुगेकी थिइन् । ब्युटीपार्लर सिकेर गएकाले काम गर्न सजिलो भयो । किनकि उनले काम नै ब्युटीपार्लरमा पाएकी थिइन् । मासिक १५ सय दिराम अर्थात् ५० हजार रुपैयाँ जति तलब थियो । परदेशको कमाइले ०६५ मा सीताले बुटवल १३ मा घडेरी किनिन् । त्यसपछिको कमाइले घर बनाइन् । तीन वर्षपछि ०६७ सालमा फर्केर आउँदा उनीसँग एक लाख ५० हजार रुपैयाँ बचत थियो । त्यही बचतले ०६८ मा उनले घरमै ब्युटीपार्लर खोलिन् । कामदारबाट उद्यमीतर्फको यो यात्रा उनले परदेशमा सिकेको काम र कमाएको आत्मविश्वासको भरमा सम्भव भएको थियो । ‘त्यहाँ छँदा पार्लर मालिकले कमाएको देखेर आफैंले व्यवसाय गरे मात्रै राम्रो हुने देखें । कसरी व्यवसाय गर्ने भन्ने पनि सिकें । अनि आफैं ब्युटीपार्लर खोल्न कस्सिएँ ।’

ब्युटीपार्लरको काम भ्याइनभ्याइ छ । दुलही शृंगार, अतिरिक्त सजावटलगायत काम आउँदा उनले तीन जनालाई ज्यालादारीमा खटाउँछिन् । ०७५ सालमा उनले १० लाख रुपैयाँ ऋण लिएर बेलवासस्थित घरमै आइसक्रिम उद्योग खोलिन् । चार जना कामदार रहेको यस उद्योगको व्यवस्थापन अहिले छोरा मुकेशले सम्हालेका छन् । अब भने उनले एकल र विपन्न महिलालाई काम दिने सोच बनाएकी छन् । ‘पढ्ने र रमाउने टिनएजमै बिहे, सुत्केरी र विधवा हुनुपर्ने बाध्यताकी मान्छे हुँ,’ सीताले विगत सम्झिइन्, ‘विधवा हाँसेर बोलेको समेत नजाती मान्ने समाज थियो । जसोतसो विदेश जान सकें र हैसियत बदल्न पाएकी छु । आफू स्वरोजगार बन्न र अरूलाई रोजगारी दिन सक्ने अवस्थामा पुगेकी छु ।’

सीता पछिल्लो समय बुटवल उपमहानगरपालिकाले गठन गरेको वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको समूह अर्थात् आप्रवासी हकहित सञ्जालकी संयोजकसमेत छिन् । विदेशबाट फर्केका महिलालाई संगठित गर्ने र उद्यममा लगाउन उनी संयोजकको हैसियतमा खटिन्छिन् । बुटवलमा मात्रै खाडीमा रोजगारी गरेर फर्केका एक सयभन्दा बढी महिला उद्यममा लागेको सीताले बताइन् ।

तिलोत्तमा नगरपालिका ३, स्मृतिपथकी हरिकला मल्लको कथा पनि सीताको भन्दा फरक छैन । १४ वर्षकै उमेरमा मगरकी छोरीले ठकुरी केटासँग अन्तरजातीय बिहे गरेकी उनले घरभित्र हुने अनेक जातीय विभेद भोगिन् । दुई छोरा जन्मिएपछि पतिले जब दोस्रो बिहे गरे, उनका अरू दुःख पनि सुरु भए । समस्याले चारैतिरबाट घेरिएका बेला उनी नाबालक सन्तान छाडेर ०५८ सालमा साउदी अरब पुगिन् । ३० हजार रुपैयाँ खर्चेर एजेन्टमार्फत भारतको बाटो हुँदै साउदी पुगेकी उनले घरेलु कामदारको हैसियतमा काम सुरु गरिन् । मासिक करिब २५ हजार रुपैयाँ कमाइ हुने काममा उनी ३ वर्ष अडिइन् । त्यहीं बचाएको पैसाले उनले घडेरी जोडिन् अनि घर बनाइन् । आर्थिक रूपमा बलियो बनेपछि मात्रै उनले ०६३ सालमा श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् ।

साउदीको कमाइले सधैं घर चल्दैन भन्नेमा हरिकला स्पष्ट थिइन् । त्यहाँ काम गर्दा उनका घर मालिक उद्योगी थिए । त्यसले उनको मनमा उद्योग गरे पो पैसा कमाइन्छ भन्ने सोच पलाएको थियो । के काम गर्ने उनमा कुनै स्पष्ट विचार थिएन । यही अलमलका बेला उनले एकमहिने ब्युटीपार्लरको तालिम लिइन् । अनि एक लाख कमाइ खर्चेर ०६३ मा ब्युटीपार्लर खोलिन् ।

ब्युटीपार्लर चलाइरहेका बेला हरिकलाले ०७३ मा झोला बनाउने र सिलाउने दसदिने तालिम पाइन् । सशस्त्र द्वन्द्वपीडित र एकल महिलालाई लक्ष्य गरी घरेलु तथा साना उद्योग कार्यालयले तालिम चलाएको थियो । यही तालिमपछि उनलाई झोला उद्योग खोले आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो । ०७४ मा ४ लाख खर्चेर उनले खोलिन्, हरि हस्तकला उद्योग । ढाका तथा सिलिकनका झोला बनाउन र अर्डरअनुसार सजावटका सामग्री तयार गर्न उनले ४ महिला कामदार राखिन् । खर्च कटाएर हुने मासिक ५० हजार रुपैयाँसम्म बचतले उनलाई सन्तुष्टि मात्रै दिएको छैन, केही गरेर देखाउन पाएँ भन्ने आत्मसम्मान पनि मिलेको छ ।

रूपन्देहीमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूले समूह नै बनाएका छन् । आप्रवासी सञ्जाल नामक यस समूहमार्फत उनीहरू भेटघाट गर्छन् र सुखदुःख साट्छन् । हरिकला विदेशबाट फर्किएदेखि नै यही आप्रवासी सञ्जालमा जोडिएकी थिइन् । अहिले उनका धेरै ग्राहक पनि वैदेशिक रोजगारीमा गएका र फर्केका परिवार छन् । वैदेशिक रोजगारीबाट फर्केका दिदीबहिनीले झोला बनाउने सीप सिकाउन कर गर्न थालेपछि उनले केही समययता झोला बनाउने तालिम पनि दिन थालेकी छन् । स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास केन्द्रलगायतले दिने तालिममा प्रशिक्षक बनेर लुम्बिनीका जिल्ला जिल्ला पुग्छिन् र हस्तकला एवं झोला सिलाउने तालिम दिन्छिन् ।

परदेशको यात्राबाट पलाएको आत्मविश्वासका भरमा स्वदेशमा गरेको उद्यम यात्राबाट उनले देवदहको चरंगेमा घर बनाएकी छन् । तिलोत्तमाको घर दुई छोराबुहारीलाई दिएर उनी अहिले चरंगेमै बस्न थालेकी छन् । ‘उति बेला पतिले दिएको हिंसा सहन र छोराहरूलाई पढाउन नसकेर कामदारका रूपमा वैदेशिक रोजगारीमा गएकी थिएँ । उता कामदार बनेर केही कमाएँ । त्यसकै जगमा अहिले उद्यमी बनेकी छु,’ हरिकलाले भनिन्, ‘विदेशमा धेरै कमाउन त सकिएन । केही सीप सिक्नुपर्छ र उद्यम गर्नुपर्छ भन्ने सिकायो ।’ हरिकला आप्रवासी महिला सरोकार केन्द्रमा पनि आबद्ध छन् । केन्द्रबाट उनी साताको एक दिन वैदेशिक रोजगारीमा जान चाहने महिलालाई परामर्श गर्छिन् । विदेश जानुपूर्व र गएपछि अपनाउनुपर्ने उपायबारे सिकाउँछिन् ।

सीता र हरिकलाको जस्तै दुःखले भरिएको विगत छ, बुटवलको सेमलारकी जानकी अर्यालको पनि । सशस्त्र द्वन्द्वका बेला सुराकीको आरोपमा ०६० माघ १२ मा पति गिरिप्रसादको गोली हानेर घरमै हत्या भयो । २५ वर्षकै उमेरमा जानकीको सिन्दुर पुछियो । ६ महिने छोरी र डेढवर्षे छोरा टुहुरा बने । उनी धेरै समय होसमा फर्कन पनि सकिनन् । जब सामान्य बन्न थालिन्, नाबालक छोराछोरी कसरी हुर्काउने बिलखबन्दमा परिन् । जानकीले ऋण तिर्न र छोराछोरी पाल्ने उपाय खोज्न थालिन् । कुनै उपाय फेला नपरेपछि उनी भारतीय बाटो हुँदै ०६३ मंसिरमा स्थानीय एजेन्टलाई ४० हजार रुपैयाँ बुझाएर वैदेशिक रोजगारीका लागि बहराइन पुगिन् ।

घरेलु कामदारमा रूपमा १७ महिना काम गर्दा उनले करिब ६ लाख रुपैयाँ कमाइन् । घरको ऋण तिरिन् । झन्डै ३ लाख बचत भयो । केही रकम छोराछोरीको पढाइका लागि जम्मा गर्ने सपना देख्दै थिइन् । उनको सपनामा अवरोध आयो । काम थालेको १८ महिना सुरु हुँदै गर्दा उनी जेल परिन् । ‘बेखर्ची भएर अलपत्र परेकी पोखराकी एक महिलालाई रकम दिएर घर पठाएका थियौं । अरूलाई रकम दिएर उद्धार गर्नु त्यहाँको कानुनमा अपराध रहेछ । रकम दिने रेखा न्यौपाने, जुना राई र मलाई प्रहरीले समात्यो । एक महिना जेलमा बसायो,’ जानकीले भनिन् । जेलबाट छुटेपछि घर मालिकले उनलाई पाकिस्तान हुँदै नेपाल पठाइदियो । फर्किंदा जानकीको आर्थिक अवस्था मात्रै बदलिएको थिएन, आत्मविश्वास पनि बदलिएको थियो । जानकीले विदेशको कमाइबाट करिब २ लाख लगानी गरेर फेन्सी पसल खोलिन् । करिब ५ वर्ष पसल चलाइन् । तर, जानकीलाई होटल व्यवसायमा लाग्ने मन लाग्यो । ‘सीटीईभीटीले दिने होटल म्यानेजमेन्ट र फास्टफुड बनाउने तालिम सिकें । २ वर्ष होटल व्यवस्थापकको काम गरें,’ जानकी भन्छिन्, ‘विदेशबाट फर्केका महिला मिलेर होटल चलाउने योजना थियो । कोभिड सुरु भएपछि योजना बदलेर कृषि फार्म खोल्यौं ।’ जानकी डोमेस्टिक एग्रिकल्चर डेभलपमेन्ट प्रालि खोलेर कृषि उद्यममा लागेकी छन् । त्यसमा जग्गाबाहेक ५ जनाको २५ लाख लगानी छ, जहाँ फूल र शीतलचिनीको व्यावसायिक खेती हुन्छ । अन्य मौसमी कृषि उपज उत्पादन, बजारीकरण र बेचबिखन गरिन्छ । अब थप ५ लाख रुपैयाँ लगानी लगाएर १० बिघा जग्गामा व्यावसायिक कुरिलो र तरकारी लगाउने उनको तयारी छ । बुटवल उपमहानगरपालिकाको वैदेशिक रोजगार पुनःस्थापनासम्बन्धी आप्रवासी स्वयंसेवक समेत रहेकी जानकी वैदेशिक रोजगारीमा जान लागेका र फर्केकालाई स्थापित हुने तरिका सिकाउँछिन्, जसबाट उनी मासिक १५ हजार रुपैयाँ कमाउँछिन् ।

उद्यम यात्राका अतिरिक्त उनी राजनीतिक, सामाजिक गतिविधिमा पनि सक्रिय छिन् । उनी मानव अधिकारका लागि एकल महिला समूहको लुम्बिनी प्रदेश अध्यक्ष मात्रै छैनन्, आप्रवासी महिला सरोकार केन्द्रकी जिल्ला अध्यक्ष पनि छिन् । ‘अहिले जेजे उपलब्धि भएको छ, वैदेशिक रोजगारीबाट सुरु भएको हो । उता नगएको भए आर्थिक हैसियत बदलिने थिएन,’ जानकीले सुनाइन्, ‘वैदेशिक रोजगारीका कारण घरबाहिर निस्कन, उद्यममा लाग्न र सामाजिक गतिविधिमा संलग्न हुन सक्ने भएँ ।’

रूपन्देहीमा वैदेशिक रोजगारीमा गएका महिला संगठित भएर आप्रवासी महिला सरोकार केन्द्र नामक सामाजिक संस्था खोलेका छन् । ०६८ सालमा खुलेको सामाजिक संस्थाको जिल्लासँगै हरेक स्थानीय तहमा समूह छ । समूहको तथ्यांकअनुसार रूपन्देहीमा वैदेशिक रोजगारीबाट फर्केका ४ सय ६० महिला उद्यममा छन् । ठूलो व्यवसाय गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका महिलाले घरमै स्वरोजगार उद्यम थालेका छन् । व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, ठेलामा व्यापार, खुद्रा पसल, होटल तथा नास्ता पसललगायतबाट आर्थिक हैसियत बदल्ने ध्याउन्नमा छन् । घरमा पाएको दुःखले विदेशमा जान र उता पाएको दुःखले स्वदेशमा मिहिनेत गर्न र पैसा कमाउन सिकाएको उनीहरू बताउँछन् ।

यही केन्द्रमा जोडिएकी तिलोत्तमा नगरपालिका पत्थरडाँडाकी सुमित्रा परियार पनि वैदेशिक रोजगारीबाट बटुलेको आत्मविश्वास र धेरथोर बचतका घरमा आर्थिक हैसियत उकास्ने बाटोमा छिन् । पर्वतको पैयुँटारीमा जन्मेकी सुमित्राको बिहे कक्षा ५ मा पढ्दै गर्दा १४ वर्षमै भयो । बिहेपछि मजदुरी गरेर ज्यान पाल्न भन्दै दम्पती रूपन्देहीको तिलोत्तमामा आए । लगलगी ५ छोराछोरी जन्मे । विडम्बना २८ वर्षकी हुँदा पतिले छोडेर अर्को बिहे गरे । न सीप न सम्पत्ति । छोराछोरी कसरी पाल्ने ? उनी सन्तापमा परिन् । छोराछोरीको बढ्दो पेट ज्याला मजदुरीको भरमा टार्न नसकिने भयो । कसैले ऋण पत्याएनन् । अनि छोराछोरी आफन्तलाई रेखदेख गर्न लगाएर उनी वैदेशिक रोजगारीमा जाने निधो गरिन् । ०६४ मा उनी एजेन्टलाई १० हजार बुझाएर भारतीय बाटो हुँदै साउदी उडिन् ।

साउदीमा हाउसमेडको काम सजिलो थिएन । हिन्दी र अरबी दुवै भाषा नजान्दा उनले ससाना काममा पनि दुःख पाइन् । मासिक ५ सय रियाल तलब दिने भनिए पनि गएको ४ महिनामा उनले मासिक ४ सय मात्रै पाइन् । भाग्यमा यस्तै रहेछ भनेर चित्त बुझाएकी उनले त्यहींको कमाइले तिलोत्तमाको माधवलियामा घडेरी किनिन् । ०६८ वैशाखमा फर्कंदा उनीसँग २ लाख ५० हजार बचत थियो । त्यही पैसाले सानो घर बनाइन् अनि ५० हजार रुपैयाँबाट सामान होम डेलिभरीको काम थालिन् ।

सुमित्रा अहिले घरघरमा फलफूल, तरकारी र किराना सामान पुर्‍याउने होम डेलिभरीको काम गर्छिन् । पत्थरडाँडा चोकमा त्यसकै पसल पनि खोलेकी छन् । सशस्त्र द्वन्द्व र आसपासको समयमा रूपन्देहीबाट धेरै महिला खाडी मुलुकमा वैदेशिक रोजगारीमा गएको पाइन्छ । अनपढ, सामान्य लेखपढ गरेका महिला घरेलु कामदार र बगैंचा मालीको काम गर्न उता गएको देखिन्छ । यस्तो क्रम अहिले पनि जारी छ । तर, वैदेशिक रोजगारीमा रूपन्देहीका कति महिला गएका छन् र फर्केर कति जना उद्यमशीलतामा लागेका छन् ? यसको सरकारी यकिन तथ्यांक छैन । महिलाहरूको आर्थिक, सामाजिक हैसियत बदल्न र हिंसाविरुद्ध लड्न सिकाउने सशक्त माध्यम वैदेशिक रोजगार भएकाले विदेश जाने र फर्केका दुवैलाई राज्यले विशेष रूपमा हेर्नुपर्ने महिला उद्यमी संघ लुम्बिनीकी अध्यक्ष रचना पन्त बताउँछिन् । तीन तहकै सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप परीक्षण गरी त्यसअनुसारको काम दिने नीति बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको देखिन्न । वैदेशिक रोजगारीबाट फर्केकालाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ मा शून्य ब्याजदरमा अनुदानको १० करोड रुपैयाँको उद्यम विकास कोष खोलेको थियो । तर यस कार्यक्रमबारे धेरै महिलाले पत्तो पाएनन् ।

वैदेशिक रोजगारीबाट फर्केकाको स्पष्ट योजना र रकम सुनिश्चितताको ग्यारेन्टी नहुँदा सरकारी रकम भए पनि बैंकहरू लगानी गर्न हिच्किएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको भनाइ छ ।

Published on: 3 April 2023 | Kantipur

Link

Back to list

;